Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

मधेश

धनुषामा मन्त्रीदेखि सांसदसम्मले दिए उम्मेदवारी

सुभाष कर्ण |
असोज २३, २०७९ आइतबार १८:२० बजे

जनकपुरधाम । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि देशभरसहित धनुषाका विभिन्न क्षेत्रमा पनि पूर्वमन्त्री देखि सांसदसम्मले प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

धनुषाका प्रतिनिधि सभातर्फ ४ र प्रदेश सभातर्फ ८ निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन र प्रतिपक्षी एमाले गठबन्धनको चुनावी तालमेल अनुसार उम्मेदवारहरुले सम्बन्धित निर्वाचन आयोग अधिकृतको कार्यालयमा विकासको पुरानै नारा लिएर उम्मेदवारी दर्ता गराएका हुन् ।


मधेश प्रदेशका राजधानी समेत रहेका धनुषाको प्रभावशाली क्षेत्र निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभातर्फ सत्ता गठबन्धनबाट लोसपाका नेता एवं पूर्वमन्त्री अनिल झा र प्रतिपक्षी एमाले जसपा गठबन्धनबाट एमालेकी नेत्री एवं पूर्वमन्त्री जुली महतोले उम्मेदवारी दर्ता गराएकी छन ।

आफूले मधेश प्रदेशको विकासका निम्ति उम्मेदवारी दिएको एमालेकी उम्मेदवार जुली महतोले बताईन् । उनले भनिन् यस क्षेत्रबाट जितेका माननीयज्यूले यहाँका जनताको विकासभन्दा पनि कार्यकर्तामुखी भएर काम गरेको कारण यहाँका जनताको विकासका निम्ति उम्मेदवारी दिएकी हुँ ।

त्यस्तै सत्ता गठबन्धनका अनिल झाले आफ्नो उम्मेदवारी विकास र मधेशको अधिकार स्थापित गराउनका निम्ति रहेको बताएका छन् । प्रतिनिधि सभातर्फ झा यसअघिको निर्वाचन रौतहट–१ बाट विजयी भएका थिए । तर, यसपटक गठबन्धनभित्र रौतहट–१ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालललाई दिने सहमति भएपछि नेता अनिल झा धनुषा–३ मा आएका हुन् ।

प्रदेश सभातर्फ सत्ता गठबन्धनबाट ३ (क) मा कांग्रेसबाट प्रदेश भौतिक पूर्वाधार मन्त्री रामसरोज यादव र ३ (ख) मा लोसपाका प्रमुख सचेतक परमेश्वर साहले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै प्रतिपक्षी एमाले जसपा गठबन्धनबाट प्रदेशको ३ (क) मा जितेन्द्र यादव र ३ (ख) मा दिपेन्द्र ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् ।

सत्ता गठबन्धनबाट कांग्रेसमार्फत प्रदेश सभाका उम्मेदवार उम्मेदवार रामसरोज यादवले भने ‘म राजनीति गर्ने मान्छे, यस चुनावलाई चुनौती भन्दा पनि अवसरको रुपमा लिएको छु ।’

उता एमालेबाट उम्मेदवार रहेका दिपेन्द्र ठाकुरले भने मधेश दललाई जनताले सरकार बनाएर देखिसके कतिको विकास भएको अब हामीले मधेशी जनताको विकास र अधिकार स्थापित गराउन उम्मेदवारी दिएको बताए ।

यी बाहेक स्वतन्त्रतर्फ पनि नेपाल पत्रकार महासंघ धनुषाका पूर्व अध्यक्ष उमेश साह, स्वतन्त्र महिला मिलनकुमारी साह लगायत केहीले उम्मेदवारी दिएका छन् ।
सत्ता गठबन्धन र प्रतिपक्षी गठबन्धन दुवै दलबाट हजारौको संख्या दलबल सहित शक्ति प्रदर्शन गर्दै उम्मेदवारी दर्ता गराउन जनकपुरधाम स्थित निर्वाचन आयोगको कार्यालय महेन्द्रनारायण स्मृति प्रतिष्ठान पुगेका थिए ।

जिल्लाको अर्का प्रभावशाली क्षेत्र मानिएका क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धन कांग्रेसबाट पार्टी सह महामन्त्री एवं पूर्व मन्त्री महेन्द्र यादव, एमालेबाट पार्टी सचिव एवं पूर्वमन्त्री रघुवीर महासेठ र जसपाबाट महाजन यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेशतर्फ तर्फ ४ (क) मा सत्ता गठबन्धनबाट जसपा परित्याग गरी कांग्रेस छिरेका शेषनारायण यादव र एमालेबाट कांग्रेस परित्याग गरेका सन्तोष यादव तथा जसपाबाट प्रदेश पूर्व मन्त्री ज्ञानेन्द्र यादवले उम्मेदवारी दिएका छन् भने ४ (ख) मा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश मन्त्री शत्रुधन महतो र एमाले जसपा गठबन्धनबाट एमालेका हरिनारायण महतोले उम्मेदवारी दिएका छन् ।

धनुषा क्षेत्र नम्बर ३ र ४ बाहेक क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनबाट एकीकृत माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री मातृका यादव, एमाले जसपा गठबन्धनबाट जसपाका दिपक कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट कांग्रेसका नेता एवं पूर्वमन्त्री रामकृष्ण यादव, एमाले जसपा गठबन्धनबाट मित्रवत प्रतिष्पर्धा हुने गरी एमालेबाट पूर्वमन्त्री उमाशंकर अरगरिया, जसपाबाट गंगाराम यादवले उम्मेदवारी दर्ता गराएका छन् । यसबाहेक सत्ता गठबन्धनमा अटाउन नसकेका जिल्लाका प्रभावशाली नेता रामचन्द्र झा एकीकृत समाजवादी पार्टीबाट उम्मेदवारी दिएका छन् ।

सो क्षेत्रको प्रदेश सभातर्फ २ (क) मा सत्ता गठबन्धनबाट लोसपाका संजय साह र एमाले जसपा गठबन्धनबाट जसपाका शैलेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन भने २ (ख) मा सत्ता गठबन्धनबाट माओवादीका श्यामकुमार यादव र एमाले जसपा गठबन्धनबाट जसपाका रामआशिष यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x