Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

मधेश

मधेशमा प्रदेश समानुपातिक बन्दसूचीमा परेका ८४ जनाको उम्मेदवारी खारेज

सुभाष कर्ण |
कात्तिक ९, २०७९ बुधबार १४:१६ बजे

जनकपुरधाम- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनका लागि प्रदेश सभा सदस्यमा समानुपातिकतर्फ दलहरूले पेश गरेको बन्दसूचीमा परेका मध्ये मधेश प्रदेशमा ८४ जनाको उम्मेदवारी खारेज भएको छ ।

निर्वाचन कानुन तथा निर्वाचन आचारसंहिता बमोजिम तोकिएको जरिवाना समयमा नबुझाएका कारण, मतदाता र बन्दसूचीमा लैंगिक फरक परेको, दोहाेरो नाम भएको र उमेर नपुगेका सहितका बन्दसूचीमा परेका ८४ जनाको उम्मेदवारी खारेज गरिएको निर्वाचन आयोगले जनाएको छ ।


आयोगका अनुसार समानुपातिक सूची पेश गरेका मध्ये स्थानीय तहमा उम्मेदवार भएर निर्वाचन खर्च नबुझाउँदा तोकिएको जरिवानामा परेकाहरू मध्ये २६ दलबाट बन्दसूचीमा परेका ६६ जना, दोहोरो नाम भएका ११ जना, उमेर नपुगेका १, मतदाता नामावलीमा नाम नरहेका २ र मतदाता तथा बन्दसूचीमा लैंगिक फरक रहेका ४ जनाको उम्मेदवारी खारेज भएको हो ।

जरिवाना नबुझाएर सबैभन्दा बढी उम्मेदवारी खारेज हुनेमा जनमत पार्टी परेकाे छ । जनमत पार्टीका १० जनाको उम्मेदवारी भएको हो । कांग्रेसका अंशुकुमारी सिंहको मतदाता नामावलीमा नामै नभएर उम्मेदवारी खारेज भएको हो । त्यस्तै माओवादी केन्द्रका ५, जसपाका १, लोसपाका २, तमलोपाका ४, जनता प्रगतिशीलका ३, नेकपाका ३, नेकपा एसका ३, नेजपाका ३ र नेलोपाका २ जनाको उम्मेदवारी खारेज भएको आयोगले जनाएको छ ।

त्यसैगरी नेपालका लागि नेपालीको पार्टीका ३, नेकां (बीपी) का १, नेसपा ३, नेश्नलिस्ट पिपुल्स पार्टीका ४, पिछडावर्ग निषाद दलित जनजाति पार्टीका ४, बहुजन एकता पार्टीका ३, बहुजन शक्ति पार्टीका ७, राप्रपाका ७, विवेकशील साझा पार्टीका १, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) का १, र हाम्रो पार्टी नेपालका २ जनाको उम्मेदवारी खारेज भएको हो ।

प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्यका लागि दलहरूले पेश गरेको बन्दसूचीमा समावेश भएका उम्मेदवारको सम्बन्धमा जाँचबुझ गर्दा दाबी विरोधमा उजुरी नपरेका कतिपय व्यक्तिले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा उम्मेदवार भई निर्वाचन खर्चको विवरण पेश नगरेको पाइएको र २०७९ कात्तिक ५ गतेभित्र तोकिएको जरिवाना बुझाउने मौका प्रदान भएकोमा सो अवधिभित्र समेत जरिवाना नबुझाउने तीन सय ६९ को नाम सम्बन्धित दलले पेश गरेको बन्दसूचीबाट हटाउने निर्णय भएको हो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x