मधेश

हत्याका विभिन्न घटनामा संलग्न ५ आरोपी पक्राउ

सुभाष कर्ण |
भदौ ३१, २०७९ शुक्रबार १९:११ बजे

जनकपुरधाम । धनुषा प्रहरीले विभिन्न हत्या घटनाका पाँच आरोपीलाई पक्राउ गरेका छन । जिल्ला प्रहरी कार्यालय धनुषाले महिलाको हत्या, आफ्नै आमाको हत्या र आफ्नै साथीको हत्या गरी फरार भएको आरोपमा पक्राउ गरेका पाँचै जनालाई शुक्रवार एक पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेकाे हाे ।

वैदेशिक रोजगारमा रहेका धनुषाको शहीदनगर नगरपालिका ३ अरुण कुमार दासको श्रीमती बबितिया देवीको हत्या आरोपमा उनका दाजु वीरेन्द्र दास, उमेश दास र शत्रुधन दासलाई पक्राउ गरिएको छ ।


घटनामा संलग्न आरोपीहरु वीरेन्द्र मृतक बबितिया देवीका जेठाजु हुन भने उमेश दास मृतककी जेठाजु  र शत्रुधन दास आरोपित वीरेन्द्रका सालो रहेको जिप्रका धनुषाका प्रहरी उपरिक्षक बसन्त रजौरेले बताएका छन ।

बबितिया देवी र उनका जेठाजु वीरेन्द्रबीच अनैतिक सम्बन्ध रहेको थियो । भाई र गाउँ समाजका मानिसहरुले थाहा पाउने आश‌कामा  विरेन्द्रले योजनाबद्ध तरिकाले आफ्ना काका उमेश र सालो शत्रुधनसँग मिलेर घरमा सुतिरहेको बेला घाँटी कसी हत्या गरेको घटनाको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक रजौरेले बताए ।

उनका अनुसार घटनालाई ढाकछोप गर्न आरोपितहरुले बलात्कार गरी अरु कसैले मारेको भनी घटना देखाउन लाशलाई घरबाट लगी बाँसघारीमा फालेको र मृतकले लगाएको ब्लाउज र चप्पल घटनास्थल घरमै राखेको थियो । प्रहरीले घटनास्थलबाट मुख्य आरोपित वीरेन्द्रले हातमा लगाएको पञ्जा, डोरी घटनास्थलबाट एकसय मिटर पूर्व खेतमा रहेको पानी मुनि फालिएको अवस्थामा फेला परेको उनले बताए ।

त्यसैगरी आफ्नै आमाको हत्या आरोपमा सबैला नगरपालिका ५ मखनाहाका मनोज मण्डललाई पक्राउ गरिएको छ । मनोजले मादक पदार्थ सेवन गरेको अवस्थामा आफ्नौ आमा सिकिलिया देवीको कुटपिट गरी हत्या गरेको भन्ने कुरा अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिए ।

त्यस्तै करिब पाँच महिनादेखि धनौजी गाउँपालिका ५ बहुअर्वा निवासी सरोज मण्डलको हत्या आरोपमा फरार भई वैदेशिक रोजगारको सिलसिलामा कतार रहेका राजीवकुमार मण्डललाई इन्टरपोलको मद्दतले त्यही पक्राउ गरी नेपाल ल्याइएको छ ।

एक वर्षअघि २०७८ भदौ २६ गतेका दिन सरोजलाई ज्यान मार्ने उद्देश्यले मनिष कुमार मण्डल र राजीवकुमार मण्डलले धारिलो हतियार प्रहार गरी घाइते बनाएको थिए । सो घटनामा पीडितको जाहेरीमा जिल्ला अदालत धनुषाबाट आरोपित मनिष र राजीवलाई उपचार खर्च भराई गएको पुस ११ गते रिहा गरिएको थियो ।

उनीहरु रिहा भए लगतै वैदेशिक रोजगारमा गएका थिए। तर रिहा भएको एक महिनापछि घाइते सरोजको उपचारकै क्रममा काठमाडौ स्थित ट्रमा सेन्टरमा मृत्यु हुन गयो । सो घटना पश्चात पीडित पक्षले दिएको जाहेरीको आधारमा निज प्रतिवादी राजीवलाई नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोलको मद्दतले रेड कर्नर नोटिस जारी भई कतारबाटै पक्राउ गरी नेपाल ल्याइएको प्रहरी उपरिक्षक रजौरेले बताए ।

प्रहरी उपरीक्षक रजौरेले यी तीन वटै घटनाका आरोपितहरु विरुद्ध थप अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान थालिएको जानकारी दिए।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x