मधेस प्रदेशमा म्यादी प्रहरीका लागि पहिलो दिनमै ८ हजार बढीकाे आवेदन
फाइल तस्बिर
जनकपुरधाम- मधेश प्रदेशमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि म्यादी प्रहरीमा ८ हजारभन्दा बढी व्यक्तिले आवेदन दिएका छन् ।
बिहीबार पहिलो दिन प्रदेशका ८ वटै जिल्लाका प्रहरी कार्यालयहरूमा ८ हजार ४१३ जनाले आवेदन दिएकाे जनाइएकाे छ । जसमध्ये ६ हजार ११६ जना पुरुष र २ हजार २९७ महिला रहेका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार सबैभन्दा बढी सप्तरी जिल्लामा १ हजार १६८ पुरुष र ४३५ महिला गरी कूल १ हजार ६०३ जनाले आवेदन दिएका छन् । त्यस्तै, सर्लाहीमा १ हजार ६३ पुरुष र ३५१ महिला गरी जम्मा १ हजार ४२२, सिरहामा ७१९ पुरुष र ३७५ महिला गरी कूल १ हजार ९४, धनुषामा ८२२ पुरुष र २६२ महिला गरी जम्मा १ हजार ८४ जनाले फाराम भरेका छन् ।
उता, रौतहटमा ८७० पुरुष र १३६ महिला गरी जम्मा १ हजार ६, महोत्तरीमा ५२५ पुरुष र २६० महिला गरी कूल ७८५, बारामा ४८६ पुरुष र २४१ महिला गरी जम्मा ७२७ र पर्सामा ४६३ पुरुष तथा २२९ महिला गरी जम्मा ६९२ जनाले फाराम भरेका छन् ।
इच्छुक नेपाली नागरिकले भदौ ३० देखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको दिनसमेत दरखास्त बुझाउन सक्नेछन् । म्यादीमा भर्ना हुन चाहनेले तोकिएको अवधिमा बिहान १० देखि बेलुकी ५ बजेसम्म दरखास्त बुझाउन सक्नेछन् । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि आगामी असोज ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया