मधेश

बस्तीपुर गाउँवासी भन्छन् - हामीले अभिभावक गुमायौं, हाम्रो दुःख अब कसले सुन्छ ?

सुभाष कर्ण |
भदौ ५, २०७९ आइतबार २१:४४ बजे

फोटो : सुरेन्द्र कामती

जनकपुरधाम - नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनले उनको गाउँ बस्तीपुरका स्थानीयले आफूहरूले अभिभावक गुमाएको बताएका छन ।

उनको निधनले तत्कालीन वस्तीपुर गाविस हालको लहान नगरपालिका वडा नम्बर १४ र २४ का गाउँवासी शोकमा डुबेमा छन । उनीहरु भन्छन, `हामीले त आफ्ना अभिभावक गुमाएका छौ, अब सुखदुखका कुरा को सँग गर्ने ?`


समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका नेता गिरिको निधनको खबर सुनेलगत्तै विक्षिप्त बनेका गाउँलेहरुको आँशु रोकिएको छैन । आफूहरुलाई आफ्नो सन्तान सरह नै माया गर्ने अभिभावक संसार छोडेर गएकोमा टुहुरा जस्तै भएको महसूस गर्न थालेका छन ।

गिरि वस्तीपुर गाउँ मात्र होइन सिरहा जिल्लाभरिकै समाजसेवीको रुपमा समेत परिचित थिए । काठमाडौंबाट उनी आफ्नो गाउँ आउँदा जिल्लाभरिका कांग्रेसी नेता तथा अन्य दलका नेतासहित गाउँलेहरु उनको घरमा सल्लाह सुझाव र दुखसुखका कुरा राख्न जाने गर्थे । उनी गाउँ बसुञ्जेलसम्म गाउँले र नेताहरुले उनको घर भरिभराउ रहने गथ्र्यो भन्ने कुरा स्थानीय सुनिता ठाकुर बताउछिन् ।

उनले भनिन्, `उहाँ जस्तो अहिलेसम्म कुनै नेता नै नेपालमा मैले देखेको छैन । उहाँ खान्दानी सम्पन्न परिवारको भएपनि कहिलेपनि उहाँमा अहम् देखिएन, उहाँ त कुनै जातपात वा राजनीतिक पार्टी नहेरि कन सबैको सुखदुखमा साथ दिने मात्र होइन कसैको छोरीको बिहे, छोरालाई पढाईमा लाग्ने खर्चमा सहयोग समेत गर्ने गर्नुहुुन्थ्यो । गाउँ मात्र होइन जिल्लामै कति जनालाई छात्रवृत्ति र आफ्नो निजी खर्चमा डाक्टर र इन्जिनीयरिसम्म पढाउनु भएको छ ।` 

सुनिता भन्छिन — `म कांग्रेस वा कुनै राजनीतिक दलको कार्यकर्ता होइन, तर पनि उहाँको निधनले म मात्र होइन वस्तीपुर र गोविन्दपुरका सबैले आफ्नो अभिभावक गुमाएको महसुश गरेका छन् । उहाँको निधनले राजनीतिक क्षेत्रमा के क्षति भयो त्यो त मलाई थाहा छैन, तर गाउँलेहरुको अभिभावक गुमेर ठूलो क्षति भएको छ ।`

उनको निधनले पुरै गाउँ नै शोकमा डुबेको कारण सन्नाटा छाएको छ । गाउँलेहरुको एउटै कुरामा चित दुखेको छ गिरिको अन्तिम इच्छा थियो उनको दाहसंस्कार उनले बनाएको आश्रममा हुनुपथ्र्यो त्यो भएन । गिरिका छिमेकी वेदबहादुर भुजेल भन्छन — `जन्म र मृत्यु यथार्थ हो, यसलाई सबैले स्वीकार्नै पर्छ । तर समाजवादी तथा उदारवादी चरित्रका व्यक्ति जसले कहिलेपनि सत्ता र पदको लोभ नगरी आफ्नो जीवन समाजसेवामा नै समर्पित गरे उहाँको अन्तिम इच्छा उहाँले बनाएको आश्रममा दाहसंस्कार हुनुपर्ने इच्छा पुरा नहुँदा निकै चित दुखेको छ ।`

सुनिता जस्तै वेदवहादुरले पनि आफूले आफ्नो अभिभावक गुमाएको बताउछन् । उनले भने, `हुनत गिरिजी यो वस्तीपुर गाउँकै नेता र सम्पूर्ण राष्ट्रकै सबै दलका आदरणीय नेता हुनुहुन्थ्यो तर सबभन्दा बढी क्षति हामी गाउँलेलाई भएको छ । अब हामी आफ्ना सुखदुख र मनका कुरा को सँग साटासाट गर्ने चिन्ताले सताएको छ ।`

त्यस्तै अर्का गाउँले शुक्रराज विश्वकर्मा आफ्ना अभिभावकको अन्तिम समयमा मुख हेर्न नपाएकोमा निकै दुखी छन् । नेता गिरीको स्वभावको बारेमा विश्वकर्माले भने, `उहाँ निकै उदारवादी स्वभावका हुनुहुन्थ्यो, उहाँले कहिलेपनि अमीर गरीब, जातपात र राजनीति दलबीच फरक नछुटयाई सबैसँग सामान व्यवहार गर्नु हुन्थ्यो । उहाँका विचारधारा जे भएपनि आफ्नो खेतमा काम गर्ने एउटा मजदूरसँग पनि उस्तै व्यवहार गर्नु हुन्थ्यो, जस्तो एसीमा बस्ने धनी मान्छेसँग गर्नु हुन्थ्यो । उहाँको यही व्यवहारले नै सबै गाउँवासीले उहाँलाई आफ्नो अभिभावक मान्थे ।` 

विश्वकर्मा जस्तै वडा नम्बर २४ का सुरेश ठाकुरले पनि नेता गिरिको मुख हेर्न नपाएकोमा दुख व्यक्त गरेका छन । उनी भन्छन — `उहाँको मुख हेर्न नपाएको भन्दा बढी दुख उहाँको अन्तिम इच्छा उहाँको दाहसंकार आफूले बनाएको आश्रममा हुनुपर्ने इच्छा पुरा नभएकोमा छु ।`

`गिरिले गिरीबाबु आश्रमलाई आश्रमको रुपमा तपोवनको रुपमा विकास गर्नु भएको थियो`, उनले भने । काठमाडौमा बस्दा बस्दै आजित भएपछि वा पार्टीगत कुनै तनाव भएपछि शान्तिका लागि उनी आफ्नो आश्रममा बस्न आउँथे । त्यहाँ आएर त्यसमा बस्ने असहाय दिनदुखीको सेवा गर्दै गाउँलेहरुसँग राजनीतिभन्दा पनि सुखदुखका कुरा भलाकुसारी गर्थे । गाउँलेहरुसँग कुरा हुँदा उनी पटक पटक एउटै कुरा भन्थे, `म मरेपछि मेरो दाहसंस्कार यही आश्रममा गर्नु यो मेरो लागि तपोवन हो, यहाँ बस्दा मलाई शान्तिको आनन्द प्राप्त हुन्छ ।`

नेता गिरिको निधनमा उनले माध्यमिक तहसम्म पढाई गरेको बस्तीपुर माध्यमिक विद्यालयमा शोकसभा समेत आयोजना गरिएको थियो । विद्यार्थी र शिक्षकहरुले गिरिको निधनमा एक मिनेट मौनधारण गरेको विद्यालयका प्रधानाध्यापक देवेन्द्रप्रसाद यादवले बताए ।

वि.सं. २०१८ मा एसएलसी उतीर्ण गरेको सो विद्यालयका लागि गिरि सांसद भएको समयमा स्तरोन्नतिका लागि केही कक्षा कोठा समेत निर्माण गराएका थिए ।  गाउँ आउँदा एक पटक विद्यालय निरीक्षण गर्न आउनुहुन्थ्यो, विद्यालयको पठन पाठनको अवस्थाबारे जानकारी लिनुहुन्थ्यो प्रधानाध्यापक यादवले भक्कानिदै भने ।

सिराहा क्षेत्र नम्बर १ का सांसद समेत रहेका गिरिको निधनमा लहान र गोलबजार नगरपालिकाले शोक व्यक्त गर्दै एक दिनको बिदा समेत दिएका छन ।

यता कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवले नेता गिरीको निधनले आफूहरुले अभिभावक गुमाएकोमा दुख व्यक्त गर्दै त्यो अपूरणीय क्षति कहिलेसम्म पुरा होला भन्ने चिन्ता व्यक्त गरेका छन ।

यादवले भने,  `हुनत गिरिबाबु राष्ट्रकै नेता हुनुहुन्थ्यो तर हामी जिल्लावासीका लागि अभिभावक । उहाँको उच्च र अध्ययनशील विचारले सबै प्रेरित थिए । उहाँ हामी कांग्रेसका नेता मात्र नभई कम्युनिष्टका लागि पनि एउटा राष्ट्रिय चिन्तन बोकेको नेताको रुपमा हुनुहुन्थ्यो  । उहाँ पहाडी समुदायको भएपनि मधेशी र पहाडीमा कहिलेपनि विभेद गर्नु भएन । छुच्छा मधेशी वस्ती रहेको वस्तीपुर गाउँमा सबैसँग उहाँकै भाषामा कुरा गर्नुहुन्थ्यो उहाँमा दल वा व्यक्तिबीचको कुनै विभेद विचार थिएन ।`

गिरिमा कहिले पनि सत्ता र पदको लोभ भएन । उनी गान्धीवादी चरित्रका नेता थिए । उनी सांसद भएको बेला जिल्लामा धेरै नै सडक, पुलपुलेसा र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा काम गरेका थिए । यसको साथै आफ्नो गाउँमा दिनदुःखी असहायको परिवारका लागि त आश्रम नै निर्माण गरेका थिए ।  जुन देशैभरिमा उदाहरणीय छ ।

बिपी, गणेशमान सिंह र किसुनजीसँग नजिक रहेर काम गरेका नेता गिरिले चित्त नबुझेका कुरामा बिपी–गणेशमानसँग पनि फरक मत राख्ने कांग्रेसमा एकमात्र नेता उहाँ नै भएको यादवले बताए । पार्टीले ह्वीप लगाए पनि कहिले पनि नमान्ने एकमात्र नेता थिए गिरी । उनले ह्वीप नमानेपनि पार्टीले  कारबाही गरेन । उनको स्वतन्त्र, फकिर स्वाभाव कांग्रेसलाई पनि ग्राह्य थियो, कारबाही गर्नेबारे कांग्रेसले कुनै विचार, छलफलसम्म गरेन ।

वि.सं. २००४ सालमा वस्तीपुरको एक सम्पन्न परिवारमा जन्मेका समाजवादी नेता गिरिले गाउँकै माध्यमिक विद्यालयबाट वि.सं. २०१८ मा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए । उनी गत २०७४ सालमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।

७५ वर्ष बाँचेका गिरिले आफ्नो राजनीति, समाजवादको चिन्तन र सोहीअनुसारको व्यवहारले समकालीन नेपाली नेताहरूमध्ये पृथक छवि बनाउन सफल भएका थिए । त्यसैले उनी एक हिसाबले सर्वस्वीकार्य नेताको रुपमा समेत परिचित थिए । उनीमात्र कांग्रेसका यस्ता नेता थिए, जसले कम्युनिष्टहरूलाई मार्क्स र लेनिनबारे पढाउँथे ।

गिरी नेता मात्र नभई एक पत्रकार समेत थिए । बीए उत्तिर्ण पश्चात अध्ययनमा रुचि राख्ने नेता गिरिले साहित्यिक पत्रिकासमेत निकालेका थिए । कांग्रेस नेता चक्र बाँस्तोला सहसम्पादक राखेर गिरिले साहित्यिक पत्रिका रहर निकालेका थिए ।

उनीले सत्ता र पदको लालसा देखाएनन् । कांग्रेस केन्द्रीय सदस्य भए, पटक–पटक सांसद भए तर मन्त्री हुन मानेनन् । गिरिले गृह जिल्ला सिरहाबाट २०५१ र २०७४ मा प्रत्यक्षतर्फ चुनाव जितेका थिए । उनी २०५६ मा भने पराजित भए । संविधान सभा निर्वाचन २०६४ र २०७० मा गिरि समानुपातिकतर्फ सांसद बनेका थिए । गिरिले नारी, लेनिनको जीवनी, मार्क्सवाद, अर्थशास्त्रलगायत किताब लेखेका छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x