कोशी

मोरङमा निर्वाचन तयारी सुरु, यस्ताे थियाे २०७४ काे परिणाम

बाबुराम भण्डारी |
चैत २२, २०७८ मंगलबार १३:६ बजे

विराटनगर– आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि मोरङका १७ वटै पालिकामा मतदाता संख्या टुंगो लागेको छ । मोरङ जिल्ला नेपालमै सबैभन्दा बढी मतदाता भएको जिल्ला हो । निर्वाचन आयोगले प्रकाशित गरेको अन्तिम मतदाता नामावली अनुसार मोरङका १७ स्थानीय तहमध्ये विराटनगर महानगरपालिकामा सबैभन्दा बढी १ लाख ३३ हजार १४२ मतदाता रहेका छन् । सबैभन्दा कम केराबारी गाउँपालिकामा २३ हजार ९९० मतदाता रहेका छन् ।

स्थानीय तहको निर्वाचन संघारतिर आइपुग्न लाग्दा दलहरु अहिले आफ्नो तर्फबाट उम्मेदवारको छनोटका लागि आन्तरिक परामर्श र मतदाताहरुको मनोविज्ञान पहिल्याउनेतिर केन्द्रित छन् । कस्तो व्यक्ति उम्मेदवार बनाउने भन्ने छलफल सवै दलभित्र भइरहेको छ । नेपाली कांग्रेस र नेकपा एमाले लगायतका प्रमुख दलले वडा तहमै उम्मेदवारीका लागि आकांक्षीहरुको नामावली तयार पारेर छलफल गर्ने प्रक्रिया समेत सुरु गरिसकेको छ । दलहरु आकांक्षीहरु मध्येको योग्यलाई छान्न आन्तरिक लेखाजोखामा लागेका छन् ।


प्रदेश १ मा २०७४ असार १४ गते भएको स्थानीय तहको निर्वाचनमा उत्साहप्रद जित निकालेका नेकपा एमाले र कांग्रेस अहिले आफुले जितिसकेको स्थानमा शान सौकत जोगाउन र पराजित भएका ठाउँमा आफ्नो वर्चश्व जमाउने योजनामा केन्द्रित भएर लागेका छन् । मोरङमा गत स्थानीय निर्वाचनमा तेस्रो हैसियतमा रहेको मधेसवादी दलसहित माओवादी केन्द्र, राप्रपालगायत पनि संगठन निर्माणमै केन्द्रीत देखिन्छन् । आगामी निर्वाचनमा जित्नका लागि नयाँ रणनीति बनाउनु पर्ने भएकाले दलहरुले २०७४ को स्थानीय निर्वाचनको मत परिणाममाथि सिंहावलोकन गर्नेतिर भने खासै ध्यान दिएका छैनन् ।

२०७४ को निर्वाचनमा मोरङका १७ वटा पालिकामा निर्वाचन हुँदा मतदाताको संख्या ५ लाख ७४ हजार ५०० रहेको थियो । पाँच वर्षपछि पुनः स्थानीय तहको निर्वाचन हुन लाग्दा मोरङमा १ लाख ४० हजार ७२३ मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थ अधिकारीले बताए ।

मोरङमा २०७४ को भन्दा करिब २० प्रतिशत नयाँ मतदाता अहिले थपिएका छन् । आगामी २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएर ३० गते हुने मतदानका लागि योग्य मतदाताको संख्या आयोगले ७ लाख १५ हजार २२३ रहेको जनाएको छ । मोरङमा लैंगिक अल्पसंख्यक मतदाताको संख्या ६ जना रहेको छ ।

आगामी स्थानीय तह निर्वाचनका लागि मोरङमा ३३ वटा दल दर्ता भएका छन् । दलको हिसावमा काठमाडौंपछि मोरङ दोस्रो धेरै दल दर्ता भएको जिल्ला हो । काठमाडौंमा ४० वटा दल दर्ता रहेको निर्वाचन आयोगले जनाएको छ ।

मतदाता संख्याका आधारमा उर्लाबारी, लेटाङ, पथरी शनिश्चरे, सुन्दरहरैंचा, बेलबारी, कानेपोखरी, केराबारी,  ग्रामथान र मिक्लाजुङमा पुरुषभन्दा महिला मतदाता धेरै रहेका छन् । 

प्रदेश निर्वाचन कार्यालयका अनुसार मोरङमा ३०० मतदान स्थल र ८२० मतदान केन्द्र कायम भएका हुन् । बेलबारी नगरपालिकामा सबैभन्दा बढी २६ मतदान स्थल तोकिएको छ । सबैभन्दा कम मतदान स्थल मिक्लाजुङमा ११ वटा रहेको जनाइएको छ । मतदान केन्द्रका आधारमा विराटनगरमा १४० वटा केन्द्र कायम गरिएका छन् । सवैभन्दा कम केन्द्र पनि मिक्लाजुङमै २८ वटा केन्द्र रहेका छन् ।

गत स्थानीय तह निर्वाचनमा मोरङमा सबैभन्दा बढी नेकपा एमालेबाट ३६० जना उम्मेदवार विजयी भएका थिए । दोस्रोमा नेपाली कांग्रेसका ३१६ जनाले निर्वाचन जितेका थिए । त्यसैगरी संघीय समाजवादी फोरम नेपालको ७९, माओवादी केन्द्रले ५८, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट ५०, स्वतन्त्र सात र राप्रपाबाट दुई जना गरी कूल ८ सय ७२ जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।

निर्वाचित जनप्रतिनिधिमध्ये आदिवासी जनजातिबाट १०५ पुरुष र ९२ महिला, खस आर्यबाट ९८ पुरुष र १२५ महिला, दलितबाट ५५ पुरुष र १८० महिला, मधेसीबाट ५४ पुरुष र २६ महिला, थारुबाट ३४ पुरुष र ४२ महिला, मुस्लिमबाट २८ पुरुष र ३१ महिला र स्वतन्त्रसहित अन्य जातजातितर्फ दुई महिला निर्वाचित भएका थिए ।

२०७४ को स्थानीय तह निर्वाचनको अन्तिम मत परिणामलाई हेर्दा मोरङमा ७४ प्रतिशत मत खसेको निर्वाचन आयोगले उल्लेख गरेको छ । अर्थात ४ लाख २४ हजार १६४ मत खसेको जनाइएको छ । खसेको मतमध्ये ५८ हजार ६३८ मत पूर्ण रुपमा बदर भएको थियो । मोरङमा सबैभन्दा बढी विराटनगर महानगरपालिकामा मात्रै १९ हजार ४ सय १९ मत अर्थात जम्मा मतदाता १ लाख १३ हजार ७६१ को २४ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ । ठुलो संख्यामा मत बदर भएपछि त्यतिबेला निर्वाचन शिक्षा प्रभावकारी नभएको निष्कर्श निकालिएको थियो । तर यस पटक भने निर्वाचन अघि गरिने मतदाता शिक्षा कार्यक्रम नै आयोगले कटौति गरेका कारण मत बदरको जोखिम कायमै रहेको निर्वाचन पर्यवेक्षणमा सम्वद्ध संघसंस्थाहरुको भनाई थियो । 

विराटनगरपछि जहदा र कटहरी गाउँपालिकामा २०/२० प्रतिशत मत बदर भएको थियो। मिक्लाजुङ गाउँपालिकामा भने सबैभन्दा कम ७ दशमलव ०७ प्रतिशत मात्रै मत बदर भएको थियो ।

२०७४ को स्थानीय तह निर्वाचनमा मोरङमा दर्ता भएका २३ राजनीतिक दल र स्वतन्त्र सहित २ हजार ७०६ पुरुष र १ हजार ७१० महिला गरी जम्मा ४ हजार ४१६ जनाले उम्मेदवारी दर्ता गरेका थिए । उम्मेदवारी दिएका मध्येबाट दलिततर्फ १९ पुरुष र ३ महिला मात्रै निर्विरोध निर्वाचित भएका थिए । ५०२ पुरुष र ३४८ महिला निर्वाचनको प्रक्रियाबाट निर्वाचित भएका थिए ।

गत स्थानीय निर्वाचनमा मोरङमा ४१ देखि ६० वर्षका उम्मेदवार सबैभन्दा धेरै उम्मेदवार निर्वाचित भएका थिए । उमेरगत आधारमा उक्त उमेर समूहबाट ३२४ पुरुष र १९२ महिला निर्वाचित भएका थिए । त्यसैगरी २१ देखि ४० बर्षसम्मका १४० पुरुष र १४४ महिला निर्वाचित भएका थिए । ६१ वर्ष माथिका उम्मेदवार मध्ये ५७ पुरुष र १५ महिला निर्वाचित भए ।
 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x