कोशी

विराटनगर महानगरको उपमेयर उम्मेदवार कार्कीको उम्मेदवारी सदर

इकागज |
बैशाख १५, २०७९ बिहीबार १९:५ बजे

विराटनगर - विराटनगर महानगरपालिकाको उपमेयर पदकी उम्मेदवार शिल्पा कार्कीविरुद्ध परेको उम्मेदवारी खारेजीको दाबी विरोध निर्वाचन आयोगले बदर गरेको छ । नेकपा एमालेबाट उपमेयरको उम्मेदवार बनेकी कार्कीविरुद्धको दाबी विरोधको उजुरी अनुसार दाबी नपुग्ने भन्दै आयोगले निवेदन बदर गरेको जनाइएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले उपमेयर कार्कीसहित दाबी विरोधको उजुरी परेका चारैजनाको उम्मेदवारी सदर भएको बताए । उपमेयर कार्कीको हकमा दाबी विरोधमा उल्लेख भएको व्यहोरा अनुसार निर्वाचन आयोगले मनोनयन जाँच गर्ने अन्तिम समय बिहीबार ५ बजेसम्म राजीनामा गरिसकेको देखिएकोले मनोनयन सदर गर्ने निर्णय भएको जानकारी दिए ।


‘उपमेयर कार्कीको हकमा परेको दाबी विरोधमा दाबी नपुग्ने देखिएकोले उम्मेदवारी सदर भएको छ’ उनले भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा २०७९ बैशाख ११ नै राजिनामा दिएको र निर्वाचन आयोगबाट मनोनयन जाँच गर्ने अन्तिम समय (आजसम्म) राजीनामा गरिसकेको र दाबी विरोधमा उल्लेख गरिएको पदको जिम्मेबारीबाट हटेको देखिनाले मनोनयन सदर भएको छ ।’

कार्कीको उम्मेदवारी खारेजीको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा उपमेयरका अर्का उम्मेदवार जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले दाबी विरोध दर्ता गरेका थिए । कोसी अस्पताल विराटनगर व्यवस्थापन समितिको सदस्यमा नियुक्ति लिएर कार्कीले सेवा सुविधा लिएको भन्दै यादवले मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा दाबी विरोध दर्ता गरेका थिए ।

उपमेयरका उम्मेदवार यादव विराटनगर महानगरपालिकामा गठबन्धनबाट उपमेयरका उम्मेदवार हुन् । कार्की भने आफुले मनोनयन पत्र दर्ता गर्नुअघि नै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मार्फत राजिनामा पेश गरी राजिनामाको निवेदन दर्ता समेत गरिसकेको दाबी गरेकी थिइन् ।


Author

थप समाचार
x