Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

मधेश

मधेशमै अस्तित्व खोज्दै गठबन्धनको भरमा मधेशवादी दल

सुभाष कर्ण |
असोज ३१, २०७९ सोमबार २०:१९ बजे

जनकपुरधाम- सत्ता लोलुप्ताले एजेण्डाविहीन भएपछि मधेश केन्द्रित दल आफ्नै प्रदेशमा अस्तित्व खोज्दै गठबन्धनको भर परेका छन् ।

गत निर्वाचनमा देशकै चौथो शक्ति बन्न पुगेका मधेश केन्द्रित दलहरू आपसी तिक्तता र फुटजुटका कारण आउँदो मंसिर ४ गते हुने निर्वाचनमा आफ्नै मधेश प्रदेशमा हैसियत अनुसारका सिट गठबन्धनबाट पाउन सकेका छैनन् ।


गत २०७४ को निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभामा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टी (सपा) मिलेर जित हात पारेका सिटमा मात्र आउँदो निर्वाचनमा आफ्नो उम्मेदवारी दिएका छन् । थ्रेस होल्डबाट बच्न र जितेका सिट जोगाउने सम्भावना नदेखेपछि दुवै दल गठबन्धनमा लागेर अस्तित्व जोगाउनमा जुटेका छन् ।

गत निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) ले संयुक्त रूपमै मधेश प्रदेशमा प्रतिनिधि र प्रदेश सभा सबैमा आफ्ना उम्मेदवार खडा गरेर तेश्रो मधेश आन्दोलनको रापतापले मधेशका ३२ प्रतिनिधि सभा क्षेत्रमध्ये १९ मा प्रत्यक्षतर्फ जित हात पारेका थिए ।

तर, आउँदो निर्वाचनमा फुटजुट पछि बनेको जनता समाजवादी पार्टी (जसपा) र जसपाबाट फुटेको लोसपा सबै सिटमा नभई गठबन्धनको भरमा जितेको सिटको हाराहारीमा मात्र उम्मेदवारी दिन पाएका छन् । तत्कालीन सपा हालको जसपालले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा जितेका १० सिटमध्ये हालको सदस्य गनाएर एमाले गठबन्धनबाट कोटामा पाएका १४ सिटमा र हालको लोसपा तत्कालीन राजपाले ९ सिट जितेकोमा कांग्रेस नेतृत्वको गठबन्धनबाट कोटामा पाएका ७ सिटमा मात्र उम्मेदवारी दिन पाएका छन् ।

त्यस्तै प्रदेश सभाको प्रत्यक्षतर्फ सपाले २० र राजपाले १५ गरी ३५ सिटमा जित निकाल्दै समानुपातिक समेत गरी ५५ सांसद पुर्‍याएका थिए । आउँदो निर्वाचनमा प्रदेश सभातर्फ तत्कालीन सपाले प्रत्यक्षतर्फ जितेको २० सिटमा हालका जसपाले एमाले गठबन्धनबाट ३२ सिटमा र तत्कालीन राजपाले १५ सिट जितेकोमा हालको लोसपाबाट १६ सिटमा दिएका छन् ।

प्रतिनिधि सभाको ३२ सिटमध्ये जसपा र लोसपा गरी २१ सिटमा र प्रदेश सभातर्फ ६४ सिटमध्ये जसपाले ३२ र लोसपाले १६ गरी ४८ सिटमा मात्र उम्मेदवारी दिन पाएका छन् । गत निर्वाचनमा प्रतिनिधि सभातर्फ १६/१६ र प्रदेशतर्फ ३१/३३ गरी राजपा र सपाले वाम र कांग्रेसबाहेक छुट्टै गठबन्धन गरी उम्मेदवारी दिएका थिए । जसको परिणाम प्रदेश सभामा ५५ सिट निकालेर आफ्नै नेतृत्वको सरकार बनाउन सफल भएको थियो ।

गत निर्वाचनमा सहकर्मी भई चुनावमा खटेका जसपा र लोसपाका नेताहरू अहिले गठबन्धनीय चुनावी उत्पन्न परिस्थितिले आफ्नै सहकर्मीविरुद्ध प्रतिष्पर्धामा उत्रेका छन् । जसपा र लोसपा नेताहरू गत निर्वाचनका सहकर्मीविरुद्ध प्रतिनिधि सभातर्फ सप्तरी निर्वाचन क्षेत्र नम्बर २, सर्लाहीको १, महोत्तरीको ३ र पर्साको १ नं. क्षेत्र सहित ४ सिटमा प्रतिष्पर्धामा छन् ।

त्यस्तै प्रदेश सभातर्फ सप्तरीको २ (क), सिरहाको ४ (ख), धनुषाको २ (क), महोत्तरीको २ (क) र ३ (क), सर्लाहीको १ (क) र २ (ख), बाराको २ (ख) सहित ८ सिटमा जसपा र लोसपा आपसी प्रतिष्पर्धामा छन् । यसरी हेर्दा उम्मेदवारी दिएका सिट मध्ये जित निकाले पनि प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका २२ सिट मध्ये ४ वटा सिट र प्रदेश सभातर्फ उम्मेदवारी दिएका ४८ सिट मध्ये ८ सिट आपसी प्रतिष्पर्धामा हातबाट गुम्नेछ ।

मधेश केन्द्रित दलको हैसियत किन गुमेको बारे राजनीतिक विश्लेषकहरूले आगामी निर्वाचन आउँदासम्म तिनीहरूको विगत ५ वर्षभित्र सत्ता लोलुप्ताले बनाएको एजेण्डाविहीनताकाे अवस्थाले बताउँछन् ।

राजनीतिक विश्लेषक सिके लालले मधेश केन्द्रित दलहरूको हैसियत गुम्ने अवस्था संगठनात्मक कमजोर र मुद्दाविहीनताले पुर्‍याएको बताए । 'मधेश केन्द्रित दल भनिएका जसपा र लोसपा अहिले मुद्दाविहीन छन्, विचार, सिद्धान्त र संगठनको कुरै छाडाैँ । २०६४ सालमा यिनी अधिकार र पहिचान खोज्दै विभेद विरुद्धको एजेण्डा लिएर चुनावमा होमिएका थिए,' उनले भने ।

उनले अगाडी भने, '२०७४ सालमा पुरानै एजेण्डालाई पुनरावृद्धि गर्दै संविधान संशोधनको मुद्दा लिएर अघि बढेका थिए । यी चुनावमा जनताले पत्याएर अवसर पनि दिए । तर, अहिले त पछिल्लो पाँच वर्षमा सत्ताका लागि गरेका क्रियाकलापले अहिले मुद्दाविहीन नै बनेका छन् । यिनीहरू सत्ताको पछि नलागि पुरानै एजेण्डाका लागि अघि बढ्दा राम्रो अवस्था आउन सक्ने देखिन्छ ।'

यस्तै अर्का राजनीतिक विश्लेषक रोशन जनकपुरीले विचार र एजेण्डामा केन्द्रित नरही सत्ता लोलुप्तामा लागेका कारण यी मधेश केन्द्रित दललाई अस्तित्व खोज्ने अवस्थामा पुर्‍याइदिएको बताउँछन् । उनले भने, 'कुनै पनि दल मजबुत शक्ति हुनलाई संगठनका साथै विचार र एजेण्डा हुनुपर्छ । गत निर्वाचनहरूमा यिनीहरूसँग संगठन र विचार नभएपनि पहिचान र अधिकारसहितको ठोस मुद्दा थियो । तर, यसपटक चुनावमा यिनीहरू मुद्दाविहीन भएपनि आफ्नै अस्तित्व नै संकटमा परेको छ ।'

यता सरोकारवाला दल लोसपाका मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले भने, 'हामीहरूको अस्तित्व गुमेको छैन, जितेका सिटहरूमा उम्मेदवारी दिएका नै छौ, जहाँसम्म कम सिटमा उम्मेदवारीको कुरा हो त्यो बदलिँदो वर्तमान राजनीतिक परिस्थितिले भएको ।'

उता जसपाका मधेश प्रदेश अध्यक्ष रामबाबु यादवले भने, 'हामीहरूको अस्तित्व गुम्ने अवस्था छैन, पहिलाकै जति सिट जित्ने छौ दाबी गर्दै भने अहिले जसपा कमजोर भएको कुरालाई नकार्न सकिँदैन यसको को प्रमुख कारक लोसपा हो । लोसपाकै कारण केही हाम्रा साथी कांग्रेस एमालेमा गएको कारण केही कमजोर अवस्था आएको हो ।'

लोसपा अलग्गिएपछि प्रदेश सरकारमा जसपाको हालको सिट ३८ र लोसपाको १७ सिट गरी मधेश केन्द्रित दलको ५५ सिट नै छ । सत्तारुढ गठबन्धनका कारण लोसपा सरकार बाहिर छ भने कांग्रेस, माओवादी र नेकपा एस सरकारमा छन् । मधेश शक्तिलाई एक देख्न जनताले जुन आश गरेको थियो त्यो ५ वर्ष त के २ वर्ष पनि टिक्न नसक्दा मधेशका जनतामा नैराश्यता देखिएको छ । जसको असर आउँदो निर्वाचनमा देखिने सम्भावना बढेको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x