कांग्रेस प्रदेश समितिले गर्यो विराटनगर मेयरमा मर्यादाअनुसार नाम सिफारिस
विराटनगर- नेपाली कांग्रेस १ नम्बर प्रदेश समितिले विराटनगर महानगरपालिकाको मेयरमा नगर र जिल्ला समितिले पठाएको नामलाई मर्यादा कायम गरेर केन्द्रीय समितिमा सिफारिस गरेको छ । नगर र जिल्लाले प्राथमिकतामा राखेर पठाएको नामलाई प्रदेश समितिले भने पार्टीभित्रको योगदान र नेतृत्वका आधारमा मर्यादा मिलाएर आकांक्षीहरूको नाम सिफारिस गरेको हो ।
नेपाली कांग्रेस १ नम्बर प्रदेश समितिका महामन्त्री भुपेन्द्र राईले बिहीबार बेलुकासम्म बसेको प्रदेश समितिको बैठकले विराटनगर महानगरपालिकाको मेयरको नाम मर्यादा मिलाएर सिफारिस गरिएको बताए । मर्यादा अनुसार पहिलो नम्बरमा वर्तमान केन्द्रीय सदस्य अमृत अर्याल रहेको जानकारी दिए । त्यसपछि डा. डिला संग्रौला र तेस्रोमा वर्तमान मेयर तथा केन्द्रीय सदस्य भीम पराजुलीको नाम सिफारिस भएको महामन्त्री राईले बताए ।
यसअघि कांग्रेस महानगर समितिले मेयर पदमा सात जनाको नाम सिफारिस गरेको थियो । जसमा मोरङ कांग्रेसका जिल्ला उपाध्यक्ष नागेश कोइरालाको नाम एक नम्बरमा थियो । महानगर समितिका सभापति दिपक चापागाँईले त्यो सिफारिस जिल्ला, प्रदेश र केन्द्रीय समितिमा समेत बुझाएका थिए ।
प्रदेश समितिले एक नम्बरमा सिफारिस गरेका अर्याल संस्थापन पक्षका हुन् । महानगर समिति र जिल्ला समितिले एक नम्बर प्राथमिकतामा राखेर सिफारिस गरेका कोइराला भने संस्थापन इतर डा.शेखर कोइराला समुहमा रहेका छन् ।
महानगर समितिको सिफारिसको प्राथमिकता अनुसार मोरङ कांग्रेसका सभापति डिकबहादुर लिम्बुले थप तीन जना आकांक्षीको नाम थपेर १० जनाको नाम बिहीबार प्रदेश समितिमा सिफारिस गरेका थिए । मेयरमा आकांक्षा राख्दा राख्दै पनि महानगर समितिले नाम समावेश नगरेको भन्दै थप तीन आकांक्षीहरूको गुनासो आएको भन्दै उनीहरूको नाम थपिएको हो ।
जिल्ला समितिले थपेर पठाएका रामकृष्ण भट्टराईको नाम प्रदेश समितिले चौथो नम्बरमा केन्द्रीय समितिमा सिफारिस गरेको छ । भट्टराई राप्रपाबाट समायोजन भएर आएका केन्द्रीय सदस्य हुन् । महानगर समितिले भने मेयर पदका लागि पहिलो नम्बरमा नागेश कोइरालासहित महानगर सभापति दीपक चागागाईं, वर्तमान उपमेयर इन्दिरा कार्की, केन्द्रीय सदस्यहरू अमृत अर्याल, डा.डिला संग्रौला र भीम पराजुली तथा प्रदेश समिति सदस्य गोपाल रेग्मीको नाम सिफारिस गरेको थियो ।
महानगर समितिले गरेको सिफारिसप्रति रामकृष्ण भट्टराई, फूलकुमार लालवानी र अरूण गुप्ताले असन्तुष्टि पोखेका थिए । उपमेयरमा १२ जनाको नाम सिफारिस गरेपनि मेयरमा आफ्नो नाम कटाइएको भन्दै उनीहरूले आफ्नो नाम समेत सिफारिस हुनुपर्ने माग राखेका थिए । सोही माग सम्बोधन गर्दै कांग्रेस मोरङ सभापति लिम्बुले १० जनाको नाम प्रदेश समितिमा सिफारिस गरेका हुन् ।
अघिल्लो पटकको स्थानीय तह निर्वाचनमा विराटनगरमा मेयर र उपमेयर दुवै जितेको कांग्रेसले यस पटक गठबन्धनबीचको केन्द्रीय सहमति अनुसार विराटनगरमा उपमेयर जनता समाजवादीलाई छाड्दैछ । यद्यपि कांग्रेस जिल्ला समितिले भने नगर समितिबाट सिफारिस भएका १२ जना उपमेयरको आकांक्षीहरूको नाममा मिलन नौलखा, श्रुति शर्मा र कमला कँडेलको नाम थपेर १५ जनाको नाम प्रदेश समितिमा पठाएको थियो । तर प्रदेश समितिले भने गठबन्धन भइसकेकोले विराटनगरको उपमेयरमा कांग्रेसबाट कसैको पनि नाम सिफारिस नगरेको महामन्त्री राईले बताए ।
कांग्रेस महानगर समितिले भने निरज कोइराला, झुमा निरौला, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, डा सीता घिमिरे, गीता सिलवाल, सुची चौधरी र राजु मास्केको नाम उपमेयरका लागि सिफारिस गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया