मधेश

टाउको काटेर युवकको हत्या गर्ने मामा-भान्जा पक्राउ

सुवास कर्ण |
चैत १८, २०७७ बुधवार २०:४ बजे

जनकपुरधाम : प्रहरीले सर्लाहीमा युवकको टाउको काटेर हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको  छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले मलंगवा नगरपालिका - १० का २५ वर्षीय शुसिल कुमार यादवको टाउको काटेर हत्या गरेको आरोपमा पक्राउ परेका मामा र भान्जालाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सर्लाहीको मंलगवा नगरपालिका - १० का ४५ वर्षीय बिमलकान्त पाठक र भारत विहार राज्य जिल्ला सितामढी थाना बथनाहा मझौलियास्टेटका  ४१ वर्षीय अशोक झा रहेका छन् । 


चैत १२ गते बुधबारको दिन मृतक शुशिलको शव मलंगवा नगरपालिका - ९ स्थित पचगछिया चौरीमा रहेको नागेश्वर रायको खेतमा टाउको काटेको अवस्थामा फेला परेको थियो । सोही दिन प्रहरीले मामा बिमलेन्द्र पाठक र भान्जा अशोक झालाई पक्राउ गरेको थियो ।

सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले मृतक शुशिल र हत्या गर्ने बिमलकान्त पाठकबीच पहिले पनि विवाद भएको बताए । ६ महिना पहिले बिमलकान्त पाठकको घरमा चोरी भएको थियो । उक्त चोरी शुशिल कुमार यादवले नै गरेको र उनीहरुबीच पटक पटक झगडा समेत हुँदै आएको थियो ।

पक्राउ परेका मामा–भान्जाले शुशिललाई घरमा खाना खुवाएर बिमलकान्तको श्रीमती लगायतका अन्य घर परिवारका सदस्यहरु आ–आफ्नो कोठामा सुत्न गएपछि पुनः सँगै बसी गाँजा तथा अन्य लागूऔषधहरु सेवन गर्ने क्रममा हत्या गर्ने योजना बनाएको खुलेको प्रहरी उपरीक्षक राठौरले बताए ।

मामा-भान्जाले शुशिललाई लागूऔषध गाँजा तथा ट्याब्लेटहरु सेवन गराई लठ्याएर डोरीले हात खुट्टा र जीउ बाँधी मुखमा गम्छा कोचेर हतियारसहित घटनास्थलमा लगेको अनुसन्धानको क्रममा खुलेको छ ।

बिमलकान्तले आफ्नो घरभन्दा झण्डै चार पाँच सय मीटर पूर्वतिर लगेर धारिलो हतियार प्रहारी गरी घाँटी काटेर हत्या गरेका प्रहरी उपरिक्षक राठौरले बताए । आरोपित विमलकान्त २०६९ साल भदौ १२ गते लागूऔषधसहित पक्राउ परेका थिए । त्यतिबेला उनी २ हजार ५ सय रुपैयाँ धरौटीमा छुटेका थिए । 


Author

थप समाचार
x