मधेश

धनुषामा जसपाले छान्यो उम्मेदवार, कुन क्षेत्रबाट को सिफारिस ?

सुभाष कर्ण |
भदौ १३, २०७९ सोमबार २०:११ बजे

जनकपुरधाम- आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि धनुषाबाट सबै सिटमा क्षेत्रगत विस्तारित बैठकबाट उम्मेदवारको नाम सिफारिस भएको छ ।

निर्वाचन क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभाका लागि दीपक कार्कीको एकल नाम सिफारिस गरिएको छ भने प्रदेश सभातर्फ क्षेत्र नम्बर १ को ‘क’ बाट सुकेश्वर यादव र व्रम्हदेव महतो रहेका सिफरिस गरिएको छ । त्यस्तै ‘ख’ वाट सुरेन्द्रकुमार मण्डल, बेचन महतो, चन्देश्वर महतो र रामनरेश महतोलाई छनौट गरिएको जसपा जिल्ला अध्यक्ष पशुपति यादवले बताएका छन् ।


उनका अनुसार बलराम महतो र जितेन्द्र यादवको नाम दुई/दुई ठाउँबाट सिफारिस भएर आएको छ । पछिल्लो स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका बलराम महतोको नाम प्रतिनिधि सभातर्फ क्षेत्र नम्बर २ र ४ बाट सिफारिस भएको छ भने मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निजी मुख्य सचिव जितेन्द्र यादवको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा तर्फ र सो क्षेत्रको “ख” बाट सिफारिस भएको छ ।

निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा तर्फ बलराम महतो सहित सुर्यचन्द्र यादव, गजाधर रोहिता, देब कृष्ण मण्डल र राम शंकर पासवानको नाम बैठकबाट सिफारिस भएको छ भने प्रदेश सभाको ‘क’ तर्फ शैलेन्द्र प्रसाद यादव, अरुन सिंह मण्डल र जिल्ला अध्यक्ष पशुपति यादवको समेत उम्मेदवारका नाम सिफारिस भएको छ । सोही निर्वाचन क्षेत्रको ‘ख’ तर्फ राम अशिष यादव, राम अशिष रोहिता, बरुण यादव र देवेन्द्र यादवलाई छनौट गरिएको छ ।

त्यस्तै जसपा नेपाल धनुषा क्षेत्र न. ३ बाट प्रत्यक्ष तर्फ प्रतिनिधि सभाको लागि लाल किशोर साह, मुख्यमन्त्री राउतका निजी सचिव जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरसहित ४ जनाको सिफारिस गरिएको छ । त्यस्तै प्रदेश सभा ३ को ‘क’ को लागि ३ जना अशोककुमार यादव, प्रेम चन्द्र झा, जितेन्द्रकुमार यादव तथा प्रदेश सभा ३ ‘ख’ को लागि ३ जनालाई छनौट गरिएको छ जसमा अम्भुप्रसाद साह, विष्णुदेव साह र नवीन यादवको नाम बैठकबाट प्रस्ताव गरिएको जनाइएको छ ।

त्यस्तै जसपा धनुषा निर्वाचन क्षेत्र ४ का लागि प्रतिनिधि सभा तर्फ बलराम महतो, महाजन यादवको नाम प्रस्ताव गरिएको छ । ४ को ‘क’ बाट मधेश प्रदेश उपाध्यक्ष शेष नारायण यादव, बजरंगकुमार यादव, हरि नारायण यादव, बृजकुमार यादव, ज्ञानेन्द्र यादवको नाम सिफारिस गरिएको छ भने सो क्षेत्रको ‘ख’ बाट दिनेशकुमार यादव र राम नरेश महतो नाम सिफारिस जनाइएको छ ।

जिल्ला अध्यक्ष पशुपति यादवले दिएको जानकारी अनुसार प्रतिनिधि सभाको समानुपातिक तर्फ बिन्देश्वर यादव, मो साबिर राइन, प्रमिला दाससहित ६ जनाको र प्रदेश सभा समानुपातिक तर्फ उर्मिला साह, घनश्याम यादव, चमेलि देबि र सुनिता महरासहित १४ जनाको सिफारिस गरिएको छ । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x