मधेश

जनकपुरधाम क्षेत्रमा अघोषित लोडसेडिङ, समस्या सुल्झ्याउन सकस

सुभाष कर्ण |
असार ३२, २०७९ शनिबार १९:१४ बजे

जनकपुरधाम । मधेश प्रदेशका राजधानी जनकपुरधाममा केही दिनदेखि अघोषित लोडसेडिङ बढेको छ । नेपाल विद्युत प्राधिकरणद्वारा हुने गरेकाे अघोषित लोडसेडिङका कारण चर्को घाममा आम जनता निकै समस्या भोग्न बाध्य छन् । अघोषित लोडसेडिङ मात्रै होइन हाइभोल्टेज र लो भोल्टेज समस्याले विद्युतीय सामग्रीसमेत क्षति हुने गरेको छ ।

गर्मी बढेसँगै जनकपुरधाम नगरक्षेत्र र यसको वरिपरी समेत दैनिक १०÷१५ पटक घण्टौसम्म लाईन काटने गरिएको कारण जनकपुरधामवासी समस्या भोग्न बाध्य छन् । स्थानीयले विद्युत प्राद्यिकरणको लापरवाही कारण अघोषित रुपमा लोडसेडिङ भइरहेको आरोप लगाएका छन ।


इन्टभर कम्पनीको मिलोमतोमा विद्युत प्राधिकरणका कर्मचारीहरुले अघोषित रुपमा लोडसेडिङ्ग गर्दै आएको जनकपुरधाम ४ निवासी स्थानीय विनोद साहले आरोप लगाएका छन् । उनले भने ‘अहिले अत्यधिक रुपमा बढेको गर्मी बर्खास्त गर्न नसक्दा लाईन काटने समस्याले आजित भई नागरिक विद्युत इन्र्भटर किन्न बाध्य भएका छन् ।’ गर्मी बढेसँंगै अघोषित रुपमा बढेको लोडसेडिङ र विद्युत अनियमितताले गर्दा जनकपुरधाम बजार क्षेत्रमा इन्टभरको बिक्री ह्वातै बढेको छ । एक ब्याट्री इन्भटर व्यवसायीका अनुसार जनकपुरधाम बजारबाट दैनिक ४०÷५० वटा इन्भटरविक्री भइरहेको छ ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले  दैनिक पटक पटक विद्युत काटिने, घण्टौंसम्म विद्युत नआउने, विद्युत रहँदा पनि भोल्टेज नरहने,  हाई भोल्टेज र विद्युत फ्लक्चुएसनका कारण घरका विद्युतीय सामाग्रीहरु जल्नेलगायतका समस्या बढेको बताए ।

‘विद्युत समस्याले गर्दा विद्युतीय सामग्री जल्नुका साथै उद्योग व्यवसायलाई समेत असर पारेको छ’ उनले भने, ‘घण्टौ लाइन नै नरहने, लाइन आएपछि लो भोल्टेजका कारण सानादेखि ठूला व्यवसायीसम्म मारमा परेका छन् ।’

संघले अघोषित लोडसेडिङ र विद्युतीय समस्याले स्थानीय र उद्योगी व्यवसायीले भोग्नु परेको समस्या तत्काल समाधान गर्न भनी शुक्रवार नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जनकपुरधामका प्रमुख लखनलाल मल्लिकलाई ध्यानाकर्षण गराउन ज्ञापन पत्र समेत बुझाएको छ ।

यसैबीच अघोषित लोडसेडिङ र विद्युतीय समस्याबारे प्रमुख मल्लिकले भने ‘यो समस्या प्राधिकरणको लापरवाही भन्दा पनि गर्मीमा हुने गरेको ओभरलोडिङ र स्थानीयको असहयोगको कारण भईरहेको छ ।’

‘यो वितरण केन्द्र अन्तर्गत २६ एमभीए विद्युत सप्लाईमा हामी सँग जम्मा ३ सय १३ वटा ट्रान्सफर्मरसहित ४२ एमभीएसम्मको ट्रान्सफर्मर क्षमता छ,’ इकागजसँग कुरा गर्दै प्रमुख मल्लिकले भने, ‘तर बजार क्षेत्रमा क्षमताभन्दा बढी लोड रहेको कारण लाईन ट्रिप हुने, तार चुहिने, ट्रान्सफर्मर जल्ने लगायतका समस्याले पटक पटक लाईन काटिने गरेको छ ।’

जनकपुरधाम बजार क्षेत्र जनक चोक तथा जानकी मन्दिर नजिक नयाँ ट्रान्सफर्मर र सोना बजार क्षेत्रमा चेन्ज गर्न खोज्दा स्थानीयले आफ्नो जग्गामा ट्रान्सफर्मर लगाउन नदिने अडानका कारण समस्या बढेको उनको भनाइ छ ।

उनले स्थानीयले जग्गा अधिग्रहणमा सहयोग गरे तत्काल समस्या समाधान हुनेछ, नभए विद्युतीय समस्या समाधान गर्न गाह्राे रहेकाे बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x