मधेश

युवा जनशक्तिलाई दक्ष बनाउन संघ र प्रदेश दुवै सरकार असफल : मुख्यमन्त्री राउत

इकागज |
भदौ ३०, २०७९ बिहीबार १०:६ बजे

जनकपुरधाम - युवा जनशक्तिलाई सीपयुक्त दक्ष बनाउन राज्य र प्रदेश सरकार असफल देखिएको सरोकारवालाहरूले बताएका छन् । सीप अभावका कारण उचित पारिश्रमिक नपाउने र ज्यानसमेत गुमाउनु परेको एक कार्यक्रमका सहभागीले बताएका हुन् । 

नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा जनकपुरधाममा आयोजित श्रम बजार सूचना कार्यशाला गोष्ठीमा सहभागी वक्ताहरूले रोजगारी अभावमा विदेश पलायन हुन युवाहरूविना कुनै सीप गइरहँदा उचित पारिश्रमिक नपाउने र ज्यानसमेत गुमाउने गरेको बताए ।


कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले वैदेशिक रोजगारमा जाने र बेरोजगार युवाहरूलाई दक्ष बनाउन सीप दिन संघ र प्रदेश दुवै सरकार असफल रहेको बताए । मुख्यमन्त्री राउतले विश्व बजार तथा नेपालको आवश्यकता अनुसार युवाहरूमा नयाँ नयाँ विषयको ज्ञान र सीपको विकास गर्न प्रदेश सरकारले सिटीईभीटीसँग समन्वय गरेको समेत स्मरण गरे । तर आवश्यक काम भने गर्न नसकिएको उनले स्वीकार गरे । 

उनले हाल विश्व बजारमा नेपालबाट सबैभन्दा बढी अदक्ष श्रम शक्ति गएका कारणले श्रमिकले कडा परिश्रम गर्दा पनि अपेक्षा अनुसारको पारिश्रमिक पाउन नसक्ने समस्याको दिर्घकालीन समाधानका लागि सिटीईभिटीले पनि आफ्नो कार्यक्रममा परिमार्जन गर्नुपर्ने र प्रत्येक सक्षम सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा लागू गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा मधेश प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतोले नेपालको कृषि क्षेत्रको विकासका लागि दक्ष कृषि प्राविधिकको अभाव भएको बताउँदै कृषि, उद्योग, पर्यटनको विकासविना देशको विकास सम्भव नरहेको बताए ।

उनले बेरोजगारीको चरम अवस्था रहे पनि देशमै स्वरोजगारको विभिन्न अवसर रहेको उल्लेख गर्दै पढेलेखेका युवाहरू यहाँ राम्रो काम पनि गर्न नचाहने तर विदेशमा गएर निकृष्ट प्रकारको श्रम गर्न लाज नमान्ने सोच भएका कारणले समस्या बढदै गएको बताए ।

त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले मुलुकको समृद्धि र विकासका लागि कृषि क्षेत्रको लगानीमा वृद्धि गर्न आवश्यक रहेको कुरामा जोड दिए । 

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रीय अध्यक्ष उमेश प्रसाद सिंहले दैनिक ५ देखि १० हजारको हाराहारीमा युवाहरू विदेश पलायन भइरहेको र दैनिक ५ देखि १० वटा शव आइरहेको दुखद् कुरा सुनाए । यसमा संघ र प्रदेश दुवै सरकारलाई ध्यान दिनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।


Author

थप समाचार
x