Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

मधेश

महोत्तरीकाे पररियामा दुई समूदायबीच झडप, डेढ दर्जन घाइते

अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी

सुभाष कर्ण |
कात्तिक १०, २०७९ बिहीबार २०:११ बजे

जनकपुरधाम- महोत्तरीको भंगहा नगरपालिका–८ पररियामा हिन्दू र मुस्लिम समुदायबीच भएकाे झडपमा प्रहरीसहित करिब डेढ दर्जन व्यक्ति घाइते भएका छन् ।

बिहीबार हिन्दू सम्राट सेना नामक एक संस्थाले निकालेको शोभायात्राकाे 'हिन्दू राष्ट्र कायम गर' भन्ने नारा लगाउँदा मुस्लिम समुदायका व्यक्तिहरूले पत्थरबाजी गरेपछि झडप भएको थियाे ।


साे झडपका क्रममा ७/८ जना प्रहरीसहित करिब डेढ दर्जन व्यक्ति घाइते भएकाे जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चन्देश्वर यादवले जानकारी दिएका छन् ।

उनका अनुसार बिहान करिब १० बजेतिर कलश यात्रा भन्दै र्‍याली निकालिएकाे थियाे । र्‍यालीमा सहभागीहरूले हिन्दू राष्ट्र कायम गर नारा लगाउँदै पररिया बजारमा पुग्दा मुस्लिम समुदायबाट पत्थरबाजी हुँदा दुवै पक्षबीच झडप भएकाे थियाे । अवस्था तनावग्रस्त भएपछि प्रहरी १५ राउण्ड आश्रुग्यास र ३२ राउण्ड हवाई फायर समेत गरेको प्रवक्ता यादवले जनाएका छन् ।

शान्त भएको विवाद राती बढ्न सक्ने आशंकामा त्यस क्षेत्रमा साँझ ४ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश समेत जिल्ला प्रशासन कार्यालय महोत्तरीले जारी गरेको छ । आदेशको बर्खिलाप भएमा कानुन बमोजिम कडा कारबाही हुने चेतावनी समेत दिइएको छ ।

दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तर पूर्व ब्रम्हस्थान पररिया र उत्तरमा धर्मपुर भन्दा दक्षिणको भाग, पूर्वमा लोहारपट्टी नपा वडा नम्बर–१ बगडा चौक र पश्चिममा इलाका प्रहरी कार्यालय, लोहारपट्टी नजिकोको पुलसम्म कर्फ्यू आदेश जारी गरिएको हो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x