स्थायी गर्न प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीको माग
जनकपुरधाम - प्रादेशिक अस्पताल जनकपुरका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले स्थायी गर्नुपर्ने माग गरेका छन् ।
मंगलवार अस्पताल विकास समिति कर्मचारी युनियनको अगुवाईमा स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले स्थायी गर्नुपर्ने सहितका विभिन्न ६ बुँदे मागसहित ज्ञापनपत्र सरोकारवाला निकायलाई बुझाएका हुन् ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति डा. अंकुर साहलाई सो ज्ञापन पत्र बुझाएका छन् ।
कर्मचारीहरुले वर्षौदेखि करार तथा अस्थायी रुपमा कार्यरत कर्मचारीहरुलाई स्थायी गर्नुपर्ने, नेपाल सरकारबाट भनिएका ९८ प्रकारका औषधि निशुल्क वितरण हुनुपर्ने, अवकाश हुने कर्मचारीलाई उपदानको व्यवस्था, बक्यौता रहेका कोभिड १९ को भत्ता उपलब्ध गराउनुपर्ने र अस्पतालको आय विवरण सार्वजनिक गर्नुपर्ने लगायतका माग ज्ञापन पत्र मार्फत गरेका छन ।
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री लालबाबु राउतले आफूलाई ज्ञापन पत्र दिनुभन्दा सम्बन्धित सामाजिक विकास मन्त्रालयमा दिँदा राम्रो हुने सुझाव दिँदै सम्बन्धित मन्त्रालयका मन्त्रीसँग सोधपुछ गरेर प्रक्रिया अघि बढाउने आश्वासन दिए ।
त्यस्तै ज्ञापन पत्र बुझ्दै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति डा. अंकुर साहले आफू एक्लैले माग पुरा गर्न सक्ने अवस्था नरहेको भन्दै सञ्चालक समिति तथा माथिल्लो निकायसँग छलफल गरेर प्रक्रिया अघि थाल्ने बताए ।
अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष मोहम्मद सफी अहमद अन्सारीले अञ्चलबाट प्रादेशिक र प्रादेशिकबाट अस्पताल प्रतिष्ठानमा पुगिसक्दा पनि वर्षौदेखि अस्थायी र करारमा कार्यरत कर्मचारी आजसम्म स्थायी हुन नसकेको गुनासो गरे ।
स्थायी नभएको कारण अवकाश पाएपछि पेन्सन र उपदानको केहीको पनि व्यवस्था नभएको उनले बताए ।
प्रादेशिक अस्पताल जनकपुरमा कुल ४ सय ९० कर्मचारी मध्ये ९० जना मात्र नेपाल सरकारका स्थायी कर्मचारी छन् । बाँकी ४ सय जना स्वास्थ्यकर्मी, चिकित्सक, नर्स र करार र अस्थायी छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया