मधेश

संघको असहयोगका कारण आर्थिक विकास गर्न सकेनौ : मुख्यमन्त्री राउत

इकागज |
भदौ १८, २०७९ शनिबार १९:२ बजे

जनकपुरधाम । संघीय सरकारको अवरोधका कारण प्रदेशले आर्थिक विकास गर्न नसकेको मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आरोप लगाएका छन ।

शनिवार जनकपुरधाम उद्योग वाणिज्य संघको ५५ औं साधारण सभा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशमा आर्थिक विकासका धेरै प्रयास गरे तर संघीय सरकारको असहयोगका कारण चाहदा चाहदै काम गर्न नसकेको बताए ।


उनले आर्थिक विकासको प्रमुख आधार भए पनि प्रदृशमा लगानीकर्ता भित्र्याउन नसकेको बताए । ‘उद्योग कलकारखाना फस्टाउनका लागि कानुन पनि बनायौं तर संघीय सरकारले लगानीकर्तालाई जग्गा र इजाजत उपलब्ध गराउन पटक पटक आग्रह गर्दा पनि सहयोग गरे ।’ उनले भने ।

‘हामीले लगानीकर्ता भित्र्याउन उद्योग व्यवस्थापन गर्न सम्बन्धमा विधेयक ल्यायौं, नियमावली पनि बनायौं,’ उनी भन्छन्, ‘तर ठूलठूला लगानीकर्ताहरुलाई जग्गा उपलब्ध गराउन पटक–पटक संघीय सरकारलाई आग्रह गरयौं तर वातावरण बनाई दिएन ।’ २ सय मेगावाटको सोलार प्लान्टका लागि चौधरी ग्रुप र एक क्याण्डिएनसँग सम्झौता गररे पनि संघीय सरकार अन्तर्गतको नेपाल विद्युत प्राधिकरणले इजाजत नदिएपछि सो योजना कार्यान्वयनमा आउन नसकेको उनले बताए ।

कार्यक्रममा उपस्थित प्रमुख प्रतिपक्ष लोसपाका प्रमुख सचेतक परमेश्वर साहले संघलाई मात्रै दोष दिएर नभई आफूले बनाएको कानून कतिको कार्यान्वयन भयो भनेर मुख्यमन्त्री राउतसँग प्रतिप्रश्न गरे ।

‘आर्थिक विकासका लागि उद्योग व्यवस्थापन सम्बन्धी ऐन २ वर्ष अघि नै ल्याइयो तर त्यसको कतिको कार्यान्वयन भयो कुनै अत्तोपत्तो छैन,’ उनले भने, ‘यति मात्र होइन प्रदेशको अर्को आर्थिक विकासको आधार पर्यटन विकासका लागि पर्यटन सम्बन्धी विधेयक ल्यायौं जुन अहिलेसम्म प्रदेश सभामा दर्ता भएर थन्किएको छ ।’

सो कार्यक्रममा जनकपुरधाम उपहानगरपालिकाका मेयर मनोज साहले प्रदेशका राजधानी जनकपुरधाममा आर्थिक समृद्धिका लागि यहाँ लगानीकर्ताहरुलाई लगानी गर्न वातावरण बनाई दिन प्रदेश सरकारसँग आग्रह गरे ।

कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघले कोभिड १९ संक्रमणकालिन अवस्थामा अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गर्ने स्थानीय निजी स्वास्थ्य संस्थाहरु, उद्योग व्यवसायमा महत्वपूर्ण योगदान पुर्याएका उद्योगी व्यवसायीहरुलाई प्रशंसापत्र सहित सम्मान गरिएको थियो ।


Author

थप समाचार
x