आउँदो निर्वाचनमा एमालेले कुनै दलसँग गठबन्धन गर्दैन : अध्यक्ष ओली
जनकपुरधाम- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो निर्वाचनमा एमाले पार्टीले कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएका छन् ।
सोमबार एमालेले जनकपुरधाममा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा कसैसँग कुनै गठबन्धन नगर्ने तर केही पार्टीलाई रेस्क्यु गर्ने बताए ।
उनले भने, 'एमाले पार्टी कसैको सहारामा चल्ने पार्टी नभई एक्लै लड्ने पार्टी हाे, लोकतन्त्रमा गठबन्धन बनाएर चुनाव लड्नु उचित हुँदैन त्यसैले एमाले गठबन्धन गर्दैन ।' उनले एमालेसँग डराएर कांग्रेसले सानातिना पार्टीको झुण्ड बनाएर चुनावमा उत्रन लागेको सत्ता गठबन्धनको चुनावी गठबन्धनलाई टिप्पणी गरे ।
आउँदो निर्वाचन देशका लागि महत्वपूर्ण रहेको बताउँदै कार्यक्रममा अध्यक्ष ओलीले भने, 'पाँच दलीय गठबन्धनको हातमा सत्ता गयो भने देश नै बरबाद हुनेछ, एमालेले मात्रै देशलाई समृद्ध बनाउन सक्छ ।'
उनले भने, 'देशमा चुनाव मात्र होइन व्यवस्था पनि प्रजातन्त्र, पञ्चायती, बहुदलीय र गणतन्त्रसहितका कयौं व्यवस्था आएपनि देश विकसित र समृद्ध हुन सकेन । तर, मंसिर ४ गते हुने निर्वाचनले देशका लागि महत्वपूर्ण छ ।'
नागरिकता विधेयकको प्रशंगमा बोल्दै ओलीले नागरिकता समस्या समाधानका लागि अहिले पनि एमाले नै सबैभन्दा बढी गम्भीर रहेको दाबी गरे । उनले भने, 'यदि जन्म सिद्धका नागरिकलाई वंशजको नागरिकता दिने व्यवस्था ल्याए भोलि नै पास गरिदिनेछौँ ।'
तर गठबन्धनमा आवद्ध दलहरूका नेता/कार्यकर्ताहरू एमालेले नागरिकता विधेयक पारित गर्न नदिएको भ्रम सिर्जना गरिरहेको बताए । एमाले नागरिकता विधेयकको विरोधमा छ भन्दै गठबन्धनका नेताहरूले जनता अल्मल्याएका कारण मात्रै विधेयक अड्किएको ओलीले जिकिर गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया