'सुशासनको पाँच वर्षमा भ्रष्टाचार मौलायो'
जनकपुरधाम- सुशासनकाे पाँच वर्षमा देशमा भ्रष्टाचार मौलाएको आरोप वक्ताहरूले लगाएका छन् । शनिबार जनकपुरधाममा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) द्वारा आयोजित 'स्वशासनको ५ वर्ष' भन्ने विषयक गोष्ठी कार्यक्रममा बोल्ने वक्ताहरूले आम जनताले अपेक्षा अनुसारको शासन पाउनुको सट्टा भ्रष्टाचार मौलाएको आराेप लगाएका हुन् ।
कार्यक्रममा तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले भने विभिन्न आन्दोलन र जनताको शहादतबाट प्राप्त संघीयतासहितको सुशासनमा भ्रष्टाचार मौलाउँदै गएको बताए । उनले भने, 'यस ५ वर्षको अवधिमा शासनमा पुगेकाहरूले ट्रान्सपरेन्सी दिन सकेन, भ्रष्टाचारलाई नियन्त्रण गर्नुको सट्टा झन प्रश्रय नै दियो, विकासका योजनाहरु ल्याउन सकेन, एक अर्का तहमा समन्वय हुन सकेन ।'
उनले साे अवधिमा विकासको नाममा मूर्ति, मन्दिर र गेट निर्माण बाहेक कुनै उत्पादनको एउटा पनि कार्यक्रम ल्याउन नसकेको आराेप समेत लगाए ।
त्यस्तै वरिष्ठ इञ्जिनीयर सत्यनारायण साहले जबसम्म देशमा सुशासन कायम हुँदै तबसम्म देशमा स्वशासनको अनुभूति जनताले गर्न नसक्ने जिकिर गरे । उनले भने, 'सुशासन कायम गर्न सार्वजनिक खरिद ऐनको ठूलो महत्व रहेको छ । तर, शासनमा बसेकाहरूले त्यसलाई नबुझेर हो कि बुझेर पनि सार्वजनिक खरिद ऐन विपरित काम गर्दै आएका छन् ।'
उनले अगाडि भने, 'स्वशासनको ५ वर्षको अवधिमा बनेका सरकारका मन्त्रीहरुले सुशासन कायम गराउनुको सट्टा सार्वजनिक खरिद ऐनको बलजफ्ती दुरूपयोग गरी कर्मचारीहरूबाट काम गराउँदै आएका छन् । जसको परिणाम पछिल्लो पटक मधेश प्रदेशमा सार्वजनिक ऐन मिच्न नमान्दा एक मन्त्रीले आफ्नै कर्मचारीलाई कुटेका थिए ।'
कार्यममा बोल्ने अधिकांश वक्ताहरूले देशमा संघीयता आएपछि आएको स्वशासनमा जनताले अपेक्षा अनुसारको त कुरै छाडौँ आवश्यकता अनुरुपको पनि सेवा नपाउने अवस्था रहेको कुरामा जोड दिएका थिए ।
कार्यक्रममा नेकपा एसका नेता शीतल झाले स्वशासनको आडमा यहाँका संस्कृति र पहिचानलाई मेटाउनु प्रयास गरिएको भन्दै प्रदेशको नामाकरण मधेश प्रदेशमा आपत्ति जनाउँदै मिथिलाको इतिहास मेटाएको आरोप लगाए । उनले भने, 'मधेशको कुनै इतिहास छैन, तर मिथिलाको आफ्नो संस्कृति र पहिचानको विश्वकै सबैभन्दा पुरानो इतिहास हो, तर राजनीतिक आडमा मिथिलाको इतिहास मेटाएर मधेशलाई खुम्चाइँयो ।'
नेता झाले मधेश आन्दोलनमा मात्र यही ८ जिल्लाका मधेशीले मात्र आन्दोलन नगरेको पनि उल्लेख गरे । उनले मधेशी पहिचानका लागि आन्दोलनमा होमिएका नेपालगन्ज र विराटनगरका जनता पनि होमिएका बताए । उनले भने, 'यति हुँदा पनि ८ जिल्लामै सीमित हुन गएपछि तिनीहरूको पहिचान के ? अब त उनीहरु न त मधेशी नै रहे न पहाडी, न थारु नै ।'
सो कार्यक्रममा सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालले पनि आफ्ना धारणा राखेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया