मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान
आर्थिक चलखेल गरी चिकित्सा शिक्षक पदमा मागभन्दा बढी उत्तीर्ण गरेको आरोप
जनकपुरधाम- मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रादेशिक अस्पतालका लागिचिकित्सा शिक्षकमा निकालेको विज्ञापनमा आर्थिक चलखेल भएको आरोप लागेको छ ।
प्रतिष्ठानले असिस्टेन्ट प्राेफेसरलगायत पदमा निकालेको विज्ञापनमा मापदण्डविपरीत कानुनी प्रक्रिया मिचेर बढी संख्या र पद हेरफेर गरी उम्मेदवारलाई उत्तीर्ण गरेको आरोप लागेको हाे ।
प्राप्त जानकारीअनुसार प्रतिष्ठानले असिस्टेन्ट प्राेफेसरलगायत पदमा ३ जनाका लागि विज्ञापन निकालेको थियो । तर, उत्तीर्ण भने चारजनालाई गरेको छ । त्यति मात्र नभइ माग गरिएको योग्यता नभएका र काउन्सिलमा दर्ता नै नभएका चिकित्सकहरूलाई पनि उत्तीर्ण गरेको पाइएकाे छ ।
साउन १ गते प्रतिष्ठानद्वारा असिस्टेन्ट प्राेफेसरलगायत पदको विज्ञापन नम्बर ३८ मा तीनजना माग गरिएको छ । तर, भदौ २० गते अन्तर्वार्ताको माध्यमले चारजनालाई उत्तीर्ण गरेकाले प्रतिष्ठानको निष्पक्षतामा प्रश्न उठ्न थालेको हाे ।
प्रतिष्ठानले सो विज्ञापनमा प्रोफेसर डा.सुधिरकुमार सिंह र डा. राकेशकुमार पण्डित, असिस्टेन्ट प्रोफेसर डा. विनयकुमार साह र डा. ध्रुव नारायण साहको नाम निकालेकाे थियो । तर, चौतर्फी विरोध हुन थालेपछि पाँच दिनपश्चात डा. ध्रुव नारायण साहको नाम उत्तीर्णबाट हटाएर वैकल्पिकमा राखि सच्याइएको छ ।
मुटुरोग विशेषज्ञ डा. अजय मिश्राले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले घूस खाएर माग संख्याभन्दा पनि बढी व्यक्तिलाई उत्तिर्ण गरेको आरोप लगाएका छन । उनले भने, प्रतिष्ठानका पदाधिकारीहरुले पदपूर्तिको नाममा प्रतिष्ठानलाई कमाई खाने भाँडो बनाएको छ ।
डा.झाले भने ‘पछिल्लो पटक प्रतिष्ठानले विभिन्न पदका लागि विज्ञापन आह्वान गर्दा कति सिटमा कति जनाको माग थियो भने नखुलाई मनपर्दी रुपमा आर्थिक चलखेलमा भर्ना गर्न लगाइयो । र अहिले आएर माग संख्या खलाएपनि मागभन्दा बढी व्यक्ति नै उत्तिर्ण गरेका छन ।
उनले प्रतिष्ठानका प्रशासनिक कर्मचारीले फारम बुझ्ने बेलामा पनि न्यूनतम प्रक्रिया पूरा नगरेको आरोप लगाएका छन् । 'प्रोफेसर बन्न एमडी एमएससहित काउन्सिलमा दर्ता हुनु अनिवार्य छ । सबै प्रक्रिया पूरा गरिसकेकाले आफूले प्रोफेसर इन मेडिसिनमा फाराम भरेँ । तर, आफ्नो ठाउँमा एमडी एमएस नगरेका र काउन्सिलमा दर्ता समेत नभएका डाक्टर आरपी दासलाई आर्थिक चलखेलमा उत्तीर्ण गरे,' भन्दै ती कर्मचारीले आरोप लगाए ।
त्यस्तै मेडिसिन विभागका डा. रवि रञ्जन प्रधानले पनि कानुन प्रक्रिया मिचेर योग्य व्यक्तिको ठाउँमा आर्थिक चलखेल गरेर प्रतिष्ठानले अयोग्य व्यक्तिहरू उत्तीर्ण गरेको आरोप लगाएका छन् । उनले आफूले सबै प्रक्रिया पुर्याए पनि आफ्नो नाम वैकल्पिकमा राखिएको बताए ।
साथै मेडिसिन विभागमा एसोसिएट प्रोफेसरमा फारम भरेका डा.कृष्णकुमार साहले आफूले एसोसिएट प्रोफेसरमा फाराम बुझाएको र अन्तर्वार्ता पनि सोही पदमा दिएकाे तर नाम चाहिं असिस्टेन्ट प्रोफेसरमा निकालिएको भन्दै गुनासो गरेका छन् ।
यस सम्बन्धमा प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहसँग जिज्ञासा राख्दा आफूलाई केही थाहा नभएकाे बताए । 'यसबारे मलाई बढी कुरा थाहा छैन, फोनमा सबै कुरा भन्न पनि सकिँदैन । प्रवक्ता डा. रामनरेश पण्डितलाई थाहा होला उहाँसँग नै सोध्नुस्,' भन्दै उनले फाेन काटे ।
प्रतिष्ठानका प्रवक्ता डा. रामनरेशन पण्डितसँग कुरा राख्दा उनले विज्ञापनको रिजल्टमा प्राविधिक त्रुटि भएको स्वीकार गरे । उनले भने, 'रिजल्ट प्रकाशनमा सामान्य त्रुटि भएको थियो, त्यो अहिले सच्याइएको छ । तर, जहाँसम्म आर्थिक चलखेलको कुरा हो त्यो सरासर गलत हो, प्रतिष्ठानले ऐनको पालना गर्दै सबै विधि प्रक्रिया पूरा गरेको छ ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया