मधेश

जनकपुरधाम उद्योग वाणिज्य संघको चुनावमा धाँधलीको आरोप

असन्तुष्ट पक्षद्धारा विरोध प्रदर्शन

इकागज |
चैत २९, २०७७ आइतबार १४:३३ बजे

जनकपुरधाम : जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि सम्पन्न निर्वाचनको मतगणनामा मत बढी आएको भन्दै असन्तुष्ट पक्षले प्रदर्शन गरेका छन । आइतवार बिहान १० बजेपछि वरिष्ठ उपाध्यक्ष पदको मतगणनाको क्रममा उम्मेदवार सुरेन्द्र भण्डारी पक्षधरले मतदानभन्दा बढी मत फेला परेको भन्दै विरोध प्रदर्शन गरेको हो । 

विवाद बढदै जाँदा अवस्था तनावग्रस्त बनेपछि व्यापक संख्यामा नेपाल तथा शसस्त्र प्रहरी मतगणना स्थल गोपाल धर्मशालामा तैनाथ गरिएको छ । विवादित समूहका पक्षधरले निर्वाचन समितिको विरोध गर्दै टायर बालेर निर्वाचन समिति विरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शनका गर्नुका साथै ढुंगामुढा समेत प्रहार गरेका छन ।


प्रदर्शनकारी समूहबाट ढुंगामुढा प्रहार भएपछि प्रहरीले लाठी चार्ज समेत गरेका छन । सो लाठी चार्जबाट ३÷४ जना प्रदर्शनकारी सामान्य घाइते भएको जनाइएको छ । प्रदर्शनकारीहरुले मतदान ४३११ मात्र भएकोमा मतपरिणाम ४४ भन्दा बढी देखिएको कारण विवाद भएको बताएका छन ।

निर्वाचन समिति श्रोतका अनुसार मतगणनामा मनिष रमण साहले अग्रता लिएपछि प्रतिष्पर्धी उम्मेदवार भण्डारी पक्षका व्यक्तिहरुले डेढ सय मत बढी भएको भन्दै विवाद उत्पन्न गरेको हो । श्रोतका अनुसार वरिष्ठ उपाध्यक्ष पदका मतगणना असन्तुष्ट पक्षको विवादको कारण हाल अवरुद्ध रहेको छ ।

उनले भने ‘हामीले पुनः मतगणना गर्न असन्तुष्ट पक्षलाई भनिरहेका छौं । तर उनीहरु मतगणना होइन पुनः निर्वाचनमै जानुपर्ने अडान राखेकोले विवाद समाधान हुन सकेको छैन ।’ यता अध्यक्ष पदमा जितेन्द्र महासेठ एक हजारभन्दा बढी मतले विजयी घोषित भइसकेको छ । 

अन्य पदको मतगणना जारी छ । शनिवार गोपाल धर्मशालामा जारी मतदानमा संघमा ५ हजार २७ मतदाता आबद्ध रहेकोमा चार हजार तीन सय ११ जनाले मतदान गरेका थिए । 
 


Author

थप समाचार
x