मधेश

मधेश प्रदेश : कृषिकाे भू-क्षेत्र बढ्याे तर उत्पादन बढेन

सुभाष कर्ण |
असार २८, २०७९ मंगलबार १७:५० बजे

जनकपुरधाम- कृषि क्षेत्रको रुपमा परिचित मधेश प्रदेशमा कृषि भू-क्षेत्रफल बढे पनि उत्पादनमा ह्रास आएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनको अर्धवार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७८/७९ मा प्रमुख कृषि बालीहरूले ढाकेका भू-क्षेत्रफल १.२५ प्रतिशतले वृद्धि भएको छ, भने उत्पादनमा ५.०४ प्रतिशतले ह्रास आएको उल्लेख छ ।


आ.व. २०७७/७८ को पुस मसान्तसम्म ५८ हजार ८ सय ५ हेक्टर कृषि बालीहरूले ढाकेको भू-क्षेत्रफल बढेर आ.व. २०७८/७९ को पुस मसान्तसम्म बढेर ५९ हजार ३ सय ५ हेक्टर बढेर गएको छ । सप्तरी, महोत्तरी, बारा,सर्लाही र पर्सामा वृद्धि भएको छ भने सिरहा र धनुषामा यथावतै रहेको छ र रौतहटमा घटेको छ ।

प्रतिवेदन अनुसार सप्तरीमा सप्तरीमा ९ हजार ९ बाट बढेर १० हजार ५ सय, महोत्तरीमा १३ हजारबाट १३ हजार ५०, बारामा ६ हजार ३ सय २५ बाट ६ हजार ३ सय ४०, पर्सामा २ हजार २ सयबाट बढेर २ हजार २ सय ५० र सर्लाहीमा ११ हजार ९० बाट बढेर ११ हजार एक सय हेक्टर पुगेको छ ।

सिरहामा कुनै वृद्धि नभई ७ हजार ५ सय ६५ र धनुषामा ३ हजार ५ सय हेक्टर यथावतै रहेको छ भने रौतहटमा ५ हजार २ सय २५ बाट घटेर ५ हजार हेक्टरमा पुगेको छ ।

खाद्य तथा अन्य बालीतर्फ धान, मकै, गहुँ, जौ, कोदो, फापर, आलु, उखु, भटमास, सुर्ती, सनपाट, दलहन, तेलहनमा ०.१० प्रतिशतले वृद्धि भई ८ लाख ३६ हजार ६ सय ४५ हेक्टर पुगेको छ ।

त्यस्तै तरकारी तथा बागवानीतर्फ ०.८५ प्रतिशतले वृद्धि भई ५९ हजार ३ सय ५ हेक्टर भू-क्षेत्रफल पुगेको छ । गतवर्ष सोही अवधिमा १.६९ प्रतिशतले वृद्धि भई ५८ हजार ८ सय ५ हेक्टर जग्गा तरकारी तथा बागवानीले ढाकेको कृषि भू-क्षेत्रफल पुगेको थियो । फलफूल तथा मसालातर्फ १.७९ प्रतिशतले वृद्धि भई ४७ हजार ८ सय ४६ हेक्टर भू-क्षेत्रफल पुगेको छ ।

कृषि भू-क्षेत्रफल बढेपनि खाद्य तथा अन्य बाली, तरकारी, फलफूल र मसालाको उत्पादनतर्फ ५.०४ प्रतिशतले ह्रास आएको छ । प्रतिवेदनमा उल्लेख भए अनुसार उत्पादनमा ह्रास आई ३० लाख ८४ हजार ९ सय १३ मेट्रिक टनमा पुगेको छ ।

क्षेत्रफलमा वृद्धि भएपनि सिँचाइमा कर्मी, समयमा मल खाद्य र बिउ विजनको उपलब्धता नहुनु, बेमौसमी वर्षा र बाढीका कारण उत्पादनमा कमी आएको प्रतिवेदनमा ठहर गरिएको छ । हुन त गत वर्ष उत्पादनमा ३.६० प्रतिशतले वृद्धि भएको थियो । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x