मधेश

पररिया घटना : अवस्था नियन्त्रण गर्ने सहमति, कर्फ्यू जारी

सुभाष कर्ण |
कात्तिक ११, २०७९ शुक्रबार १४:४० बजे

जनकपुरधाम- बिहीबार महोत्तरीको भंगहा नगरपालिका ८ पररियामा दुई समूदायबीच भएको झडपले तनावग्रस्त अवस्थालाई नियन्त्रण गर्न सर्वपक्षीय बैठकबाट ८ बुँदे सहमति भएको छ ।

शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालय महोत्तरीमा भएको सर्वपक्षीय बैठकमा शान्ति सद्भाव कायम राख्नका लागि ८ बुँदे सहमति गरेको हो । सर्वपक्षीय बैठकमा कर्फ्यूलाई जारी राख्दै शान्ति सद्भाव कायम गर्नेसहितका ८ बुँदे सहमति भएको छ ।


घटनामा संलग्न दोषी पत्ता लगाई कानुनी कारबाही गर्ने, उत्पन्न तनावको स्थिति साम्य पार्न दुवै पक्षलाई शान्ति कायम राख्न आह्वान गर्ने, घटनामा भएको जनधनको क्षतिपूर्ति सिफारिसका लागि टोली गठन गर्ने, घाइतेको तत्काल उपचार खर्चका लागि आवश्यक व्यवस्था गर्न नेपाल सरकारलाई अनुरोध गर्ने लगायतका निर्णय भएको प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले जानकारी दिएका छन् ।

त्यस्तै घटनाको छानबिनका लागि उच्च स्तरीय टोली गठन गर्न नेपाल सरकार गृह मन्त्रालयसँग अनुरोध गर्ने, परिस्थितिलाई काबुमा राख्ने तथा सामाजिक सद्भाव कायम गर्न सद्भाव र्‍याली गर्ने, जिल्लामा क्रियाशील राजनैतिक पार्टी र सामाजिक अगुवा संलग्न सर्वदलीय/सर्वपक्षीय संयन्त्रले दलगत रूपमा शान्ति कायम गर्न अपिल गर्नेसहितका निर्णय समेत भएको प्रमुख जिल्ला अधिकारी पहाडीले बताए ।

बिहीबार छठ पर्वको अवसरमा हिन्दू वाहिनी सेना सम्राटले निकालेको कलश यात्राका क्रममा हिन्दू र मुस्लिम समुदायबीच भएको असमझदारीका कारण दुई पक्षबीच ढुंगा मुढासहितको झडप भएको थियो । झडपका क्रममा ७ प्रहरी र दुवै पक्षसहित डेढ दर्जनभन्दा बढी घाइते भएका थिए ।

तनावग्रस्त अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्जका साथै १५ राउण्ड अश्रुग्यास र ३२ राउण्ड हवाई फायर गरेको थियो । प्रहरीको बल प्रयोगले पनि अवस्था नियन्त्रण बाहिर भएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले बिहीबार दिउँसो ४ बजेदेखि कर्फ्यू जारी राखेकाे छ ।

 

र याे पनि

महोत्तरीकाे पररियामा दुई समूदायबीच झडप, डेढ दर्जन घाइते

महोत्तरीमा निषेधाज्ञा आज पनि जारी


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x