मधेश

प्रदेशकाे आर्थिक वृद्धिका लागि नयाँ उद्याेग स्थापना गर्नुपर्ने सुझाव

इकागज |
साउन १८, २०७९ बुधबार १३:१३ बजे

जनकपुरधाम । प्रदेशकाे आर्थिक समृद्धिका नयाँ उद्याेग स्थापना गर्नुपर्ने सुझाव सहित मधेश प्रदेशकाे औद्योगिक सम्मेलन सम्पन्न भएकाे छ । मधेश प्रदेश सरकारद्वारा प्रदेशको आर्थिक वृद्धिका लागि वातावरण निर्माण गर्ने उद्देश्यका साथ बाराको सिमरामा आयोजित औद्योगिक सम्मेलन उद्योगीहरुले सुझाव दिएका छन् ।

नेपाल उद्योग परिसंघ, सीप परियोजना र युके एडको समन्वयमा मधेश सरकारले आयोजना गरेको औद्योगिक सम्मेलनमा उद्योगहरुले प्रदेशमा आर्थिक वृद्धिको वातावरण निर्माणका लागि सरकारलाई नयाँ उद्याेग स्थापना सहित ९ बुँदे सुझाव दिएका छन् । उद्याेगीहरूले मधेश प्रदेशमा पछिल्लो समय वृद्धि भएको आर्थिक गतिविधिलाई निरन्तरता दिदै थप लगानी को वातावरण निर्माण गर्न उद्योग दर्ता, संचालन र उद्योगबाट बाहिरिने प्रक्रियालाई सरल एवं द्रुत गतिमा हुनुपर्ने, मधेश उद्योग व्यवस्थापन ऐन हुनुपर्ने लगायतका सुझाव दिएका छन् ।


त्यसैगरी विरगञ्जमा स्थापना भएको एक द्वार प्रणालीले मधेश प्रदेशमा उद्योगहरुलाई सहज र सरल वातावरण बनाउने तीन दिनमै उद्योग दर्ता महत्वपूर्ण भएपनि उद्योग दर्तालाई स्वचालित र डिजिटलाइज गरि थप सहजता प्रदान गर्नु पर्ने, प्रदेश ऐनमा अतिरिक्त सहुलियत घोषणा भए पनि संघीय सरकारसँगको समन्वय आवश्यक रहेको व्यवस्थाहरुलाई संघीय कानुनसँग सामन्जस्यता कायम गराउनुपर्ने, स्थिर पूँजीको आधारमा उद्योगहरूको वर्गीकरण हुनु पर्ने सहितका समेत दिएका छन् ।

उद्योगीहरुले विभिन्न प्रकारका उद्योगहरूको सीएसआर जिम्मेवारीहरू समेटिनुपर्ने ,सुविधा र छुटहरू संघीय ऐन र प्रदेश ऐन अन्तर्गत प्रदान गरिने कर र गैरकर लाभहरू सङ्घीय र प्रादेशिक सरकारमा छुट्टाछुट्टै संयन्त्र विकास हुनु पर्ने, मधेश प्रदेशको आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्न नयाँ उद्योग स्थापना र आर्थिक रूपमा उद्योगहरूको मापन सक्षम गर्न भूमिको प्रयोगलाई सहज बनाउनु पर्ने सुझाव समेत उद्याेगीहरूबाट सुझाव आएकाे प्रदेश सरकारका प्रवक्ता एवं अर्थ मन्त्री शैलेन्द्र साहले बताए ।

उनले प्रदेश ऐनले उद्योगहरूले सरकारी जग्गाको भाडामा लिजमा जग्गा पाउने व्यवस्था गरेको भए पनि स्पष्ट संयन्त्रको विकास गर्नु पर्ने , मानव संसाधन विकासको लागि उत्कृष्टता केन्द्र निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक क्षेत्रमा रोजगारीको भूमिका बढाउन दक्ष जनशक्ति उत्पादन को ब्यवस्था हुनुपर्ने सुझाव समेत उद्याेगीहरूबाट आएकाे बताए ।

उद्योगीहरुको सुझाव ग्रहण गर्दै मुख्यमन्त्री लालबाबु राउतले उद्योगी हरुबाट आएको सुझावलाई प्रदेश सरकारले अक्षरस: पालन गर्ने र संघिय सरकार संग सम्बन्धित विषयका लागि समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । सम्मेलनमा प्रदेश सरकारले प्रदेशको आर्थिक वृद्धिका साथै रोजगार सृजनामा योगदान दिने २३ उद्योगलाई विभिन्न अवार्डबाट सम्मानित समेत गरेको थियो ।


Author

थप समाचार
x