भासिएको कमला पुल १४ महिनामा पनि बनेन, सास्ती भोग्दै स्थानीय
जनकपुरधाम- भासिएको १४ महिनादेखि हुलाकी राजमार्ग अन्तर्गत धनुषा र जिल्ला जोड्ने मार्गमा रहेको कमला नदी अलपत्र रहेको छ ।
हुलाकी राजमार्ग हुँदै दुवै जिल्लाको एक मात्र बाटो रहेको पुल भासिएपछि सम्बन्धित निकायले चासो नलिँदा आम जनता जोखिम मोलेर आवतजावत गर्न बाध्य छन् ।
मधेश प्रदेशको लाइफलाइन मानिएको हुलाकी राजमार्ग अन्तर्गतको सो पुल भासिएपछि केही महिनादेखि नदीमा बाढी आएपछि दुवै जिल्लाका स्थानीयवासी बाँसको चचरी बनाएर जोखिम मोलेर ओहोरदोहोर गरिरहेका छन् ।
पुल सम्पन्न भई उद्घाटनको अघिल्लो साता नै गएको वर्ष असार महिनामा भासिएको थियो । पुल भासिएको १४ महिना बितिसक्दा पनि सम्बन्धित निकायले कुनै चासो नलिएपछि अलपत्र अवस्थामा छ । सम्बन्धित निकायकाे रूपमा रहेकाे हुलाकी राजमार्ग आयोजनाले चासो नलिँदा निर्माण कम्पनी पनि कानमा तेल हालेर सुतेकाे आराेप छ ।
त्रुटिपूर्ण डिजाइन र गुणस्तरहीन कामका कारण उद्घाटनको अघिल्लो सातामै २४ करोड ४२ लाख रुपैयाँको लागत निर्माण गरिएको सो पुलको यस्तो हबिगत भएपछि उच्चस्तरीय प्राविधिक टोलीले स्थलगत अनुगमन गरेको थियो । तर, ती टोलीले अहिलेसम्म के कति कारणले पुल भासिएको भन्ने कुरा प्रतिवेदनमा सार्वजनिक गरेका छैनन् ।
हुलाकी राजमार्ग आयोजना जनकपुरधामका प्रमुख कृष्णकुमार महतोले आफूले चासाे नलिएकाे भन्नु गलत भएकाे बताएका छन् । उनले भने, 'हामीले चासो नलिएको कुरा होइन । काम गर्ने प्रक्रिया अघि बढिसकेको छ, सकेसम्म असोज महिनादेखि निर्माण कार्य सुरू हुनेछ ।'
'अहिले स्वाईल टेस्टको काम भइसकेको छ, निर्माण कम्पनीले नयाँ डिजाइन बनाइरहेका छन्, जुन अन्तिम चरणमा रहेको छ,' ईकागज सँग कुरा गर्दै प्रमुख महतोले भने, 'अहिले मनसुन महिना भएको कारण पुलमा पानी छ, भदौ अन्तिम सातासम्म डिजाइन तयार भइसकेपछि र पानीको सतह कम भएपछि हामी निर्माण कार्य अघि बढाउने छौं ।'
गठित उच्चस्तरीय प्राविधिक टोलीले कति कारणले निरीक्षणको प्रतिवेदन सार्वजनिक गरेन भन्ने कुरामा प्रमुख महतोले उच्चस्तरीय टोली निर्माण कम्पनीले नै गठन गरेको बताए । ती प्रतिवेदनकै आधारमा पछिल्लो गल्ती नदोहोर्याउने गरी नयाँ डिजाइन तयार पारेर काम अघि बढाउने उनले जिकिर गरे ।
२०६८ साल मंसिरमा शिलान्यास भएको ४ सय ७० मिटर लामो पुलको १२ वटा स्पान मध्ये २०७८ साल असार २० गते आएको बाढीका कारण दुईटा पिलरसँगै स्लाप पनि भासिएको थियो । पानीको बेग र बहाव अनुसारको जग नरहेकै कारण पुल भासिएपछि स्थानीय जोखिम मोलेर आउजाउ गर्न बाध्य भएका छन् ।
सिराहा–धनुषाको सीमा जोड्ने कमला नदीमा ४ सय ७० मिटर लामो र ११ मिटर चौडाइको पुल बनाउने ठेक्का पप्पु लुम्बिनी विल्डर्स जेभी कन्स्ट्रक्सनले २४ करोड ९१ लाखमा २०६८ जेठ ३१ मा लिएको थियो । २०६८ साल मंसिरमा सो पुल निर्माणका लागि विधिवत रूपमा शिलान्यास गरिएको थियो ।
तीन वर्षमै सम्पन्न गर्ने भनी ठेक्का लिएपनि निर्माण कम्पनीले समयमा काम गर्न नसक्दा पटक-पटक म्याद थप गर्दै अन्ततः पप्पु कन्स्ट्रक्सनबाट सो ठेक्का रद्द गरी २०७६ असोज १ मा लुम्बिनी विल्डर्स कन्स्ट्रक्सनलाई दिइयो । लुम्बिनी विल्डर्सले कार्य सम्पन्न भएकाे देखाएर २०७८ असारमा उद्घाटन पनि गरायो । तर, उद्घाटनको अघिल्लो साता नै सिराहा नगरपालिका-६ बसपिट्टाघाटनजिकै पुलको एउटा स्पाम (पाया) भासियो । सो स्पाम भासिएसँगै दुईवटा स्ल्याब ७८.२० (एउटा स्ल्याब ३९.१०) मिटरको तल झर्यो ।
कमसल डिजाइन र सामग्री भएका कारण कमला पुलसँगै निर्माण गरिएको पाँच सय ४० मिटरको रिभर टेड्रिङ (बाँध) समेत बाढीले बगाएको छ । पहिलो पाया भासिएको चार महिनापछि ०७८ कात्तिक ३ मा धनुषा जिल्लातर्फका तेस्रो स्पाम पनि दुई मिटर तल भासियो । दुई/दुई ठाउँमा भासिएपछि पुल बन्ने सम्भावना तत्काल नरहेको स्थानीयवासीको भनाइ छ ।
पुल भासिएको विरोधमा सिराहा र धनुषाका युवाहरूले दोषीलाई कारबाही र पुल यथाशीघ्र निर्माण गर्नुपर्ने मागसहित प्रदर्शन समेत पटकपटक गर्दै आएका छन् । तर, पनि सम्बन्धित निकायले यसबारे कुनै चासो नलिएको स्थानीयको आराेप छ ।
यसका साथै हुलाकी सडक संघर्ष समितिले मधेस प्रदेशका आर्थिक मामिलामन्त्री शैलेन्द्रप्रसाद साह, कृषिमन्त्री विजयकुमार यादवलाई पुल निर्माणमा प्रदेश सरकारको चासो लिन ध्यानाकर्षण पत्र समेत बुझाएका छन् । तर प्रदेश सरकारले पनि त्यसतर्फ चासो लिएको देखिँदैन ।
पुल भासिएपछि मधेस प्रदेशका तत्कालीन आन्तरिक तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले निरीक्षण गर्दै एक साता अनुगमन टोली पठाउने र दोषी देखिएका निर्माण कम्पनीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए । यादव मन्त्री पदबाट हटेको एक वर्ष बितिसक्दा पनि प्रदेश सरकारले अनुगमन टोली पठाउन सकेकाे छैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया