मधेशमा गठबन्धनका उम्मेदवारहरूलाई बागीको डर
जनकपुर - मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा गठबन्धनमा आबद्ध तथा मधेश केन्द्रित दलका उम्मेदवारहरूलाई बागी उम्मेदवार भारी पर्ने देखिएको छ । सत्तारूढ तथा प्रतिपक्षी दलहरूको गठबन्धनले गर्दा मधेश केन्द्रित दलहरूले सीमित सिट पाए पनि बागी र स्वतन्त्र उम्मेदवारका कारण असुरक्षित महसुस गरिरहेका छन् । उनीहरूका आधिकारिक उम्मेदवारविरुद्ध आफ्नै दल र गठबन्धन दलबाट बागी उम्मेदवार बनेपछि उनीहरूले असुरक्षित महसुस गरेका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) एमालेको गठबन्धनमा छ भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सत्तारूढ गठबन्धनमा छन् । जसपाले एमालेबाट प्रतिनिधि सभातर्फ १४ र प्रदेशतर्फ ३२ सिट पाएको छ । लोसपाले सतारूढ गठबन्धनबाट प्रतिनिधि सभा सदस्यतर्फ ७ र प्रदेश सभा सदस्यतर्फ १५ सिट मात्र पाए पनि बागी उम्मेदवारीले अन्तरघात हुन सक्ने सम्भावना बढेको छ ।
मुख्यतः जसपा र लोसपाले नेता कार्यकर्तालाई व्यवस्थापन गर्न नसक्दा आफ्नै पार्टीका र गठबन्धन दलबाट बागी उम्मेदवार टाउको दुखाएको विषय बनेका छन् । हुनत यी दलहरूले बागी उम्मेदवारहरूलाई पार्टीबाट निस्कासन गरे पनि त्यसको असर दल र गठबन्धन घटक दलमा पर्न सक्ने भय उम्मेदवारलाई छ ।
सप्तरीमा जसपाका दुई जनाले आफ्नै पार्टीका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका छन् । सप्तरी १ मा प्रतिनिधि सभातर्फ प्रदेशका सामाजिक विकास मन्त्री समेत रहेका जसपाका नवलकिशोर साहविरुद्ध उनकै पार्टीका रोहित पोखरेल स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
त्यस्तै सप्तरी ४ (ख) मा जसपाको तर्फबाट जसपा नेतृ एवं भौतिक पूर्वाधार पूर्व मन्त्री रेणु यादवका छोरा अभिषेक यादवविरुद्धमा सोही पार्टीका अनिरुद्ध सिंह यादवले बागी भई स्वतन्त्रमा उम्मेदवारी दिएका छन । अनिरुद्ध जसपाका कार्यकारिणी सदस्य एवं निर्वतमान मन्त्री मृगेन्द्रकुमार सिंह यादवका भाइ हुन् ।
सप्तरी ४ (क) सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार गोविन्द बहादुर न्यौपाने विरुद्ध गठबन्धन घटक माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिएका डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता राजदेव राम स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।
सिरहामा पनि जसपाको आधिकारिक उम्मेदवारविरुद्ध पार्टीका नेताहरूको स्वतन्त्र उम्मेदवारी परेको छ । सिरहा–२ (क) का प्रदेश सभा सदस्यका आधिकारिक उम्मेदवार विजय यादवविरुद्ध पार्टीकै जसपाका नेता एवं पूर्व विनाविभागीय मन्त्री राजलाल यादव टिकट नपाएपछि हाम्रो नेपाली पार्टीबाट र रामपृत यादव स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।
'राजलाल यादव पहिला हाम्रो पार्टीमा थियो, तर अहिले छैन,' प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री समेत रहेका विजय यादवले भने, 'रामपृत को हो चिन्दिनँ । केही मत यता उता गर्ला तर मलाई केही असर पर्दैन ।'
सिरहा ४ मा जसपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरेन्द्र महतोविरुद्ध उनकै पार्टीका नेता काशिन्द्र यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् । काशिन्द्र यादव जसपाका कार्यकारिणी सदस्य राजकिशोर यादवका भाइ हुन् ।
धनुषामा पनि बागी उम्मेदवारको डर सताएको छ । धनुषा १ मा एमाले गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि जसपाका दीपक कार्कीविरुद्ध उनकै पार्टीबाट साधु यादव बागी भई स्वतन्त्र उम्मेदवारी दिएका छन् । धनुषा १ (क) मा जसपाका अधिकारिक उम्मेदवार सुकेश्वर यादवविरुद्ध उनकै पार्टीका डा. उमेशचन्द्र यादवले बागी स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
धनुषा ३ प्रतिनिधि सभा सदस्यतर्फ सत्तारुढ गठबन्धनबाट अधिकारिक उम्मेदवार अनिल झाविरुद्ध गठबन्धन दल माओवादीको चुनाव चिह्न लिएर चुनावमा भाग लिएका नेपाल समाजवादी पार्टीका नेता उमेश साह स्वतन्त्रबाट उम्मेदवारी छन् । धनुषा ३ (ख) मा सत्तारूढ गठबन्धनबाट लोसपाका परमेश्वर साहविरुद्ध गठबन्धनका कांग्रेस नेता हरिशंकर साहले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
पार्टीबाट हरिशंकर निष्कासित गरिए पनि कांग्रेसबाट अन्तरघात हुन सक्ने भय लोसपाका उम्मेदवारमा बनेको छ । 'कांग्रेसले पार्टीबाट निष्कासन गरे पनि असन्तुष्ट कांग्रेसीको मत डाइभर्ट हुन सक्छन्,' साह भन्छन्, 'तर विश्वास दिलाइएको छ गठबन्धनबाट कुनै अन्तरघात हुँदैन । यहाँ अन्तरघात भए गठबन्धनका अन्य दललाई आबद्ध दलबाट सम्भावना बढ्न सक्छ ।'
महोत्तरी २ (क) मा लोसपाबाट उम्मेदवार बनेका जयनूल राईनविरुद्ध उनकै पार्टीका नेता जानकी शरण साह स्वतन्त्रमा उम्मेदवार भई बागी बनेका छन् । साह पछिल्लो निर्वाचनमा लोसपाबाट समानुपातिकमा प्रदेश सभा सदस्य समेत हुन् । महोत्तरी–२ (ख) मा सत्तारूढ गठबन्धनबाट अधिकारिक उम्मेदवार रहेका कांग्रेसका नागेश्वर यादवविरुद्ध गठबन्धनमा आबद्ध लोसपाका केन्द्रीय सदस्य सुरिता साहले स्वतन्त्रबाट उम्मेदवारी दिएकी छिन् ।
यस्तै प्रतिनिधि सभातर्फ सर्लाही ४ मा कांग्रेस उम्मेदवार नागेन्द्र कुमारलाई गठबन्धन दलभन्दा आफ्नै पार्टीका नेता अमरेश सिंहको परेको बागी उम्मेदवारीको डरको सताएको छ । सिंह सो क्षेत्रमा प्रत्येक चुनाव जित्दै आएका व्यक्ति हुन् । आफ्नै पार्टीका प्रभावशाली नेता बागी भएपछि पार्टीबाट अन्तरघात हुन सक्ने डर नागेन्द्रलाई रहेको छ । नागेन्द्रले भने सिंहको बागी उम्मेदवारीले खासै असर नपर्ने बताए ।
यस्तै प्रदेश सभा सदस्यतर्फ सर्लाही ४ (क) एमालेका उम्मेदवार रामबाबु रायविरुद्ध आफ्नै गठबन्धन दल जसपाका कार्यकारिणी सदस्य एवं पूर्व प्रदेशमन्त्री रामनरेश राय स्वतन्त्रमा उम्मेदवारी दिएका छन् । रायले जसपाले गठबन्धन गरेर हैसियत भएका योग्य नेताहरूको भविष्यसँग खेलवाड गरेको कारण आफ्नो क्षमता देखाउन उम्मेदवारी दिएको बताए । जनताका लागि यस क्षेत्रमा धेरै काम गरेको कारण गठबन्धन दललाई भारी मतले हराउ उनको भनाइ छ ।
रौतहटमा प्रतिपक्षी र सत्तारूढ गठबन्धन आबद्ध दलका नेताहरू गठबन्धनले गर्दा अवसर नपाउँदा बागी बनेका छन् । प्रतिपक्षी एमाले गठबन्धनविरुद्ध उनकै पार्टीका शीर्ष नेता प्रभु साहको नेतृत्वमा धेरै बागी उम्मेदवारी परेको छ । जसपासँग गठबन्धन गरेर पार्टीका योग्य सक्षम नेता कार्यकर्तालाई अवसरबाट वञ्चित गरिएको भनी मधेश प्रदेशमा १५ सिटमा बागी उम्मेदवार साहले खडा गरेका छन् ।
रौतहट १ (क) मा सत्तारुढ गठबन्धनका अधिकारिक कांग्रेसका नागेन्द्र साहविरुद्ध गठबन्धन आबद्ध दल लोसपाका बाबुलाल साह कानू स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । रौतहट २ (क) मा सत्तारूढ गठबन्धनका अधिकारिक उम्मेदवार लोसपाका शेख जमसैदविरुद्ध गठबन्धन दल कांग्रेसका नागेन्द्र प्रसाद सिन्हा स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।
बारा–१ (ख) मा सत्तारुढ गठबन्धनको कांग्रेसबाट अधिकारिक उम्मेदवार रेका नागेन्द्र प्रसाद कानुविरुद्ध गठबन्धन दलको लोसपाबाट नेता कर्मुला अन्सारी र सञ्जय यादव सहित दुई जना बागी उम्मेदवार छन् । पार्टी गठबन्धनमा जाँदा आफूहरू अवसरबाट वञ्चित भएको भन्दै उनीहरूले स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै बारा जिल्लाकै २ (क) मा समेत एमाले — जसपा गठबन्धनका अधिकारिक उम्मेदवार एमालेका बलबीर चौधरीविरुद्ध गठबन्धन दल जसपाका शारदा शंकर साह स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । साह वर्तमान प्रदेश सभा सदस्य समेत हुन् ।
उता प्रतिनिधि सभा सदस्यतर्फ पर्सा १ मा सत्तारुढ गठबन्धनबाट अधिकारिक लोसपाका लक्ष्मणलाल कर्ण विरुद्ध गठबन्धन दल कांग्रेसका अजयकुमार द्ववेदी बागी स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । पूर्व सांसद एवं कांग्रेसका पूर्व जिल्ला सभापति रहेका द्ववेदीले उम्मेदवारी दिएका हुन् ।
प्रदेश सभा सदस्यतर्फ पर्साको १ (ख) मा सत्तारूढ गठबन्धनका अधिकार उम्मेदवार कांग्रेसका रामनारायण प्रसाद कुर्मीविरुद्ध गठबन्धन आबद्ध दल लोसपाबाट दुई जना बागी भएका छन् । कुर्मी विरुद्ध लोसपा नेता ओमप्रकाश सर्राफ हाम्रो पार्टी नेपाल र शशी कपुर मियाँले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया