मधेश

जनमतले लगायाे कृषि मन्त्रालयमा ताला

सुभाष कर्ण |
साउन ४, २०७९ बुधबार १९:३४ बजे

जनकपुरधाम- व्यापक भ्रष्टाचार गरेकाे भन्दै जनमत पार्टीले मधेश प्रदेश सरकारको कृषि मन्त्रालयमा तालाबन्दी गरेको छ। बुधबार दिउँसाे कृषि मन्त्रीलाई जनकारवाही गर्न मन्त्रालय पुगेका जनमत पार्टीका कार्यकर्ताहरू मन्त्री नभेटिएपछि मन्त्रालयमै तालाबन्दी गरेको जनाइएको छ।

धनुषा जिल्ला इन्चार्ज बीपी साहले किसानका योजनाहरुमा मन्त्रालयले व्यापक भ्रष्टाचार गरेको, कृषकहरुलाई दिइएको योजनामा मन्त्री र कर्मचारीलाई कमिसन नदिँदा भुक्तानी नदिएकाे कारण देखाउँदै जनमतले जनकारवाही प्रक्रिया अघि बढाएकाे बताए । उनले भने, 'किसानहरू मन्त्रालयमा मन्त्री विजय यादवलाई कारवाही गर्न गएका थिए तर उनी नभेटिएपछि मन्त्रालयमा तालाबन्दी गरेर फर्किएका छन् ।'


किसान आन्दोलनका कार्यक्रम संयोजक विजय यादवले मन्त्री र सचिवलगायतकाे कर्मचारीले कमिसनकाे चक्करमा किसानहरूकाे कराेडाैँ रूपैयाँ भुक्तानी नदिएका कारण किसानहरू मारमा परेकाे उल्लेख गरे ।

उनले अनुदानमा कर्मचारीले सम्झाैता अनुसारकाे कृषि सामग्री नदिएकाे, वास्तबिक किसानभन्दा पनि पार्टी कार्यकर्ताहरूलाई मात्र याेजना वितरण गरेकाे आराेप लगाउँदै माग सम्बोधन नभए मन्त्रीहरुलाई जनकारवाही गर्ने चेतावनी दिएका छन् ।

यसैबीच किसान आन्दोलन अन्तरगत जनमत पार्टीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x