कोशी

प्रदेश १ मा गठबन्धनबीच तालमेलको अनिश्चय कायमै

बाबुराम भण्डारी |
बैशाख ५, २०७९ सोमबार १५:२० बजे

गठबन्धन र तालमेल आवश्यक नभएको भन्दै मोरङ कांग्रेसको पार्टी कार्यालय धर्नामा बस्दै आएका विराटनगर महानगरपालिका वडा नं. ६ वडा समितिका कांग्रेस कार्यकर्ताहरु । तस्वीर ः बाबुराम भण्डारी

विराटनगर– गठबन्धनमा रहेका दलहरुबीच तालमेल गरी उम्मेदवारी टुंग्याउने समय दिनदिनै नजिकिँदा प्रदेश १ का अधिकांश जिल्लाहरुमा गठबन्धनका दलहरुबीच दुरी बढ्दै गएको छ । गठबन्धनभित्र उम्मेदवारीको भागबण्डा मिलाउनका लागि समन्वय गर्ने गरी गठन गरिएका समिति र कार्यदलका बैठकहरु समेत अनिश्चित बन्दै गएका छन् ।

मिल्नुपर्ने बिषयमा झनझन असहमति बढ्दै गएका कारण नेतृत्व तह नै एकअर्कोलाई दोष लगाउनेतिर केन्द्रीत देखिएका छन् ।


संखुवासभामा कांग्रेसले गठबन्धन नहुने भन्दै तालमेलको औचित्य पुष्टि गर्न पार्टी नेतृत्वलाई नै चुनौति दिइसकेको छ । इलाममा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बढी सिट दाबी गरेपछि त्यहाँ कांग्रेसले गठबन्धनको औचित्य खोजेको छ । उदयपुरमा गठबन्धन गर्नै नहुने मत राख्दै आएका कांग्रेस कार्यकर्ताहरुले पार्टी सभापतिलाई ध्यानाकर्षण पत्र बुझाइसकेका छन् ।

पाँचथरमा पनि कांग्रेस सभापति रुपनारायण जवेगुले माओवादीले हैसियतभन्दा धेरै सिट दाबी गरेकोले गठबन्धनको सम्भावना नरहेको बताएका छन् । सोलुखुम्बुमा गठबन्धनभित्र खटपट बढ्दै गएको छ । ताप्लेजुङमा जसपाले सम्मानजनक साझेदारी नभए एक्लै भएपनि चुनाव लड्ने घोषणा गरिसकेको छ । 

गठबन्धन मात्रै होइन, चुनावी तालमेल समेत गर्न नहुने भन्दै कांग्रेस कार्यकर्ताहरुले तलैबाट थालेको विरोधका कारण मोरङ कांग्रेसको पार्टी कार्यालयमा दिनहुँको विरोध र धर्ना जारी छ । गठबन्धनमा रहेको कांग्रेससहित प्रमुख चार दलले गठन गरेको कार्यदलको बैठक कांग्रेस पार्टी कार्यालयभित्र चलिरहँदा कांग्रेस कार्यकर्ताहरुले भने गठबन्धन नचाहिने भन्दै पार्टी कार्यालय बाहिर नाराबाजी गर्दै दैनिक धर्नामा बस्दै आएका छन् । तेह्रथुममा गठबन्धन अघि बढाउन संयोजक तोकिएका कांग्रेस नेता गोविन्द ढुंगानाले संयोजक बनाइएको एक साता नबित्दै राजीनामा दिएका छन् । गठबन्धनलाई लिएर जाने र जिल्लामा सहमति बनाउन निकै कठिन देखिएको भन्दै उनले राजिनामा दिएका हुन् । 

गठबन्धन वा तालमेल जेसुकै भएपनि गर्न नहुने भन्दै विरोधमा उत्रिएका कांग्रेस कार्यकर्ताहरुले मोरङ सभापति डिगबहादुर लिम्बुलाई ज्ञापन पत्र बुझाइसकेका छन् । तल्लो तहबाटै विरोध आउन थालेपछि गठबन्धन दलभित्र सिटको भागबण्डा मिलाउन गठित कार्यदलको बैठक मोरङमा निश्कर्षविहिन छ । १७ पालिका रहेको मोरङमा कांग्रेसले ११ तहमा दाबी प्रस्तुत गरेको छ । त्यस्तै माओवादी केन्द्रले ६, नेकपा (एस) ले ३ तथा जनता समाजवादीले पनि कम्तिमा ३ पालिकामा दाबी गर्दा कम्तिमा २३ वटा पालिका भए मात्रै मोरङमा गठबन्धनबीच तालमेल हुनसक्ने देखाउँछ । 

प्रदेश १ का १४ जिल्ला मध्ये अधिकांशमा गठबन्धनबीच तालमेलको अनिश्चय कायमै रहेको जनाइएको छ । नेपाली कांग्रेसका प्रदेश १ सभापति उद्वव थापाले आफुहरु गठबन्धनभन्दा बाहिर जान नचाहेपनि मापदण्ड बाहिर गएर गठबन्धनकै दलहरुबाट सिट संख्या माग हुन थालेकोले अर्को परिस्थिति निर्माण भएको बताए । यस्तो अवस्थामा मिलिसकेका जिल्लाहरुमा समेत नयाँ नयाँ समस्या देखिन पुगेको उनले बताए ।

जिल्लाहरुमा तालमेल किन अघि बढेन भनेर प्रश्नमा थापाले भने, ‘पाँच दलीय गठबन्धनले निर्वाचनमा ७ बुँदे मापदण्ड बनाएर पठाएको थियो, तर मुख्य समस्या के भयो भने तल चैं मापदण्डबाहिर गएर सिटको तालमेलको कुरा आउन थाल्यो, संख्या माग हुन थाल्यो, यसले अन्यौलता भयो, अन्य दलको कुरा मापदण्ड अनुसारको भएन, मापदण्डलाई सिरानेमा हालेर बसेको अवस्था देखियो, आफ्नो अनुकलता हेरेर मात्रै सिट माग्ने कुरा भइरह्यो ।’

उनले गठबन्धनबीच तालमेलको अवस्था बिग्रिंदै गएको भन्दै पार्टीले तत्कालै अर्को प्रतिवेदन पेश गर्न भनिसकेको जानकारी दिए । मंगलबार बेलुकासम्म केन्द्रीय समितिमा प्रतिवेदन पेश गरिने बताए ।

‘तालमेलको कुरा अन्यौलमा परिराखेको छ, अहिले फेरी पार्टीले तालमेल भए हुन्छ, नभए केही फरक पर्दैन भनेर जे जस्तो अवस्था छ’ उनले भने, ‘सवै प्रतिवेदन केन्द्रमा बुझाउ भनेर निर्देशन गरेको छ, हामी भोली (मंगलबार) सम्म फेरि अर्को प्रतिवेदन पठाउँदैछौं ।’ उनले उक्त प्रतिवेदनपछि केन्द्रीय समितिले अर्को दृष्टिकोण बनाउने र त्यसैको आधारमा कांग्रेस अघि बढ्ने बताए । 

नेपाली कांग्रेसका मोरङ उपसभापति भक्तिनाथ माझीले पनि पहिले जितिसकेका पालिकाहरु अहिले छाड्न नमिल्ने बताएका छन् । माझी मोरङमा गठबन्धन दलभित्र गठन गरिएको कार्यदलमा कांग्रेसबाट सदस्य हुन् ।

‘हिजोसम्मको छलफलमा कुरा मिलेको छैन, केन्द्रले तोकेको मापदण्ड अनुसार वहाँहरुले त्यसलाई मान्न सकिदैन भनेजस्तो देखियो’ माझीले भने, ‘अहिले अवस्था फेरिएको छ, अब माथिल्लो तहमा मात्रै छलफल होला ।’

गठबन्धन दलहरुबीच मै असहज अवस्था बनेकोले दलहरुको बैठक बस्ने वातावरण समेत तयार नभएको जनता समाजवादीका प्रदेश १ का उपाध्यक्ष राजकुमार यादवले बताए । उनले दलहरुबीच छलफल सुरु भए पनि केहि कुरा अघि नबढेको बताए ।
‘कांग्रेसभित्रै असन्तुष्टि देखिएको छ, यस्तो अवस्थामा कसरी छलफल हुन्छ ?’ यादवको प्रश्न थियो,  ‘पहिले त छलफलमा सवै सकारात्मक ढंगले आउनुपर्यो, बैठक बस्दा होहल्ला भइरहेको छ भने बैठक हुन सक्दैन ।’

कांग्रेसमा घमण्ड धेरै भयो ः माओवादी

दलहरुमा मतदाता तहबाटै आइरहेको एकल रुपमा चुनाव लड्ने भावनाका कारण कांग्रेसबाहेकका दलहरुमा पनि आकांक्षीहरुको दवाव बढ्दै गएको छ । यसले तालमेल झनझन बिग्रिदैं जाने अवस्था देखाएको छ । नेकपा माओवादी केन्द्रका प्रदेश १ अध्यक्ष हर्क बहादुर नेम्वाङले कांग्रेसले तालमेलका नाममा आफुहरुलाई धेरै पेलेको बताएका छन् । उनले कांग्रेसभित्रको घमण्ड धेरै भएकोले गठबन्धन भत्किंदै जाने अवस्था बनेको बताए ।

‘जिल्लाहरुमा अहिले पनि संयन्त्रहरुको बैठक बसिकेको छ, तर अब तालमेल भत्किने सम्भावना बढेको छ, भएका छलफलमा पनि वातावरण बिग्रिने अवस्था बनेको छ’ उनले भने, ‘कांग्रेसको पेलाई छ, घमण्ड छ, त्यसैले गठबन्धनलाई सहि ट्र्याकमा लैजान सकिएन ।’ 

उनले कांग्रेस बाहेकका अन्य दलको अस्तित्व नै नदेखिने गरी हिसाबको आधार मात्रै गठबन्धन अघि बढ्न नसक्ने बताए । गठबन्धन गरिसकेपछि साना पार्टीहरुलाई पनि पहिलो हुने अवसर हुनुपर्ने बताए । उनले सवै ठाउँमा विधिमात्रै खोज्ने कुराले अन्य दलको सम्मान हुन नसक्ने बताए । 

उनले भने,  ‘तेसो भए साना पार्टी चैं कहाँ हुने त पहिलो ? कांग्रेसले सवै ठाउँमा विधिमात्रै खोजर गठबन्धन सम्भव छैन, गर्ने भए सवैलाई सम्मानजनक ढंगले ठाउँ दिनुपर्छ, यो गठबन्धन बिग्रिनुमा कांग्रेस नै प्रमुख जिम्मेवार छ ।’


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x