कांग्रेस मन्त्री भन्छन्- सभापतिज्यूले राजीनामा नदिनुस् भन्नुभएको छ, राजीनामा दिन्नौँ
मधेश सरकारबाट कांग्रेसका मन्त्री मात्र हटाइने
जनकपुरधाम - मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेकाहरूलाई मात्र हटाउने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका चार जना मन्त्रीलाई हटाएपछि मधेश सरकारबाट पनि मुख्यमन्त्री राउतले कांग्रेसका मन्त्रीहरूलाई हटाउने भएका हुन् । जसपाले एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका चार मन्त्रीलाई बर्खास्त गरेका थिए ।
प्रदेश सरकारमा कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट मन्त्रीहरू छन् । मुख्यमन्त्री राउतले कांग्रेसबाट मन्त्री बनेका भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादव, महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री विरेन्द्र सिंह र खानेपानी तथा ऊर्जा विकास मन्त्री ओमप्रकाश शर्मालाई मात्रै हटाउन लागेका हुन् ।
संघीय सरकारबाट जसपाका मन्त्रीहरूलाई हटाएपछि त्यसको असर प्रदेश सरकारमा पर्नु स्वाभाविक हुने मुख्यमन्त्री राउतले बताए । 'हाम्रो पार्टीका मन्त्रीहरूलाई हटाएको छ । त्यसको प्रभाव त प्रदेशमा पर्ने नै भयो,' उनले भने, 'हामीले त्यस्तो कुनै निर्णय गरेका छैनौँ । उहाँहरूले स्वेच्छाले आफै राजीनामा दिनुहुन्छ भने ठिक छ । नदिए हामी पार्टीमा छलफल गरेर निर्णय गर्छौँ । हटाउनै परे कांग्रेसलाई मात्र हटाउनेछौँ, अन्य दलका बारेमा पछि सोचौँला ।'
मुख्यमन्त्री राउतले कांग्रेसका मन्त्रीहरूलाई राजीनामा दिन भनिसकेका छन् । 'अहिलेसम्म सौहार्दपूर्ण अवस्थामा थियौँ, तपाईको पार्टीले संघीय सरकारबाट हाम्रो पार्टीका मन्त्रीहरूलाई हटाउनुभयो,' मुख्यमन्त्री राउतले फोन गरेर भनेको कुरा उदृत गर्दै यादवले भने, 'यस्तो अवस्थामा तपाईहरूले स्वेच्छाले राजीनामा दिईदिनुपर्यो । नत्र बाध्यतावश हटाउनुपर्नेछ।'
यता मन्त्री यादवले भने आफूहरूले राजीनामा नदिने बताए । 'प्रधानमन्त्री तथा सभापतिज्यूले राजीनामा नदिनुस् भन्नुभएको छ,' उनले भने, 'हामी राजीनामा दिन्नौँ । मुख्यमन्त्रीले हटाउनु छ भने हटाउनुहोला ।'
माओवादी र नेकपा एकीकृत समाजवादीले भने सरकारबाट हट्नेबारे कुनै जानकारी नआएको जनाएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया