कोशी

सुयर्माराज प्रदेश १ कांग्रेसको प्रमुख सचेतक चयन

इकागज |
चैत १०, २०७८ बिहीबार १७:२३ बजे

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा सुयर्माराज राई चयन भएका छन् । दलका नेता राजीव कोइरालाले बिहीबार राईलाई दलको प्रमुख सचेतकमा चयन गरेका हुन् ।

यसअघि प्रमुख सचेतक रहेका केदार कार्की पाँच दलीय गठबन्धन सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री बनेपछि प्रमुख सचेतक पद खाली रहेको थियो । कार्की मन्त्री बनेपछि कांग्रेस संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा (१) को व्यवस्था अनुसार रिक्त भएको प्रमुख सचेतकमा राईलाई मनोनयन गरेको संसदीय दलका नेता कोइरालाले बताए ।


राई यसअघि दलको सचेतकका रुपमा कार्यरत रहेका थिए । प्रदेश १ को प्रदेशसभामा कांग्रेसका ८ प्रत्यक्ष निर्वाचित र १३ समानुपातिक गरी २१ सांसद रहेका छन् । प्रदेश १ को वर्तमान सत्ता गठबन्धनमा कांग्रेस सवैभन्दा ठुलो दल हो । कांग्रेसका ७ महिला र १४ पुरुष सांसद मध्ये संसदीय दलभित्र चयन हुने पदाधिकारी र संसदीय समितिमा भने पुरुष सांसदमात्रै नेतृत्वमा रहेका छन् ।

प्रमुख सचेतकमा चयन भएका राई मोरङको क्षेत्र नं. ३ (१) बाट निर्वाचित भएका थिए । उनी प्रमुख सचेतक चयन भएपछि सचेतक पद भने खाली भएको छ । केही दिन भित्रै सचेतक पनि चयन गरिने जनाइएको छ ।


Author

थप समाचार
x