मधेश

६ महिनापछि प्रदेश सभा बैठक, सत्तारुढ दल नेताविहीन

सुभाष कर्ण |
चैत ३०, २०७७ सोमबार १२:४७ बजे

जनकपुरधाम : करिब ६ महिनापछि प्रदेश २ प्रदेश सभाको बैठक बस्दै छ । अधिवेशन सकिएको ६ महिना पुग्‍नै लाग्‍दा सोमबार दिउँसो १ बजे बैठक बोलाइएको हो । प्रदेश सभाको पाँचौं अधिवेशन सुरु हुन लाग्‍दा सत्तारुढ दल भने नेताविहीन हुने अवस्था पुगेको छ । आन्तरिक किचिलो र प्रतिनिधि सभा विघटनको कारण प्रदेश २ प्रदेश सभाको पाँचौ अधिवेशन बस्‍न सकेको थिएन ।  

अधिवेशनको पहिलो दिन बैठकमा अधिवेशन आह्वान सम्बन्धी पत्र सभामुख सरोजकुमार पढेर सुनाउने, प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका विधेयक बारे जानकारी गराइने र सांसदहरूले आ-आफ्ना भनाइ राख्ने कार्यसूची छ ।


प्रदेश नम्बर २ मा सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी पहिलो पटक प्रदेश सभामा नेताविना नै उपस्थित हुन लागेको छ । प्रत्येक दलबाट नेताहरूले धन्यवाद ज्ञापन गर्ने कार्यसूचीमा सत्ताधारी दलबाट कसले धन्यावद ज्ञापन गर्ने भन्‍ने समेत अन्‍यौल छ । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकृत भई जनता समाजवादी पार्टी गठन भएको एक वर्ष बित्न लाग्दा पनि पार्टीको आन्तरिक किचिलोको कारण दलको नेता चयन गर्न सकेको छैन ।

जसपाभित्र दलको नेतामा देखिएको विवादका कारण सपाबाट मुख्यमन्त्रीको हैसियतमा लालबाबु राउतले आफ्नो धारणा राख्ने बुझिएको छ । संसदीय दलको समायोजनाका लागि निर्वाचन आयोगदेखि प्रदेश सभा समेतले ताकेता गर्दा समेत दलको नेता चयन हुन सकेको छैन । जसपाकै प्रदेश सभा सदस्यहरूले समेत संसदीय दलको समायोजन र नेता चयन गर्न चासो नदेखाएको प्रति असंतुष्टि जनाउँदै आएका छन् ।

संसदीय दल समायोजन भए नेता चयनको प्रक्रिया सुरु गरिने र नेता चयनमा अल्पमतमा पर्ने सम्भावना देखिएपछि मुख्यमन्त्री लालबाबु राउतले नेता चयनको लागि चासो नदेखाएको आरोप लाग्दै आएको छ । दलको नेता चयन गर्ने जिम्मेवारी दुवै दलका नेतालाई दिएका छन्। तर उनीहरूले आ-आफ्नो मन्त्री पद गुम्ने सम्भावना देखेर चासो नदेखाएको एक सांसदले बताए।

जसपाका नेता एवं प्रदेश सभा सदस्य मनिषकुमार सुमनले संसदीय दलको विधान निर्माण गरेर समेत पार्टीलाई बुझाइएको र पार्टीका केही नेताहरूले नै समायोजना गर्न नचाहेको बताए । उनले अहिलेसम्म समायोजना नगरिनु दुखद भएको बताए । राजपा र समाजवादी पार्टीको एकता भएर जनता समाजवादी पार्टी भए पनि प्रदेशसभामा पुरानै दुई पार्टी दर्ता छन्।
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x