मधेश

राजीनामा दिँदै राउत

मधेशले केही दिनमै नयाँ मुख्यमन्त्री पाउने, कसको छ सम्भावना ?

सुभाष कर्ण |
भदौ ७, २०७९ मंगलबार ९:३५ बजे

जनकपुरधाम - जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा दिन निर्देशन दिएका छन् । जसपा प्रवक्ता मनिष सुमनले यसको पुष्टि गरेका छन् ।  'अध्यक्षज्यूले मुख्यमन्त्री राउतलाई राजीनामा निर्देशन दिनु भएको छ,' इकागजसँग उनले भने, 'के कारणले राजीनामा मागिएको हो भन्नेबारे वास्तविक कुरा थाहा छैन । तर साइकल खरिदमा भ्रष्टाचार भएको घटना सार्वजनिक भएपछि गठबन्धन र पार्टी भित्रैबाट चौतर्फी दबाबका कारण राजीनामा दिन लगाइएको हुनसक्छ ।'

स्रोतका अनुसार मुख्यमन्त्री राउतले एक/दुई दिनमै राजीनामा दिने तयारी गरेका छन् । राउतले राजीनामा दिएपछि दलको नेता चयनसँगै नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया अघि बढ्नेछ । 


जसपा एक शीर्ष नेताका अनुसार एक साताभित्रै नयाँ मुख्यमन्त्री चयन गरिने छ । तर मुख्यमन्त्री को बन्ने भन्ने टुंगो लागिसकेको छैन । संसदीय दलको नेता चयनबारे आन्तरिक छलफल भइरहेको ती नेताले बताए । उनका अनुसार अध्यक्ष यादवले शैलेन्द्र साहलाई मुख्यमन्त्री बनाउन खोजेका छन् । 

राउत २०७४ फागुन २ गते मुख्यमन्त्री बनेका थिए। उनी पर्सा क्षेत्र नम्बर १ 'ख' बाट निर्वाचित प्रदेश सांसद् हुन्। तत्कालीन संघीय समाजवादी फोरमका तर्फबाट राजपाको समर्थनमा उनी मुख्यमन्त्री बनेका थिए। दुई पार्टीको एकता भएर जसपा गठन भई फेरि विभाजन भएर दुई पार्टी बनेको छ।

राउतलाई कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थन छ। सात प्रदेशमध्ये पाँच वटा प्रदेशका मुख्यमन्त्री यसअघि नै परिवर्तन भइसकेका छन्। जसपा अध्यक्ष यादवले राउतको राजीनामा मागेसँगै अब मधेस प्रदेशमा पनि मुख्यमन्त्री परिवर्तन हुने निश्चित भएको छ। सुदूरपश्चिम प्रदेशमा पनि अहिलेसम्म सरकार परिवर्तन भएको छैन ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x