मधेश प्रदेशमै पहिलाेपटक युवा महाेत्सव हुँदै
जनकपुरधाम । मधेश प्रदेशमै पहिलाेपटक युवा महाेत्सव हुन लागेकाे छ । मधेश प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयले असार १५ गतेदेखि मधेश प्रदेश यूवा महोत्सव गर्न लागेकाे हाे ।
बुधबार जनकपुरधाममा एक पत्रकार सम्मेलन आयोजना गरी महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले आगामी यही असार १५ देखि १६ गते दुई दिनसम्म चल्ने मधेश प्रदेश यूवा महोत्सव हुने जानकारी दिएका छन् । ‘समुन्नत मधेश प्रदेशका लागि साझा अठोट’ भन्ने नाराका साथ पहिलो मधेश प्रदेश युवा महोत्सवको आयोजना हुने उनले बताए ।
'हालसम्म राष्ट्रियस्तरमा मात्र युवा महोत्सव कार्यक्रमहरू आयोजना भइरहेको थियाे तर स्रोत साधनको पहुँचमा नभएका, मूलधारमा नसमेटिएका मधेश प्रदेशका युवाहरूका सीप र दक्षतालाई परिचित गराउन तथा सम्भावनाका मार्गहरूमा अभिमुखिकरण प्रदान गर्न सक्ने लगायतमा फलदायी हुन्छ भन्ने हाम्रो अपेक्षा छ ।' उनले भने ।
मधेशका युवाहरूको सीप र दक्षता पहिल्याउने, मधेश प्रदेशको सम्भावना, अवसर र चुनौतीका बारेमा सर्वपक्षीय विमर्श गर्ने, मधेश प्रदेशलाई देशकै विशिष्ट प्रदेश बनाउनका लागि पहल कदमी लिन आम युवालाई प्रेरित गर्ने र मधेश प्रदेशमा युवाद्वारा गरिएका उदाहरणीय कार्यहरूलाई प्रस्तुत गर्ने यस महोत्सवको उद्देश्य रहेको छ । साे महाेत्सवमा समग्र मधेश प्रदेशबाट युवाहरूको सहभागिता गराउन प्रदेशका ८ वटै जिल्लाका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र १२७१ वडासहित ५८ गाउँपालिका गरी १३६ स्थानीय सरकारलाई यस महोत्सवका बारेमा सूचना सम्प्रेषण गरिने जानकारी मन्त्रालयका सचिव ठुलाेबाबु दाहालले जानकारी दिए ।
दुई दिनसम्म चल्ने साे महोत्सवको पहिलो दिन मधेश प्रदेशमा राजनीति, उद्यम, सामाजिक कार्य, पत्रकारिता तथा सरकारी सेवाका विभिन्न क्षेत्रमा अथक रूपमा काम गरेर सकारात्मक परिवर्तन ल्याउन निरन्तर प्रयासरत उदाहरणीय युवाहरूका कथा सुन्ने र संवाद गर्ने कार्यक्रम रहेकाे छ । त्यस्तै दाेश्राे दिन मधेश प्रदेशमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको विषयमा कार्यरत सरकारी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिसँग अन्तरक्रिया गर्ने र सोको सम्बोधनका लागि साझा प्रतिवद्धताकाे आव्हान गरिने मन्त्री सिंहले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया