मधेश

हाजिर भएको दुई घण्टा नबित्दै सरुवा

इकागज |
भदौ ९, २०७९ बिहीबार १६:३६ बजे

रौतहट- जिल्ला समन्वय समिति रौतहटमा मंगलबार एक खरिदार सरुवा पत्र लिएर हाजिर भए । समितिले मन्त्रालयको पत्रको आधारमा नियमानुसार खरिदार चिरन आचार्यलाई हाजिर गरायो ।

मन्त्रालयले खरिदार आचार्यको साउन ६ गते सरुवा गरेको थियो । त्यसपछि आचार्यले लोकसेवा आयोगबाट भदौ २ गते रवाना पत्र लिएर रौतहट आए । आचार्यले जिल्ला समन्वय समिति रौतहटमा भदौ ६ गते सोमबार हाजिर गराउन निवेदन दिएपछि कार्यालयले मंगलबार आचार्यको हाजिर गराएको थियो । आचार्य हाजिर भएको दुई घण्टा नबित्दै उनको सरुवा भएको नयाँ पत्र समितिलाई प्राप्त भयो ।


उक्त पत्रमा आचार्यलाई पुनः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन २३ गते नै सरुवा गरेको पाइयो, तर आचार्यलाई भने मन्त्रालयको निर्णय थाहा नै भएन ।

उनको हाजिर गराएको दुई घण्टा नबित्दै जिल्ला हुलाक कार्यालयमार्फत साउन २३ गतेकै मितिमा खरिदार आचार्यलाई नेपाल विश्व विद्यालय पूर्वाधार विकास तयारी समिति काठमाडाैँमा काज सरुवा गरेको पत्र प्राप्त भएपछि आश्चर्यमा परेको समन्वय समितिका निमित्त कार्यालय प्रमुख जगतप्रसाद साहले बताए ।

'मन्त्रालयले झुक्किएर होस् वा जानीजानी ठूलो गल्ती गरेको छ,' समन्वय समितिका प्रमुख साहले भने, 'हाजिर गराएको दुई घण्टा नबित्दै हुलाकमार्फत पुरानै मितिमा काज सरुवाको पत्र पाएँ ।'

यसरी कार्यालयमा हाजिर भएको १६ दिन अगाडि नै उनको सरुवा भएको रहस्य खुलेको हो । न्युज कारखाना


Author

थप समाचार
x