महोत्तरीमा लोसपा र नेकपा एस दुवै उम्मेदवारद्वारा गठबन्धनकाे आधिकारिक भएकाे दाबी
जनकपुरधाम। सत्ता गठबन्धनमा महोत्तरी २ (क) मा विवाद देखिएको छ । नेकपा (एकीकृत समाजवादी) की मञ्जु कुमारी यादवले प्रदेश सभा सदस्यतर्फ सत्ता गठबन्धनाट आफू अधिकारिक रहेको दाबी गरेकी छिन् । सो क्षेत्रमा लोसपाबाट जयनूल राईन समेतले पनि आफू अधिकारिक रहेको भनी दाबी गर्दै प्रचार प्रसारमा गरिरहेका छन् ।
दुवै उम्मेदवार आफू अधिकारिक उम्मेदवार रहेको दाबी गर्दै प्रचारप्रसारमा व्यस्त छन् । 'सत्ता गठबन्धनमा पहिला सो क्षेत्र नेकपा एसलाई दिइएको थियो । सोही आधारमा मलाई पार्टीले टिकट पनि दियो ।' बिहीवार संचारकर्मीसँगको भेटघाट कार्यक्रममा नेकपा एसकी मञ्जुले भनिन्, 'तर पछि लोसपा गठबन्धनमा आएपछि कांग्रेसले आफ्नो भागबाट दिने गरी सहमति भयो । ती सहमति अनुसार सो क्षेत्र कांग्रेसले लोसपालाई दिनै मिल्दैन ।' उनले गठबन्धनका अन्य घटक दललाई बाईपास गरेर कांग्रेसले लोसपालाई दिनु गलत भएकाे बताइन् ।
कांग्रेसभन्दा पनि प्रतिनिधि सभातर्फ लोसपाका उम्मेदवार शरतसिंह भण्डारीले आफू विरुद्ध षडयन्त्र गरेर जयनूललाई उम्मेदवार बनाएको आरोप लगाईन् । उनले भनिन्-'यदि आफू गठबन्धन दलको उम्मेदवार होइन भने पार्टी वा गठबन्धनले मलाई फिर्ता लिनु दबाव दिनु पथ्र्यो तर त्यसरी भएन । एक्कासी आएर लोसपाले आफू अधिकारिक उम्मेदवार रहेको भन्नु गठबन्धन सहमति विरुद्ध रहेको छ ।'
यता लोसपाका राईनले गठबन्धनका अधिकारिक उम्मेदवार आफू रहेको दाबी गरेका छन्। सत्ता गठबन्धनसँग हाम्रो पार्टीको भएको सहमति अनुसार ती क्षेत्र लोसपाले पाएको हो र सोही आधारमा आफू उम्मेदवार पनि बनेको उनी बताउँछन् । 'यदि म गठबन्धनको उम्मेदवार होइन भने उम्मेदवारी फिर्ता लिने बेलासम्म भन्नु पथ्र्यो नि, अहिले आएर कसैले भन्दैमा गठबन्धनको छु दाबी गर्नु गलत हो ।' उनले भने । जनयूल राईन यसअघि सो क्षेत्रमा तात्कालीन राजपाबाट प्रत्यक्षतर्फ निर्वाचित भएका हुन् भने मञ्जु यादव एमालेबाट समानुपातिकबाट निर्वाचित भएकी थिइन् । एमाले विभाजन भएपछि उनी नेकपा एस रोजेकी हुन र सोही पार्टी यसपटक प्रत्यक्षतर्फ उम्मेदवार बनेकी छिन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया