आफैले 'मागेको निम्तो'मा मधेश सरकारका जम्बो टोली युरोप जाँदै
संघीयता संस्थागत गर्न सफल स्वीस सरकारको मोडल अवलोकन गरिने भनाइ
फाइल तस्वीर
जनकपुरधाम । संघीयताको मोडल अवलोकन गर्न मधेश प्रदेश सरकारको टोली युरोपको भ्रमणमा जाने तयारीमा जुटेका छन् ।
प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा मन्त्रीहरु, प्रतिपक्षी दलका प्रतिनिधिसहित करिब डेढ दर्जन व्यक्तिहरु भदौ ६ गते यूरोपको स्वीटजरल्याण्ड भ्रमणमा जाने बुझिएको छ ।
सो भ्रमण टोलीमा मुख्यमन्त्री राउत सहित प्रदेश सभामुख सरोजकुमार यादव, भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन यादव, गृह तथा सञ्चार मन्त्री भरत साह, कृषि तथा सहकारी मन्त्री विजय यादव, अर्थमन्त्री शैलेन्द्र साह, प्रमुख सचिव लगायत झण्डै डेढ दर्जन व्यक्ति रहेका छन् ।
मन्त्रीबाहेक सो भ्रमण टोलीमा प्रदेश सभाको कोटाबाट प्रदेश सभा सचिव रञ्जित यादव, प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा) संसदीय दलका नेता जितेन्द्र सोनलले सभासद रानी शर्मा र एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले शारदा थापालाई पठाउने निर्णय गरेको छ ।
प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले कुनै घुम्ने रहरले नभई स्वीस सरकारको निमन्त्रणमा त्यहाँ जान लागेको बताए । उनले भने ‘प्रदेशको नाम र राजधानी घोषणा भए लगतै स्वीस सरकारबाट भ्रमणका लागि मधेश सरकारलाई निमन्त्रणा आएको थियो ।’
विश्वमै संघीयता संस्थागत गर्न सफल भएका स्वीस सरकारको सो निमन्त्रणालाई सदुपयोग गर्दै त्यहाँको मोडल अवलोकन गर्नुका साथै संघीयता संस्थागत कसरी सफल भयो भन्ने बारे जानकारी लिन उनले बताए ।
सो भ्रमणबारे प्रमुख प्रतिपक्षी दल लोसपाका प्रमुख सचेतक परमेश्वर साहले भ्रमणमा जानु गलत नभएको तर समय उपयुक्त नभएको प्रतिक्रिया दिएका छन् । ‘प्रदेश सरकार भ्रष्टाचारमा लिप्त रहेको महालेखाले समेत ठहर गरिसकेको र विभिन्न पक्षबाट आवाज उठिरहेको बेला सरकारको अन्तिम समय रहेकोले आरोपको खण्डन काम गरेर देखाउने बेलामा विदेश भ्रमणमा जानु उपयुक्त छैन ।’ उनले भने ।
प्रदेश सरकारले स्वीस सरकारको निमन्त्रणमा यूरोप भ्रमणमा जान लागेको बताएपनि स्रोतका अनुसार सो निमन्त्रणा स्वीटजरल्याण्ड सरकारबाट नभई मन्त्रिपरिषदबाट निर्णय गराई त्यहाँको ‘युनिभर्सिटी अफ फेडरालिज्म’ बाट आमन्त्रणा मगाइएको हो । मागेर लिएको निम्तोमा जाने टोलीको सम्पूर्ण खर्च मधेश प्रदेश सरकारले नै व्यहोर्नेछ ।
प्रदेश सरकारका प्रतिनिधिले विदेश भ्रमणमा जाँदा संघीय सरकारको इजाजतका लागि परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिनुपर्ने प्रावधान रहेकोले सो इजाजतका लागि आग्रह गर्न प्रहरी समोजान र प्रदेशको प्रशासनिक स्थायी संरचना निर्माणको लागि जग्गा स्वामित्वका लागि प्रधानमन्त्री तथा सत्तारुढ दललाई ज्ञापन पत्र बुझाउने बहानामा काठमाडौ मुख्यमन्त्री सहितका टोली हाल काठमाडौ गएका छन् ।
सो ज्ञापन पत्र बुझाएसंगै चांजोपाँजो मिलेमा ती टोलीले भ्रमणका रातो पासपोर्ट (रेड पासपोर्ट) का लागि परराष्ट्र मन्त्रालयमा निवेदन दिने श्रोतले जनाएको छ । उनीहरुले स्विटजरलेण्ड बाहेक यूरोपका अन्य देशहरु भ्रमणका लागि समेत भिसाको आवेदन दिने श्रोतको भनाई छ ।
स्विटजरलेण्डको संघीयताको मोडेल अध्ययनका लागि जाने भनिएपनि सो भ्रमण टोली कार्यकालको अन्तिम समयमा विदेश भ्रमण गर्ने शौख पुरा गर्न जान लागेको कुरा चर्चामा रहेको छ । प्रदेश सरकारको बजेटले अमेरिका भ्रमण गरिसकेका राउत अन्तिम पटक यूरोपको भ्रमणमा जान लाग्दा सतारुढ र प्रतिपक्षी दलबाट विरोध हुन सक्ने डरले सर्वदलीय टोली बनाएर भ्रमणमा जान लागेको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया