कोशी

झापाको अर्जुनधारामा वडाध्यक्ष तामाङ मेयरमा सर्वसम्मत सिफारिस

बाबुराम भण्डारी |
बैशाख ४, २०७९ आइतबार ११:५२ बजे

विराटनगर- झापाको अर्जुनधारा नगरपालिकाको मेयरमा सोही नगरपालिकाको वडा नम्बर १० का वडाध्यक्ष बलदेव सिंह गोम्तेन तामाङ सर्वसम्मत सिफारिस भएका छन् ।  २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका तामाङ मेयरमा सर्वसम्मत सिफारिस भएका हुन् ।

उनी एमालेको अर्जुनधारा नगर कमिटी अध्यक्ष समेत हुन् । मेयरमा आकांक्षा देखाएका आधा दर्जन आकांक्षीहरुले अन्तिममा आफूलाई सर्वसम्मत रुपमा उम्मेदवार  बनाउन सिफारिस गरेको तामाङले बताए । ‘पार्टीका सवैले सर्वसम्मत रुपमा मेयरमा सिफारिस गर्नु भएको छ पार्टीका नेताहरु, प्रत्यासीहरुले समेत विचार गरेर सहयोग गर्नुभयो’ तामाङले भने, ‘हाम्रो नगरपालिकामा चारवटा वडामा वडाध्यक्ष पनि सर्वसम्मत सिफारिस गरिसकेका छौं, उपमेयरमा भने आकांक्षीहरु धेरै हुनुहुन्छ, आन्तरिक चुनावबाट छान्ने तयारी हुँदैछ ।’ उनले पार्टीभित्र मेयर पदमा आफूभन्दा धेरै बुद्धिजिवी र अग्रजहरु समेत आकांक्षी रहेपनि सवैले आफूलाई छाडिदिएको दाबी गरे ।


उनले भने, ‘म भन्दापनि बौद्धिक र मान्ने व्यक्तित्वहरु हुनुहुन्थ्यो, समक्ष पनि हुनुहुन्थ्यो, र पनि मलाई नै अघि बढ्नुस् भन्नुभयो ।’ मेयरमा सिफारिस भएका तामाङले आफूले वडाध्यक्ष हुँदा राम्रो काम गरेका कारण सवैले अगाडि बढ्न सहयोग गरेको दाबी गरे । उनले नगरपालिकाका सवै वडामा सर्वसम्मत रुपमा उम्मेदवार अघि सार्ने योजना रहेको सुनाए ।

वडाध्यक्ष हुँदा गरेको कामको मूल्याकंन गर्दै पार्टीले आफूलाई सर्वसम्मत उम्मेदवार बनाएको बताए । नगर कमिटीले आफ्नो नाम सिफारिस गरेपनि आधिकारिक रुपमा निर्णय हुने भने बाँकी रहेको उनले जानकारी दिए । ‘मैले वडाध्यक्ष भएको बेलामा गरेका कार्यको मूल्यांकन भएको हो जस्ता लागेको छ, नगरको सिलिङबाट भन्दा बाहिर प्रदेश र संघ सरकारबाट पनि बजेट ल्याएर काम गरेको थिएँ’ आफूले गरेको काम सम्झिंदै उनले भने, ‘कोभिडको बेलामा पनि छिमेकी वडाहरु ९ र ११ का बासिन्दाको निशुल्क रुपमा पीसीआर गर्ने व्यवस्था मिलाएको थिएँ, किसानले मल नपाएको बेलामा ४०० बोरा मल पनि बाँडेको थिएँ, त्यतिबेला पनि सवैले तपाँईले राम्रो काम गर्नुभयो भन्नु भएको थियो ।’

पार्टीबाट आधिकारिक निर्णय भएर नाम आएपछि आफू प्रक्रियाअनुसार वडाध्यक्षबाट राजिनामा दिएर अघि बढ्ने बताए । विस्तारै चुनाव लागिसकेका कारण बोलाएको ठाउँमा जाने र नगरबासीको गुनासो सुन्ने काम गरिरहेको बताए । अर्जुनधारामा एमालेबाट बिष्णुमाया भटराई, कमला भण्डारी, इन्दिरा पराजुली (खड्गमाया), दिलमाया दास, सावित्रा सापकोटा र रोजिना पाण्डे उपमेयरका आकांक्षी रहेका छन् ।

पार्टीको केन्द्रीय सर्कुलर अनुसार नगर र वडा कटिमीबाट छ जना आकांक्षीहरु मध्ये एक जनालाई चयन गरिने उनले जानकारी दिए । अर्जुनधाराका ११ वटा वडाहरु मध्ये मेयरमा तामाङसहित चारवटा वडाका वडाध्यक्षहरु समेत एमालेले सर्वसम्मत सिफारिस गरिसकेको जनाइएको छ । वडा नम्बर १ मा बिष्णु ढकाल, ४ मा एकदेव खनाल, ७ मा गोविन्द खतिवडा र ८ मा कुमार उप्रेतीलाई सर्वसम्मत रुपमा सिफारिस गरेको मेयरका प्रस्तावित तामाङले बताए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x