धनुषा- २ : तीन पूर्वमन्त्रीसँग भिड्दैछन् गंगाराम
जनकपुरधाम- मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा तीन पूर्वमन्त्रीसहित ४ जना उम्मेदवार रहेको कांग्रेस र जसपाबीच प्रतिष्पर्धा हुने देखिएको छ ।
सत्तारुढ पाँच दलीय गठबन्धन र एमाले-जसपा गठबन्धनबीच प्रतिष्पर्धा हुँदैछ । कांग्रेसबाट पुर्वमन्त्री रामकृष्ण यादव, नेकपा एसबाट पुर्वमन्त्री रामचन्द्र झा, एमालेबाट पुर्वमन्त्री उमाशंकर अरगरिया र जसपाबाट गंगाराम यादव उम्मेदवार छन् ।
पछिल्लो स्थानीय तह निर्वाचनको अंकगणितलाई आधार मान्ने हो भने सत्तारुढ गठबन्धनबाट पुर्व मन्त्री रामकृष्ण यादव र जसपाका गंगारामबीच प्रतिष्पर्धा हुने देखिएको छ भने सत्तारुढ गठबन्धनबाट नेकपा एसका पुर्वमन्त्री रामचन्द्र झा र एमालेका उमाशंकर अरगरिया प्रतिष्पर्धामा पछि देखिन्छन् ।
सो क्षेत्रको ४४ वटा वडा मध्ये पछिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेस १९, माओवादी सात, जसपा ६ एमाले ६ र नेकपा एस तीन वटा वडामा जितेको छ । एक वडामा लोसपा र बाँकीमा स्वतन्त्र उम्मेदवार विजयी छन् । ६ पालिका रहेको यस क्षेत्रमा एमाले, जसपा र कांग्रेसले समान दुई/दुई वटा पालिका प्रमुख जितेका छन् ।
स्थानीय चुनावमा कांग्रेसले २१ हजार दुई सय ३२ मत ल्याएर ठूलो दल बनेको छ । जसपाले १३ हजार आठ सय ८९, एमालेले ११ हजार पाँच सय ८३, माओवादी केन्द्रले १० हजार सात सय ९४, एकीकृत समाजवादीले आठ हजार नौ सय ९७ र लोकतान्तिक समाजवादी पार्टीले छ हजार सात सय मत पाएको छ ।
प्रतिनिधिसभाका उम्मेदवार यादव २०६४ र २०७० मा चुनाव जितेका थिए । ०७४ मा उनी शेरबहादुर देउवा नेतृत्वको सरकारमा कृषि मन्त्री पनि बनेका थिए । ०७४ को निर्वाचनमा उनलाई एमालेबाट उम्मेदवार बनेका अरगरियाले उनलाई संघीय समाजवादी फोरमबाट पराजित गरेका थिए । अरगरिया अहिले नेकपा एमालेबाट उम्मेदवार छन् ।
तीन वटा निर्वाचनमा चार वटा पार्टी परिर्वतन गरिसकेका अरगरिया ०७० को निर्वाचनमा तत्कालीन निर्वाचन क्षेत्र नम्बर १ मा विजय गच्छेदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेका थिए ।
०७४ को चुनावमा नेकपा माओवादी केन्द्रका उम्मेदवार बनेर लडेका नेकपा एसका झा अरगरियासँग पराजित भएका थिए । उनी त्यतिबेला बाम गठबन्धनका साझा उम्मेदवार थिए । झा हालसम्म पाँच पटक उम्मेदवार बनेका छन् । तीन पटक निर्वाचत भएका छन् भने दुई पटक पराजित भएका छन् । ०६४ मा उनी निर्वाचित हुँदा मन्त्रीसमेत बनेका थिए ।
जसपाका उम्मेदवार गंगाराम यादव पहिलो पटक चुनाव लड्दैछन् । उनी यसअघि एमालेमा रहँदा झाकै कारण कहिले पनि टिकट पाएनन् । आउँदो चुनावमा समेत अरगरिया प्रवेश गरेपछि टिकट नपाउँदा जसपाबाट चुनाव लडेका हुन् ।
सो क्षेत्रमा उमाशंकर जित दोहोर्याउने रणनीतिमा छन् भने रामकृष्ण उमाशंकरलाई हराएर ०७४ को बदला लिने तयारीमा छन् । रामचन्द्र झा पनि जित हात पारेर आफूलाई पुनः स्थापित गर्न जोडबलमा जुटेका छन् भने गंगाराम आफूलाई स्थापित गर्न कसरतमा जुटेका छन । रामकृष्ण बाहेक सबै उम्मेदवार पार्टी फेरबदल गरिसकेका छन् । उम्मेदवारको पार्टी फेरबदलले केही असर गर्ने अनुमान गरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया