लिएको ऋण ९० हजार, तमसुकमा २ लाख ७० हजार
जनकपुरधाम । मिटर ब्याजीबाट पीडितहरुको पीडा नेपाल सरकारद्वारा गठित “मिटर ब्याज अपराध नियन्त्रण सिफारिस कार्यदल”ले संकलन गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका पीडितहरुसँग सरोकारवालाबीच आयोजित अन्तरक्रियामा कार्यदलले मिटर ब्याजी साहु महाजनबाट पीडित ऋणीहरुले पाईरहेको दुख र अवस्था जानकारी लिएका छन् ।
कार्यक्रममा सहभागीहरूले पीडितहरुले आफू गरिब तथा विपन्न वर्गसँग साहु महाजनले बाध्यतात्मक परिस्थितिको फाइदा उठाउँदै लिएको ऋणको तेब्बर/चौगुनासम्म मनपरी रुपमा कपाली तमसुक बनाउने गरेको र रकम चुक्ता गरिदिएपनि तमसुक बमोजिमको रकम माग गर्दै अदालतमा मुद्दा दिने र घरजग्गा कब्जा गर्ने लगायतका दुःख दिइरहेको कुरा राखे ।
जनकपुरधाम वडा नम्बर १ का नवोनाथ झाले आफूले रविन्द्र यादव भन्ने व्यक्तिले चलाएको सहकारी संस्थाबाट २ लाख ७० को तमसुक ९० हजार रुपैयाँ लिएका थिए । तर रुपैया चुक्ता गरिदिएपछि तमसुक बमोजिमको रकमको माग गर्दै अदालतमा मुद्दा हालेको दुखेसो सुनाए ।
त्यसैगरी धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर २ निवासी देवनारायण महतोले भने ‘चन्देश्वर साहसँग २०७० सालमा घर व्यवहारका लागि तेब्बर दरमा तमसुक बनाई एकलाख र डेढलाख गरी दुई पटकमा ३ रुपैयाको ब्याज दरमा अढाई लाख रुपैया लिएको थिएँ, २०७५ सालसम्म साढे ५ लाख रुपैया बुझाई सक्यौ जसको आफूसँग सुरक्षित छ ।’
त्यसमा एक लाख लिएको रकमको तमसुक उनले फिर्ता गरे, डेढ लाखवालाको पछि दिन्छु भने । तर त्यसको केही दिनपछि आफूलाई थाहै नदिई जिल्ला अदालतमा मुद्दा दिए । मुद्दा दिएको कुरा आफूले अदालतबाट साढे चारलाख रुपैया ब्याजसहित तिर्न फैसला आइसकेपछि पाए भन्दै आफूलाई प्रतिउत्तर लगाउन पनि मौका नदिई उनले न्यायिक निकायले अन्याय गरेको पीडा सुनाए । सो कारणले गर्दा साहुकार साहले अदालतको आदेश बमोजिम उनको जमिन रोक्का राखेका छन ।
दर्जनौ पीडितहरुको पीडा सुन्दै कार्यदलका संयोजक भीष्म कुमार भुसालले पीडितहरुको उजुरीको आधारमा दोषी देखिएकालाई कारवाहीका तथा पीडितलाई न्याय दिलाउन सरकार समक्ष प्रतिवेदन प्रस्तुत गर्ने प्रतिबद्धता जनाए ।
उनले पीडित पक्षको समस्याका बारेमा प्रत्यक्ष अनुभूति गर्नका लागि नै कार्यदलले जिल्ला जिल्लामा पुगेर राय सुझाव सङ्कलन गरिरहेको बताउँदै मिटर ब्याजीका विरुद्धमा उजुरी दिनका लागि कुनै समय सीमा नभएको बताउँदै जुन बेलामा दिन सकिने जानकारी दिए ।
उनले मिटर ब्याजको समस्या समाधानका जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुको महत्वपूर्ण योगदान हुन सक्ने भन्दै स्थानीय तहको न्यायिक समितिले समस्याको समाधान गर्नसके समस्याको प्रभावकारी समाधान गर्न सकिने सुझाव दिए । मिटर ब्याजीको शोषण तथा दुष्चक्रमा गरिब तथा विपन्न वर्गका व्यक्तिहरू बढी पीडित भइरहेको कार्यदलका संयोजक भूषालले त्यस्ता शोषकलाई तत्काल आफ्नो अधिकार प्रयोग गर्दै कारवाही गर्न प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरे ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले गाउँघरका साहु महाजनभन्दा सहकारी, लुघवित्त तथा वाणिज्य बैंकहरु मिटर ब्याजी रहेको आरोप लगाए ।
‘गाउँघरमा अहिले पनि तेब्बर दरको तमसुक बनाएर वार्षिक ३ रुपैया सयकडाको दरले ऋण दिइरहेको कुरालाई नकार्न सकिदैन ।’ उनले भने, ‘तर सहकारी, लघुवित तथा वाणिज्य बैंकहरुले पनि तेब्बर दरमै तमसुक बनाएर त्रैमासिक र अर्धवार्षिक २० प्रतिशतसम्मको दरमा ऋण लगाउने गरेका छन । जुन जोड त गाउँघरमा मिटरब्जायीले लगाउने ऋणभन्दा पनि दोब्बर÷तेब्बर ब्याज दर हुन जान्छ, तिनीहरुमाथि सरकारले निगरानी बढाउनुपर्छ ।’
त्यस्तै मिथिला नगरपालिकाकी उपमेयर सुनिता सिंह बुढाथोकीले यो मिटरब्याजीको समस्या आजदेखि नभई परम्परादेखि नै चल्दै आएको सुनाइन् । ‘यसलाई अरु कसैले होइन ऋणले आफै निम्त्यिाएका हुन, जसको समाधान सम्भव नभएपनि निरुत्साहित गर्न सकिन्छ ।’ उनले भनिन् ।
‘काम परेको बेलामा ऋण लिँदा बेलामा जानी जानी तेब्बर चौगुनाभन्दा बढीको तमसुकका अाैठा छाप लगाउने गरेका छन, त्यस बेला कसैलाई थाहा हुदैन ।’ उनी भन्छिन्, ‘तर तिर्ने बेलामा विवाद हुँदा वास्तविक कुरा आउँछ रकमको कयौं गुणाको तमसुक बनाइएको छ ।’ अधिकांशले जानी जानी नै विवादमा फस्ने गरेका छन् भने केही अनपढसोझाहरुलाई फसाएर गरेकोले यसलाई तत्काल निरुत्साहित नगरिए भोलिको दिन भयावह रुप लिने सक्ने उनले बताइन् ।
सो कार्यक्रममा मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले मिटरब्जायी भन्दा पनि ठूलो घातक सहकारी संस्थाहरु र त्यसका नाममा खोलिएका विभिन्न संघ संस्थाका पदाधिकारीहरु हुन जो दलालको काम गर्दै आएको बताए ।
उनले जनकपुरधामस्थित पिपुल्स विक्ली सहकारी बैंकले आफ्नै गाउँवासीको ७ करोडभन्दा बढी रकम लिएर फरार भएको जनाए ।
मिटर व्याजका पीडित रहेका कतिपयले कार्यदलको छलफल स्थलमा नै आएर मिटर ब्याजीका विरुद्धमा उजुरी दिएका थिए । हालसम्म धनुषा जिल्लामा मिटर व्याजका कारणले पीडित भएका १ सय ९२ जनाले उजुरी दर्ता गराएको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासन शाखाका नायव सुब्बा सुनिल कुमार झाले जानकारी दिएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया