मधेश

मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

इकागज |
जेठ १६, २०७९ सोमबार १२:५१ बजे

पर्सा- मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा वीरगञ्‍ज महानगरपालिका–८ स्थित एक रेष्टुरेण्टमा काम गरी बस्ने २५ वर्षीय सुरज कुमार साह, वीरगञ्‍ज महानगरपालिका–१६ फुलबारी टोल डेरा गरी बस्ने ३५ वर्षीय हरिचन्द्रनाथ योगी र वीरगञ्‍ज महानगरपालिका–१६ स्थित कार्की होटलकी सञ्चालिका ४२ वर्षीया लक्ष्मी बुढाथोकी (कार्की) रहेका छन् ।  


प्रहरीका अनुसार सुरज कुमार साहले जेठ ५ गते काठमाडौँ बस्ने २५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाई वीरगन्ज लगेका थिए ।  वीरगन्जको बसपार्कस्थित एक होटलमा लगि ती युवतीलाई उनले पटकपटक करणी गरेका थिए । 

त्यसपछि जेठ ९ गते वीरगन्ज महानगरपालिका–१६ स्थित कार्की होटलकी सञ्चालिका लक्ष्मी बुढाथोकीको जिम्मा लगाई उनी फरार भएका थिए । 

जेठ १० गते लक्ष्मी बुढाथोकीले ‘विवाह गर्छ’ भनी झुक्याई हरिचन्द्रनाथ योगीको साथमा युवतीलाई पठाएकी थिइन् । त्यसपछि योगीले पीडितलाई आफ्नो कोठामा लगि मानसिक र शारीरिक यातना दिई पटकपटक जबरजस्ती करणी गरेको अनुसन्धानमा खुलेको छ । 

उक्त घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई वीरगञ्‍ज महानगरपालिकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । 

उनीहरू उपर जबरजस्ती करणी र मानव बेचबिखन तथा ओसारपसार कसूरमा अनुसन्धान भइरहेको छ ।


Author

थप समाचार
x