मधेश

मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्न जसपाको माग

इकागज |
साउन १२, २०७९ बिहीबार १८:२६ बजे

जनकपुरधाम । मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालले माग गरेको छ । प्रदेशलाई सुख्खा क्षेत्र घोषणासहित किसानहरुलाई राहत तथा प्याकेज उपलब्ध गराउन लगायतका विभिन्न माग राख्दै जसपा धनुषाले बिहीवार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

नेपालको संविधानले खाद्यसम्बन्धी अधिकारलाई मौलिक हकका रुपमा प्रत्याभूत गरेकोमा त्यसलाई कार्यान्वयन गर्न भन्दै जसपा जिल्ला अध्यक्ष पशुपति यादवको नेतृत्वमा गएको टोलीले सहायक प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सो पत्र बुझाएको हो ।


जसपाले ज्ञापन मार्फत किसानहरुको लागि प्रयाप्त मलखाद्यको व्यवस्था, किसानहरुको बैंक ब्याज मिनाहा, सिचाईको लागि डिप बोरींग लयायत अन्य वैकल्पिक व्यवस्था, सिचाईको लागि सहुलियतमा डिजलको व्यवस्था, कृषि विद्युतीकरणको व्यवस्था र निःशुल्क कृषि मिटर तथा महसुलको व्यवस्था लगायतका माग गरेका छन।

तराई मधेशमा आकाशे पानीको भरमा कृषि उत्पादन हुँदै आएको छ, केही वर्षदेखि बाढीको समस्या र यस वर्ष वर्षा नभएका कारण पूर्ण रोपाई हुन नसकेको र रोपाई भएका धान सिचाई आभावमा सुक्न थालेपछि किसानलाई धेरै मार्का पर्न सक्न सम्भावित कुराको दृष्टिगत गर्दै जसपा नेपालले मधेश प्रदेशलाई सुख्खा प्रदेशको रुपमा घोषणा गर्न माग गरेका हुन् ।

देशको करिव ६३ प्रतिशत जनसंख्याको रोजगारी तथा जीविकोपार्जनको आधार कृषि हो ।  राष्ट्रको कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान करिब ३२ प्रतिशत रहेको छ । कृषिजन्य उत्पादन एवम् व्यापारमा प्रतिस्पर्धा, व्यावसायीकरण, यान्त्रिकीकरण र विविधीकरण आवश्यक रहेको ठहर गर्दै पर्याप्त सिंचाईको व्यवस्था नभएकोले यहाँका किसानहरु वर्षाको भरमा खेती गर्न बाध्य भएको ज्ञापन पत्रमा उल्लेख छ ।

खडेरीले गर्दा कृषिमा आश्रित बहुसंख्यक जनताको जीवन कष्टकर बन्दै गएको अवस्थाप्रति सरकारको यथेष्ट ध्यान नपुग्नु दुर्भाग्यपूर्ण रहेको भन्दै सरकारले कृषिमा बढी जोड दिन माग गरेका छन ।
 


Author

थप समाचार
x