मधेश

भाइबहिनीको प्रेमको प्रतीक मिथिलाञ्चलको सामा चकेवा पर्व सुरु

सुभाष कर्ण |
कात्तिक १२, २०७९ शनिबार २१:१७ बजे

जनकपुरधाम- मिथिलाञ्चल क्षेत्रमा भाइबहिनीको प्रेमको प्रतीक मानिने सामा चकेवा पर्व आजदेखि विधिवत रूपमा सुरु भएको छ ।

दिदीबहिनी गाउँघरको दलान र सार्वजनिकलगायतका ठाउँमा दाजुभाइको दीर्घायुको कामनासहित माटोको बनाइएको सामा चकेवाको मूर्तिलाई लोकगीत गाउँदै खेल्ने प्रक्रियालाई सामा चकेवा पर्व भनिन्छ ।


आजकै दिन दिदीबहिनीले माटोको भाइबहिनीको प्रतीक सामा चकेवा, खलपात्र चुगला लगायतका मूर्तिहरू बनाउने गर्छन् । कात्तिक शुक्लपक्ष पञ्चमी तिथिबाट सुरु भएर आगामी पूर्णिमा तिथिसम्म चल्ने सो सामा चेकवा छठ पर्वको खरना विधि सम्पन्न भएपछि दिदीबहिनी समूहमा भेला भएर सामा चकेवा खेल्ने गर्दछन् ।

दाजुभाइको दीर्घायु, सुस्वास्थ्य तथा समृद्धिको कामनासहित मनाइने याे पर्वको कार्तिक पूर्णिमाका दिन माटोका बनाइएका मूर्तिहरूलाई विधिवत् रूपमा विसर्जन गरी समापन गरिन्छ ।

सामा चकेवासहितका विभिन्न पात्रहरूलाई बाँसको डालोमा राखेर दीयो बाली गाउँ तथा सहरको चौक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक स्कुल, धर्मशाला, मन्दिर र छठघाटमा समेत सामा चकेवा सम्बन्धी विभिन्न गीत दिदीबहिनीहरूले गाउँदै खेल्ने गर्छन् ।

साथै कार्तिक पूर्णिमाको अन्तिम दिन दाजुभाइबाट सामा चकेवालाई तिघ्रामा राखेर फोड्ने गर्छन् । यी प्रक्रियाका क्रममा दिदीबहिनीले सौगातको रूपमा छठको प्रसाद सामग्री भुसुवा (चामल सक्खरले बनेको लड्डु) र च्युरा खानलाई दिन्छन् । जसलाई स्थानीय भाषामा दाजुभाइको ‘फाँर भराउने’ भनिन्छ ।

दाजुभाइ फुटाएका ती सामा चेकवा र चुगलासहितका मूर्तिलाई मण्डप बनाएर सजाइएका बाँस वा सिकीले टोकरीमा राखेर बाजागाजासहित नाच्दै लोकगीत गाउँदै गाउँको चौरमा जोतिएको खेतमा विसर्जन गर्ने गरिन्छ । सामा चकेवालाई विसर्जन गर्दा माइतबाट छोरीलाई दिइने पाहुर सरह लता कपडा, चामल, दाल, तरकारी लगायतका खाने सामग्री समेत माटोको बनाइएको भाँडोमा दिने गरिन्छ ।

यस क्रममा परम्परागत चलनअनुसार सामा चकेवालाई जोतिएको खेतको सफा ठाउँमा र खलपात्र चुक्लाचुक्लीलाई फोहर खेतमा लगेर फाल्ने गरिन्छ । समाजमा रहेका गलत प्रवृत्तिका व्यक्तिलाई यसरी नै हेला गर्नुपर्ने सन्देश ती चुक्लाचुक्लीको विसर्जनले दिन्छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x