एलसी नीतिले महँगियो छठमा केराको मूल्य
जनकपुरधाम- मिथिलाञ्चलको आस्थाको महापर्व छठको रौनक तराई मधेशमा निकै छाएको छ । शुक्रबारदेखि विधिवत रूपमा सुरु भएको छठ पर्वको प्रमुख विधि आइतबार षष्ठी तिथिका दिन अस्ताउँदो र सोमबार सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिइन्छ ।
छठ पर्वमा अर्घ्य दिइने प्रसादको रूपमा प्रमुख मानिने केराको बिक्री निकै बढ्नुका साथै मूल्य पनि महँगिएको छ । जनकपुरधामका प्रमुख बजारहरूमा केरा किन्नेहरूको दुई दिनदेखि भीड लागेको छ ।
केराको मूल्य हाल २० प्रतिशतभन्दा बढी महँगिएको छ । गत वर्ष २/३ सय रुपैयाँमा बिक्री भएको केरा यस वर्ष ४ सयदेखि एक हजारसम्ममा बिक्री भइरहेको छ । यस वर्ष छठ पर्वका लागि नेपाल तथा भारतबाट करिब ६० ट्रक ३ करोड मूल्य बराबरको केरा आयात गरिएको फलफूल व्यवसाय समितिका पूर्व महासचिव भुवनेश्वर पूर्वेले जानकारी दिएका छन् ।
उनले भने, 'पछिल्ला वर्षहरूसम्म भारतको हाजीपुर, आसाम, समस्तीपुर, सीतामढी लगायतका क्षेत्रबाट आयात गरिन्थ्यो । तर, यस वर्ष नेपाल सरकारले लगाएको एलसी नीतिका कारण भारतबाट निकै थोरै मात्रामा आयात गरिएको छ ।'
हाल जनकपुरधाम बजारमा नवलपरासीको त्रिवेणी र भारदह लगायतका क्षेत्रबाट ८० प्रतिशत केरा आयात गरिएको उनले बताए ।
गत वर्ष भारतबाट करिब २ करोड मूल्य बराबरको आयात गरिएको थियाे भने यस वर्ष मुस्किलले ३०/४० लाख रुपैयाँ बराबरको मात्रै आयात भएको पूर्वेले बताए । उनका अनुसार ५० ट्रक जति केरा नेपालबाटै आयात गरिएको छ । महासचिव पूर्वेले अगाडि भने, 'भारतबाट गरिएको भए मूल्य केही कम हुन सक्थ्यो तर एलसी नीति र विषादी चेकजाँच टाढा भएकाले समय बढी लाग्ने झन्झटिलो प्रक्रियाका कारण यसपालि भारतबाट केरा पर्याप्त मात्रामा आयात गरिएको छैन ।'
उनका अनुसार भन्सार शुल्क ७ प्रतिशतबाट साढे १३ प्रतिशत बढेको र सिजनली हिसाबले केरा फसल कात्तिक महिनामै काटिसकिएका कारण बजारमा अभाव भएकाले यस वर्ष मूल्य बढेको हो ।
केरासँगै स्याउ, नरिवल, अंगुर, अनार र सुन्तलासहित ८ करोड रुपैयाँ बराबरको फलफूल भारतबाट आयात गरिएको जानकारी समेत उनले दिए ।
केरासँगै प्रसाद सामग्रीमा प्रयोग हुने स्याउ, सुन्तला, उखु र अनारसहित आधा दर्जनभन्दा बढी फलफूलको मूल्य पनि अन्य दिनभन्दा महंगो भएको छ । बजार अनुगमनको अभावका कारण पनि मूल्य महंगो हुन गएको स्थानीयको आरोप छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया