मधेश

मन्त्रीले गरे दिवंगत बुवा र स्वकीय सचिवका नाममा बजेट विनियोजन

सुभाष कर्ण |
भदौ २०, २०७९ सोमबार १५:१ बजे

जनकपुरधाम । मधेश प्रदेश सरकारका एक मन्त्रीले दिवंगत आफ्ना बुवाको नाममा धर्मशाला र पिएको नाममा स्मृति पार्क तथा संग्राहालय निर्माणका लागि बजेट विनियोजन गरेका छन ।

नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका मधेश सरकारका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रोध्न महतोले आफ्नो बुवा दशैं महतो र तीन महिनाअघि विमान दुर्घटनामा मृत्यु भएका आफ्ना स्वकीय सचिव (पिए) राजन गोलेको नाममा स्मृति पार्क तथा संग्राहालय निर्माणका लागि बजेट विनियोजन गरेका हुन् ।


उनले गृह गाउँ धनुषाको मिथिला नगरपालिका वडा नम्बर २ मा बुवा दशैं महतोको नाममा कबीर धर्मशाला निर्माणका लागि ४० लाख रुपैयाँ विनियोजन गरेका छन् भने दिवगंत पिए राजन गोलेको नाममा मिथिला नगरपालिका ११ लोहटामा राजन गोले स्मृति पार्क निर्माणका लागि १५ लाख र सोही ठाउँमा सांस्कृतिक संग्राहालय निर्माणका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

आफ्ना नातेदारको नाममा बजेट विनियोजन गर्नु अनुचित रहेको प्रतिपक्षी दल तथा स्थानीय समाजसेवी कडा विरोध जनाएका छन् । मन्त्री महतोले आफ्ना बुवा र पिएको नाममा गरेको बजेट विनियोजनले चौतर्फी आलोचना भइरहेको छ ।

प्रदेशका प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक परमेश्वर साहले मन्त्रीले जनताको हकहितका लागि काम गर्नुपर्नेमा आफ्नाका लागि बजेट विनियोजन गरिनु हास्यास्पद विषय भएको बताए । प्रदेशका वर्तमान मन्त्रीहरु जनताका लागि नभई आफ्ना नातेदारमा सिमित भएकोे उनको भनाइ छ ।

‘मन्त्रीहरुले भ्रष्टाचार गर्न नातेदार र कार्यकर्ताहरुलाई राजनीतिक नियुक्ति र योजनाहरु दिने गर्दथे,’ उनले भने, ‘अब आफ्ना नातेदारको नाम जीवन्त राख्न सार्वजनिक निर्माणका कामसमेत गर्न थालेका छन । यो सरासर गलत हो, यसको न्याय जनताले आउने चुनावमा गर्नेछ ।’

त्यस्तै युवा अभियन्ता सरोज मिश्रले प्रदेशका मन्त्रीहरु आफ्ना बुवाआमा, दाजुभाई र श्रीमत, पिएका लागि मात्र मन्त्री बनेको आरोप लगाए । अभियन्ता मिश्रले भने, ‘मन्त्री महतोको बुवा दशैंको समाज वा देशका लागि कुनै योगदान छैन, उहाँ एउटा सामान्य व्यक्ति हुनुहुन्थ्यो ।’ 

स्वकीय सचिव गोलेले पारिवारिक भ्रमणको क्रममा विमान दुर्घटनामा ज्यान गुमाएका हुन् । ‘यिनीहरुको नाममा बजेट विनियोजन गर्नु भनेको पदीय दुरुपयोग हो । मन्त्री भएपछि जे पनि गर्न पाइने छुट कसैलाई छैन,’ उनले भने ।

मन्त्री महतोले बुवा एउटा समाजसेवी व्यक्ति भएकाले त्यसले उहांको नाममा बजेट विनियोजन गरिएका प्रतिक्रिया दिए । राजन गोलेको भने स्थानीयवासीको माग भए अनुसार बजेट विनियोजन गरिएको उनले बताए । ‘यसमा विरोध गर्नुको कुनै तुक छैन,’ उनले भने ।

पोखरी सौन्दर्यकरण र मठ मन्दिर, धर्मशाला निर्माण तथा सौन्दर्यकरणका लागि धनुषा जिल्लाका लागि १७ करोडको हाराहारीमा बजेट विनियोजन गरेका छन् । ती मध्ये आफ्ना निर्वाचन क्षेत्र पर्ने मिथिला र क्षिरेश्वरनाथ नगरपालिकामा मात्रै १४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x