मधेश

विपद र सवारी दुर्घटनाबाट मधेशमा एक वर्षमा एक हजारभन्दा बढीकाे ज्यान गयाे

लागूऔषध कारोबारमा संलग्न एक हजारभन्दा बढी पक्राउ

सुभाष कर्ण |
साउन ११, २०७९ बुधबार १८:४२ बजे

जनकपुरधाम । मधेश प्रदेशमा गत आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न घटना दुर्घटनामा परी एक हजारभन्दा बढीको मृत्यु भएको छ । प्रहरी कार्यालय मधेशले सार्वजनिक गरेको गत आ.व.को प्रतिवेदन अनुसार विपद्को घटनामा ४ सय ९० र सवारी दुर्घटनामा ५ सय ८५ गरी एक हजार ७५ जनाको मृत्यु भएको हो ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता तुलबहादुर कार्कीका जानकारी अनुसार गत आ.व. मा भएको १ हजार ८७८ विपद्का घटनामा ४ सय ९० जनाको र ५ हजार ७ सय ११ सवारी दुर्घटनामा ५ सय ८५ जनाको मृत्यु भएको हो । विपद्का घटना मृत्यु हुनेहरुमा १ सय १७ महिला, २ सय ८ पुरुष र १६५ बालबालिका रहेका छन भने सवारी दुर्घटनातर्फ ४ सय ४८ पुरुष, ८१ महिला, ४२ बालक र १४ जना बालिका रहेको प्रवक्ताले कार्कीले बताए ।


प्रतिवेदनमा विपद्का घटनामा परी ६ सय १५ जना घाइते भएका छन् भने घाइतेमध्ये ३ सय १४ महिला, १ सय ९६ पुरुष र १०५ बालबालिका छन् । विपद्का घटनामा परी ९ जना वेपत्ता भएको उल्लेख छ । विपद्कै घटनाहरुमा प्रदेशभरिमा १ हजार ९ सय १२ चौपायाको मृत्यु भएको छ भने ९९ चौपाया घाइते भएका छन् र विपद्का घटनाबाट प्रदेशमा ३३ करोड १४ लाख ४ हजार ८ सय २३ रुपैयाँ बराबरको धनमाल क्षतिग्रस्त भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै सवारी दुर्घटनातर्फ गत आ.व. मा प्रदेशको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ९ हजार ४६४ जना घाइते भएका छन् । घाइते मध्ये ६ हजार ६३४ पुरुष, १ हजार ५२७ महिला, ८५७ बालक र ४४६ बालिका रहेको तथ्यांकमा उल्लेख छ । प्रहरीले मधेस प्रदेशमा गत वर्ष २ लाख ६४ हजार ३ सय १० सवारी साधनलाई कारवाही गरी २२ करोड ४४ लाख ४० हजार ५ सय रुपैयाँ राजश्व उठाएको छ ।

गत आर्थिक वर्षमा ५ सय ६४ वटा दुर्घटनाका मुद्दाहरु दर्ता भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । ४ सय १३ मदिरा भठ्ठी नष्ट र ९९ जुवाडे पक्राउ मधेस प्रदेशको विभिन्न जिल्लामा गत आर्थिक वर्ष २०७८/७९ मा प्रहरीले ४ सय १३ वटा अवैध मदिरा भठ्ठीहरु नष्ट गरेको छ भने १ लाख ९८ हजार ५ सय ८५ लिटर कच्चा पदार्थ र ४० हजारभन्दा बढी तयार मदिरा नष्ट गरेको छ । अवैध मदिरा भट्ठी संचालनमा आबद्ध २३ जनालाई पक्राउ समेत गरिएको छ । त्यस्तै, जुवातर्फ भने १८ वटा मुद्दा दर्ता भएकोमा ९९ जनालाई पक्राउ गरिएको प्रवक्ता कार्कीले जानकारी दिए । उनले विभिन्न जुवाखालहरुबाट १६ थान कौडा र १२ बुक ताससमेत बरामद गरिएको छ भने मधेस प्रदेशमा जुवाखालहरुबाट १६ लाख ६५ हजार ३४४ नगद रुपैयाँ बरामद भएको बताए ।

लागूऔषध कारोबारमा संलग्न एक हजारभन्दा बढी पक्राउ

गत आर्थिक वर्ष २०७८/७९ मा मधेस प्रदेशबाट प्रहरीले अवैध लागूऔषध कारोवारमा संलग्न रहेको आरोपमा १ हजार २ सय ६० पुरुष र २५ महिला गरी कूल १ हजार २८५ जनालाई पक्राउ गरेको छ । लागूऔषध तर्फ प्रहरीले ४ हजार ३५ किलो ८६० ग्राम गाँजा, १६४ ग्राम ब्राउन सुगर, ५१ किलो ५ ग्राम ९८० मिलिग्राम चरेस, ९८ ग्राम १६३५ मिलिग्राम हिरोईन, २१३ लिटर डाईलेक्स डिसि, ७० हजार १२४ पिस लागूऔषध ट्याबलेट र ३९ हजार ६७ पिस लागूऔषध इन्जेक्सन बरामद गरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, प्रहरीले मधेस प्रदेशमा १ हजार ५२३ जना फरार प्रतिवादीलाई पक्राउ गरी उनीहरुसँग ५ करोड ४ लाख २० हजार ८२२ रुपैयाँ जरिवाना तिर्न लगाएको छ भने नदीजन्य तर्फ ३५१ सवारी साधन र ७८ जना मानिसलाई पक्राउ गरी १ करोड ७६ लाख ७७ हजार २१४ रुपैयाँ राजश्व संकलन गरिएको छ । प्रदेशमा जम्मा ८ हजार ४ सय ५४ वटा मुद्दाहरु दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ भने काठचोरी निकासी आरोपमा प्रहरीले ३४ जनालाई पक्राउ गर्नुका साथै ३८ थान सवारी साधन पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको प्रवक्ता कार्कीले जानकारी दिएका छन ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x