कोशी

...अनि गुरुराज घिमिरे संसदीय बोर्ड बैठकबाट बाहिरिए

इकागज |
बैशाख १२, २०७९ सोमबार १४:३९ बजे

विराटनगर - प्रदेश १ मा टिकट वितरणमा सस्थापन पक्षले मनपरी गरेको भन्दै कांग्रेस नेता गुरुराज घिमिरेले प्रदेश संसदीय बोर्ड बैठक बहिस्कार गरेका छन् । उनले जिल्लागत रुपमा टिकटको टुङ्गो लगाउँदै जाने क्रममा खोटाङ जिल्लाको टिकट वितरणमा संस्थापनले गुटगत रुपमा टिकट वितरण गरेको आरोप लगाएका हुन् ।

विराटनगरको स्टर्नस्टार होटलमा जारी बोर्ड बैठकमा टिकट वितरणको प्रक्रिया मिचेर सिफारिस नै नभएका व्यक्तिहरुलाई धमाधम टिकट वितरण भएको बताए । 'दायराभित्र रहेर सिफारिस गर्नुपर्छ, टिकट दिनुपर्छ तर खोटाङमा त्यस्तो भएन' उनले भने- 'सिफारिस नै नभएकाहरुको टिकट आयो, गुटगत हिसावबाट संस्थापन पक्ष अघि बढेपछि मैले बैठक छाडेर निस्किए ।'


घिमिरेका अनुसार खोटाङको रुपाकोट मझुवागढीमा विधि प्रक्रिया अनुसार सिफारिस भएर आएका पार्टीका उपसभापति तिर्थराज भट्टराई र हलेसी तुवाचुङमा लोकप्रिय मेयर इभान राईलाई पन्छाएर टिकट वितरण भएको आरोप लगाए । पार्टी संस्थापन पक्षले एकलौटी गरेपछि आफुले असहमति जनाएको जानकारी दिए । खोटाङको टिकट टुङ्ग्याएर सुनसरी र मोरङको टिकट मिलाउने तयार भएपनि संस्थापनले सहमतिमा जान नखोजेकोले त्यसपछिको कुरा आफूलाई थाहा नभएको जानकारी दिए ।


Author

थप समाचार
x