कोशी

प्रदेश १ का ३२१ मतदानस्थल ‘अति संवेदनशील’, सबैभन्दा बढी चुनौति झापामा

बाबुराम भण्डारी |
बैशाख २, २०७९ शुक्रबार १७:५९ बजे

विराटनगर – आसन्न स्थानीय तह निर्वाचनमा सुरक्षा योजना बनाइरहेको नेपाल प्रहरीले प्रदेश १ का ३२१ मतदान स्थललाई अति संवेदनशील रहेको निश्कर्ष निकालेको छ । १ हजार ८७७ मतदानस्थल मध्ये ती मतदानस्थल अति संवेदनशील १ नम्बर प्रदेश प्रहरी कार्यालयको सुरक्षा विश्लेषण रहेको छ । 

प्रदेश १ का १४ वटै जिल्लास्थित जिल्ला सुरक्षा समितिबाट प्राप्त भएको प्रतिवेदनका आधारमा प्रदेश प्रहरीले मतदान स्थलको संवेदनशिलताको वर्गीकरण गरेको जनाइएको छ । सबैभन्दा बढी झापा जिल्लामा रहेका मतदान स्थल ‘अति संवेदनशील’ रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले बताए । 


उनका अनुसार झापापछि मोरङ र सुनसरीको मतदान स्थलहरुलाई सुरक्षा प्रहरीले अति संवेदनशील स्थलका रुपमा विश्लेषण गरेको छ । यी जिल्लामा भारतसँग सीमाना जोडिएका स्थानीय तहका मतदान स्थल सुरक्षाका दृष्टिले अति संवेदनशील रहेको हो । झापा जिल्लाको १४४ किलोमिटर सीमा भारतसँग जोडिएको त्यहाँका प्रमुख जिल्ला अधिकारी छविराज रिजालले बताए । मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिका, गौरीगञ्ज गाउँपालिका, झापा गाउँपालिका र कचनकवल गाउँपालिका भारतसँग सीमा जोडिएका पालिका हुन् । 

अति संवेदनशील रहेका मतदान स्थलमा सुरक्षा संयन्त्रको परिचालन समेत विशेष तयारीका साथ गरिने प्रहरीको योजना छ । झापामा ५१ मतदान स्थल अति संवेदनशीलको सूचीमा छन् । २८६ मतदान स्थल रहेको झापामा ७७७ मतदान केन्द्र तोकिएका छन् । बाँकी १५३ मतदान केन्द्र संवेदनशील र ८२ वटा सामान्य सूचीमा रहेका छन् । 

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार १४ जिल्लामा १ हजार ८७७ मतदान स्थल रहेका छन् । ती स्थलमा ४ हजार ५१ वटा मतदान केन्द्र तोकिएका छन् । मतदान स्थलहरु मध्ये ३२१ स्थल अति संवेदनशील रहेको प्रवक्ता राईले जानकारी दिए । उनका अनुसार बाँकी मतदान स्थलमध्ये ८४९ वटा संवेदनशील र ७०७ वटालाई सामान्यमा राखिएको जनाइएको छ ।

नेपालमै सवैभन्दा धेरै मतदाता, सवैभन्दा बढि निर्वाचन क्षेत्र र सवैभन्दा धेरै स्थानीय तह रहेको मोरङ पनि भारतसँगै सीमा जोडिएको जिल्ला हो । मोरङलाई अति संवेदनशिलता दोस्रोमा राखिएको छ । मोरङले भारतको विहार राज्यको अररिया जिल्लासँग ६३ किलोमिटर सीमा छोएको छ । मोरङको रंगेली, सुनबर्षी र रतुवामाई नगरपालिका, जहदा, धनपालथान, कटहरी गाउँपालिका र विराटनगर महानगरपालिकाका विभिन्न वडाहरु भारतीय सीमासँग जोडिएको जनाइएको छ ।
मोरङमा ४९ वटा मतदान स्थल अति संवेदनशील सूचीमा प्रहरीले राखेको छ । मोरङमा ३०० मतदान स्थलमा ८२० वटा मतदान केन्द्र तोकिएका छन् । यहाँ संवेदनशील १५५ र ९६ वटा स्थल सामान्य रहेको प्रहरीले जनाएको छ । 

१६६ मतदान स्थल र ५८१ मतदान केन्द्र रहेको सुनसरीमा ४४ अति संवेदनशील स्थल ४४ वटा रहेको प्रदेश प्रहरी कार्यालयको विश्लेषण छ । त्यस्तै ८० वटा संवेदनशील र ४२ वटा सामान्य रहेको जनाइएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सुनसरीको बर्जु, हरिनगरा, कोसी र भोक्राहानरसिंह गाउँपालिका अन्तरगत ६१ दशमलव ९ किलोमिटर सीमाक्षेत्र जोडिएको जानकारी दिए । 
अति संवेदनशिलताका आधारमा खोटाङमा ३५, इलाममा २९, पाँचथरमा २७, ताप्लेजुङमा २३, भोजपुरमा १८ र धनकुटामा १५ स्थल अति संवेदनशिल रहेको प्रहरीको भनाई छ । 

त्यस्तै उदयपुरमा १२, सोलुखुम्बुमा ११ र संखुवासभामा ७ स्थल अति संवेदनशीलमा राखिएको जनाइएको छ । तेह्रथुम र ओखलढुंगालाई अति संवेदनशिलताका दृष्टिकोणले शुन्य रहेको छ । 

१ नम्बर प्रहरीका प्रवक्ता राईका अनुसार प्रदेश १ का मतदान स्थलहरु मध्ये एकदेखि ११ वटासम्म मतदान केन्द्र भएका मतदान स्थल रहेका छन् । जसमध्ये दुई केन्द्र रहेका मतदान स्थल सवैभन्दा बढि ७ सय ८१ रहेको छ । एक केन्द्र भएका ५८९, तीन केन्द्र भएका ३१५, चार केन्द्र भएका १०५, पाँच केन्द्र भएका ४४, ६ केन्द्र भएका १९, ७ केन्द्र भएका ७, ८ केन्द्र भएका ८, ९ केन्द्र भएका ५ र १० केन्द्र भएको एउटा मतदान स्थल रहेको छ । अति संवेदनशिल पनि दुई केन्द्र भएकै १२० वटा मतदान स्थल रहेका छन् ।

‘संगठित समुहबाट ‘नो थ्रेट’ ः डिआइजी बिसी

आगामी स्थानीय तहको निर्वाचनमा प्रदेश १ मा कुनैपनि संगठित समुहबाट निर्वाचनजन्य ‘थ्रेट’ नभएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक (डिआइजी) अरुण कुमार बिसीले बताए । 

प्रदेश १ मा देखिएका केही समुहको नेतृत्व गरिरहेका व्यक्तिहरु नै नियन्त्रणमा आइसकेकोले सुरक्षाका हिसावले अहिलेसम्मको अवस्थामा जोखिम नभएको उनले बताए । तर बिप्लव समुहले निर्वाचनमा भाग लिने वा नलिने भन्ने बिषयले भने पछि सुरक्षा चुनौति थपिनसक्ने उनले बताए । आवश्यक परे त्यसलाई समेत मध्यनजर गरेर सुरक्षा योजना बनाइने जानकारी दिए ।

सुरक्षा निकायले २०७४ को जस्तो सुरक्षा चुनौति नरहेको निश्कर्ष निकालेको हो । तर सत्ता गठबन्धनभित्र देखिन सक्ने आपसी मनमुटाव तथा गठबन्धन दल र नेकपा एमालेबीच पनि द्वन्द्व बढ्न सक्नेतर्फ ध्यान दिइएको जनाइएको छ ।

प्रदेश १ मा यस पटकको स्थानीय तह निर्वाचनमा १४ हजार नेपाल प्रहरी र १७ हजार ७ म्यादी परिचालन हुने प्रहरीले जनाएको छ । उनीहरु बाहेक सशस्त्र प्रहरीले समेत सुरक्षा प्रदान गर्नेछ । अति अति संवेदनशील तोकिएको मतदान स्थलमा नेपाल प्रहरीका ३, र म्यादी ८ जना परिचालन गर्ने तयारी रहेको छ । सामान्यतया एउटा मतदान स्थलमा कम्तिमा ३ जना प्रहरी र ५ म्यादी प्रहरी परिचालन हुने जनाइएको छ । मतदान स्थलहरुलाई पायक पारेर प्रहरीको मोबाइल गस्ती टोली, रिजर्व टोली र क्विक रेन्सपोन्स टिम (क्यूआरटी) पनि परिचालन हुनेछ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x