मधेश

६७ थान खयरको काठ बरामद

इकागज |
भदौ ४, २०७९ शनिबार २०:५५ बजे

सिराहा- सिराहामा वन कार्यालयको कर्मचारी र काठ तस्करकाे मिलेमतोमा स-मिलमा ल्याइएको  ६८ थान काठ  बरामद गरिएकाे छ । काठ तस्करहरूले अवैध रुपमा कटान गरी स-मिलसम्म ल्याएको खयरको काठ डिभिजन वन कार्यालय लहानको टोलीले बरामद गरेको हो  ।

मिर्चैया नगरपालिका–९ कमलदहमा रहेको सामुदायिक वन घुर्मी डाँडाको नर्सरीबाट खयर र सिसाै जातका रूख कटानपछि चोरी निकासी गरी स-मिलसम्म ल्याए फेला परेकाे छ ।  


सव-डिभिजन वन कार्यालय चोहर्वा र सव-डिभिजन कार्यालय मिर्चैयाकै कर्मचारीको मिलोमतोमा मिर्चैया नगरपालिका–९ घुर्मी पुलको छेउमा रहेको लक्ष्मी नारायण स–मिलबाट गत बिहीबार राति खयरको काठ  ६८ थान काठ र मिलका संचालक मदन ठाकुरलाई पक्राउ गरिएकाे थियाे । तर मिल सञ्चालकलाई भने केही बेरमै छोडेको नाम नखोल्ने सर्तमा एक कर्मचारीले बताए । 

डिभिजन वन कार्यालयका प्रमुख शैलेन्द्रकुमार मिश्रका अनुसार बरामद काठ र फरार रहेका स-मिल सञ्चालक ठाकुरमाथि अनुसन्धान भइरहेको  छ । 

अवैध रुपमा कटान गरी स–मिलसम्म पुर्‍याउँदा पनि नजिकै रहेको सब–डिभिजन वन कार्यालय चोहर्वा र सब–डिभजन वन कार्यालय मिर्चैयाले नियन्त्रणमा लिन सकेका थिएनन् ।

सब–डिभिजन वन कार्यालय चोहर्वाका कर्मचारी र प्रहरी प्रशासनकै मिलोमतोमा यस क्षेत्रबाट व्यापक रूपमा काठ चोरी तस्करी हुने गरेको स्थानीय बताउँछन् ।


Author

थप समाचार
x