मधेश

भ्रष्टाचार गर्न प्रदेश सरकारले जानकी मन्दिरको स्वरुप नै बिगारेको महन्थको आरोप

इकागज |
जेठ ३१, २०७९ मंगलबार २१:७ बजे

जनकपुरधाम - भ्रष्टाचार  गर्न मधेश प्रदेश सरकारले सौन्दर्यीकरणका नाममा जानकी मन्दिरको स्वरुप नै बिगारेको आरोप लगाइएको छ । मंगलबार एक पत्रकार सम्मेलन आयोजना गरी जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले यस्तो आरोप लगाएका छन ।

उनले भने, `प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत मन्दिरको सौन्दर्यीकरण र विद्युतीकरणको नाममा भ्रष्टाचार गर्न मन्दिरका विभिन्न भागमा तोडफोड गरी पुरातात्त्विक स्वरुप नै बिगारेको छ ।`


मुख्यमन्त्री स्वच्छता कार्यक्रम अन्तर्गत जानकी मन्दिर परिसर तथा भित्र टाइल्स, मार्बल, गेट निर्माण तथा मर्मत सहितका भएको सौन्दर्यीकरण र प्रदेश सरकारकै कार्यक्रम अन्तर्गत वृहत्तर क्षेत्र विकास परिषद् द्वारा गरिएको लाइट जडानमा भ्रष्टाचार भएको महन्थ दासको ठहर छ ।

उनले भने, `७ करोड २० लाखको लागतमा मन्दिर सौन्दर्यीकरणमा लगाइएका टाइल्स मार्बल जडान कार्य पुरा नहुँदै फुट्न थालेको छ भने गेट समेत निर्माण अहिलेसम्म योजना अनुरुपको गरिएको छैन । त्यस्तै प्रदेश सरकारको ११ करोड रुपैयाँको बजेटमा गत वर्ष गरेको लाइट जडान महिनौंसम्म सञ्चालन नै भएन, पछि सञ्चालन भएपनि एक डेढ महिनामै बिग्रेर थन्केको छ ।`

महन्थ दासले कमसल सामग्रीको प्रयोग भएको कारण टाइल्स मार्बल फुट्न थालेको र लाइट बिग्रेर थन्केको छ । सौन्दर्यीकरणमा प्रदेश सरकारका मन्त्री, कर्मचारी र ठेकेदारले भ्रष्टाचार गरेका हुन भने लाइटिङका काममा बृहतर र सम्बन्धित मन्त्रालयका कर्मचारी तथा मन्त्रीले भ्रष्टाचार गरेको उनले आरोप लगाए ।

पत्रकार सम्मेलनमा उनले भने, `प्रदेश सरकारले भ्रष्टाचार गर्न सौन्दर्यीकरण र लाइटिङका नाममा जानकी मन्दिरलाई माध्यम मात्र बनाएको हो ।` 

सौन्दर्यीकरणको काम शुरुवात भएको बेला किन बोल्नु भएन भन्ने सञ्चारकर्मीको जिज्ञासामा महन्थ दासले भने, `यहाँ मन्दिरमा कुनै काम गर्न प्रदेश सरकारले हामीसँग सोधपुछ वा छलफल नै गर्दैन, मनपरी रुपमा सौन्दर्यीकरणको नाममा मन्दिरका पुरातत्वमा असर पर्ने गरी तोडफोड गर्दै आएको छ  । हामीले विरोध गर्दा पनि कुनै पहल हुन नसकेपछि पत्रकार सम्मेलन गरेका हौं ।`

उनले यसअघि संघीय सरकारबाट मन्दिरको कुनै काम हुँदा स्वीकृति लिने गरेको र  दुवै पक्षको छलफल पश्चातमात्र काम अघि बढाइने गरिएको स्मरण गरे ।  तर अहिले प्रदेश सरकारले भ्रष्टाचार गर्न मन्दिर व्यवस्थापकलाई बेवास्ता गर्दै मनपरी रुपमा काम गर्दै आएको उनको आरोप छ।  

महन्थ दासले विश्व सम्पदामा सूचीकृतको प्रक्रियामा रहेका यस मन्दिरको पुरातात्विक कुनै वस्तुलाई अहिलेसम्म छेडछाड नगरिएको बताए । तर प्रदेश सरकारले सौन्दर्यीकरणको नाममा तोडफोड गरी मन्दिरको पुरातात्विक स्वरूपलाई समेत बिगारेका आरोप लगाए ।

उनले मन्दिरको भित्र गर्भगृह परिसरमा समेत निर्माणकालमै लगाइएका चुनासुर्खीबाट बनेका टाइल्स मार्बल हटाइइएको, विद्युतीकरणको नाममा मन्दिरका पर्खालहरू भत्काएर तहसनहस गरेर विश्व सम्पदा सूचीमा जान नदिन प्रदेश सरकारले यस्तो काम गरिएको आरोप लगाए ।


Author

थप समाचार
x