मधेश

मन्त्रालयमा भोजभतेर, बाहिर सहिदका परिवारको धर्ना

इकागज |
चैत ३१, २०७७ मगलवार १८:२३ बजे

जनकपुरधाम: प्रदेश २ सरकारले रोजगारी दिने भनेर नियुक्‍ति दिए पनि काम नदिएको भन्‍दै सहिदका परिवारले विरोध जनाएका छन् । उनहरूले मंगलबार दिउँसो भौतिक विकास पूर्वाधार विकास मन्त्रालय अगाडि धर्ना दिएका हुन् । मन्‍त्रालयमा जुडशीतल र सिरुवा पर्वको पूर्व सन्ध्यामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा भोजभतेर चलिरहँदासहिदका परिवार परिवार धर्नामा बसेका थिए । 

उनीहरूले प्रदेश सरकारले आफूहरूलाई रोजगारीको नाममा आफूहरूलाई ठगेको आरोप लगाउँदै सत्तारुढ दलका शीर्षस्थ नेता महन्थ ठाकुर, राजेन्द्र महतो र शरतसिंह भण्डारीलगायतका नेताहरू उपस्थित कार्यक्रम स्थल मन्त्रालय अगाडि नै धर्ना दिएका थिए । 


सहिदका परिवार तथा घाइते हकहित संघर्ष समितिका प्रदेश २ का अध्यक्ष रामनरेश रायले मधेशलाई अधिकार सम्पन्न बनाउनका लागि दर्जनौँले दिएको शहादतलाई प्रदेश सरकारले सत्ताका लागि भजाउने काम मात्र गरेको आरोप लगाए । अध्यक्ष रायले भने ‘हामी ५३ जना सहिदका परिवारलाई गत वर्ष जेठ महिनामा नै प्रदेश सरकारले नियुक्ति पत्र दियो, तर त्यसमध्ये अहिलेसम्म २८ जनालाई मात्रै जागिर दिएर अन्यलाई आलटाल गर्दै ठग्दै आएका छन्' उनले भने । 

अध्यक्ष रायले गत मंसिर २७ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलगायतका सम्बन्धित मन्त्रालयहरूलाई १४ बुँदे माग पत्रसहित ज्ञापन पत्र बुझाएको बताउदैँ उनले हालसम्म पनि माग पूरा नहुनु दुर्भाग्यपूर्ण रहेको बताए ।

प्रदेश सरकारले सहिदको नाममा तत्काल मधेश शहिद प्रतिष्ठान गठन गरेर तीनका परिवारलाई व्यवस्थापन गर्ने भनेको डेढ महिना भइसक्यो । तर अहिलेसम्म पनि कुनै चासो नदेखाइएकोले सहिदका परिवारले विभिन्न चरणको आन्दोलन गर्दै आएका छन् ।

सहिद परिवारका सदस्य ईन्दु नारायण यादवले पटक-पटक आश्वासन दिने कार्य गरे पनि पूरा हुन नगरेकोले बाध्य भएर आन्दोलनमा होमिनु परेको बताए । नियुक्ति पत्र पाएका सबै सहिद परिवारलाई तत्काल जागिरको व्यवस्था, सहिद तथा घाइते परिवारलाई राष्ट्रिय परिचय पत्रको व्यवस्था, तिनका बालबालिकालाई उच्च शिक्षासम्म निशुल्क व्यवस्था, सुकुम्बासी सहिदका परिवारलाई घरको व्यवस्था र आन्दोलनको क्रममा शीर्षनेताले घोषणा गरेको ५० लाख रुपैयाँ गरेको घोषणा कार्यान्वयनलगायतका १४ बुँदे माग अघि सारेका छन् ।


Author

थप समाचार
x