ट्रयाक परीक्षण भएपनि कुर्था-बिजलपुरामा रेल सञ्चालन हुन अझै समय लाग्ने
जनकपुरधाम- जनकपुरधाम (कुर्था)-बिजलपुरा रेलमार्गको ट्रयाक परीक्षण भएपनि निर्माण कार्य जारी नै रहेको छ ।
बिहीबार दोश्रो चरणअन्तर्गत नेपाल रेलवे कम्पनीले जनकपुरधाम (कुर्था)-महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटरको ट्रयाक परीक्षण गरियो तर रेल्वे स्टेसन, हाल्टको भवन, बिजुली बत्ती लगायतका निर्माण कार्य जारी नै रहेको छ ।
हुन त नेपाल रेलवे कम्पनीले जयनगर-बर्दिवास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माण कार्य अन्तिम चरणमा रहेको दाबी गरेका छन् ।
दोश्रो चरणअन्तर्गत कुर्था-बिजलपुरा रेलमार्गमा चाँडै नै रेल सञ्चालन हुने चर्चा रहेकोमा नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले ट्रयाकको मुख्य कार्य सम्पन्न भएपनि भवन, पानी र बिजुली बत्तीको सामान्य काम बाँकी रहेकाले तत्काल परीक्षणमा नआउने बताए ।
उनले ट्रयाक परीक्षणपश्चात प्राविधिकको सुझावका आधारमा जयनगरदेखि बिजलपुरासम्म नियमित रेलसेवा सञ्चालन गरिने छ । तर, त्यसका लागि भारतीय निर्माण कम्पनीले नेपाल रेलवे कम्पनीलाई स्वामित्व हस्तान्तरण गर्नुपर्छ । त्यसमा अझै केही समय लाग्नेछ ।
तेश्रो चरणअन्तर्गत बिजलपुरादेखि बर्दिवाससम्मको १८ किमी रेलमार्ग निर्माणमा भने जग्गा मुआब्जा विवादले काम प्रभावित भएको छ । 'जग्गा मुआब्जा र अधिग्रहणको समस्या लगायतका कारण बिजलपुरा भङ् गहादेखि बर्दिवाससम्म रेलमार्ग निर्माणको काम प्रभावित रहेको छ ।
महाप्रबन्धक झाले भने, 'कतिपय ठाउँमा व्यावहारिक रूपमा सडक देखिएको छ, तर नक्सामा सडक छैन तैपनि स्थानीयले मुआब्जा मागिरहेका छन् ।'
उनका अनुसार सो क्षेत्रका कतिपय ठाउँमा ऐलानी जग्गामा दलित बस्ती रहेका र उनीहरूसँग जग्गा स्वामित्वको कुनै कागज नहुँदा पनि मुआब्जा मागेर विवाद गर्दा रेल्वे ट्रयाक निर्माणको काममा समस्या भएको छ ।
उनले भने, 'आफूहरूले चाहेर पनि समस्या समाधान गर्न नसकिरहेका छैनौं । मुआब्जाको समस्या समाधान भएपछि दुई वर्षभित्र ब्रोडगेज रेलमार्ग निर्माण सकेर जयनगरदेखि बर्दिवाससम्म रेल पूर्ण रूपमा चल्न थाल्छ । तर, मुख्य समस्या चाहि हामीलाई रेलमार्ग निर्माणकै नै हो ।'
रेलमार्ग निर्माणका क्रममा देखिएको मुआब्जा विवाद र समाधानका उपायबारे प्रदेश सभाका सदस्यहरू, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक झा, धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, रेलमार्गमा पर्ने स्थानीय तहका प्रमुख, उपप्रमुख तथा सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल भएपनि समस्या समाधान हुन सकेन ।
रेल सञ्चालनलाई नेपालमा विस्तार गर्नेबारे नेपाल र भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो । सोहीअनुसार सन् २०११ महिनामा निर्माणको थालनी भएको थियो । ब्रोडगेज निर्माणको ठेक्का भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेसनल लिमिटेडले प्राप्त गरेर धनुषा र महोत्तरीमा दुई वटा निर्माण कम्पनीलाई ठेक्का दिएर काम अघि बढाइएको थियो ।
नेपाललाई रेल सञ्चालनमा जोड्ने सरकारको नीतिअनुरुप महोत्तरीको बर्दिबासदेखि बाराको निजगढसम्मको रेलमार्ग निर्माणका लागि माटो फिलिङको कार्य पनि भइरहेको छ । त्यस्तै निजगढ-काठमाडौँ रेलसेवा सञ्चालनका लागि रेलमार्गको डिपिआर तयारी भइरहेको महाप्रबन्धकले जनाएका छन् ।
जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ७० किमी निर्माणाधीन रेलमार्गमध्ये हाल जयनगरदेखि कुर्थासम्म ३५ किमी रेलमार्गमा गत २०७८ चैत २० गतेदेखि दैनिक दुईपटक रेल सेवा सञ्चालन भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया